
कुवेत, पुष ९
आज विहान तीन बजेदेखि कुवेत स्थित जिलिप अल सुयोख एरियामा कुवेती पुलिसले छापा मारेर तीन हजार बढी व्यक्ति समातिएका छन । कुवेती गृहमन्त्रिको प्रत्यक्ष निर्देशनमा मन्त्रालयका सचिव र बरिष्ठ प्रहरी अधिकारी सहितको निगरानीमा छापा मार्ने काम यसअघि यति ठुलो स्तरमा भएको थिएन ।
शहरको चारैतिरका सवै सडक सञ्जालहरु बन्द गरेर गरिएको चेक जाँचका क्रममा आवासिय भिषाको उल्लंघन गर्नेहरु, गैर कानूनी रुपमा काम गर्नेहरु, मदिराजन्य पदार्थको उत्पादन र विक्रि गर्नेहरु, आवासिय भिषा समाप्त भएकाहरु, बेश्याबृतिमा संलग्नहरु, लागु औषधको व्यापार गर्नेहरु र अन्य अपराधिक क्रियाकलाप गर्नेहरु समातिएका छन । जस अन्र्तगत पक्राउ पर्नेहरु मध्ये कागजात नविकरण नभएर ईलिगल बनेकाहरुको संख्या १२४८ रहेको छ । ईलिगल रुपमा कोठामा बस्नेहरु ३०५ जना छन, यसरी नै ६३ जना वारेन्ट जारी भएका छन भने १२३ जना बेश्याबृतिमा संलग्न रहेका छन । मुद्धा दायर भएकाहरु २९९ जना, ड्रग्स कारोबारमा संलग्न १६ जना र ४७२ जनाको रेजिडेन्सी परमिट एक्सायर भएका छन । पक्राउ पर्ने मध्ये २३ जना अपराधिक क्रियाकलापमा लागेका मानिस छन ।
उक्त छापामारीको शिलशिलामा प्रहरीले ५ वटा रक्सी उत्पादन गर्ने कारखाना फेला पारेको थियो । सोही क्षेत्रमा ३८ वटा पसल बन्द गराएको समाचार छ । ति पसलहरुको लाईसेन्सका आधारभूत कुराहरु पुरा नभएको पाईएको थियो ।
चेकजाँचको क्रममा उक्त क्षेत्रका सबै घर घरमा गएर जबर्जस्ती ढोका फोरी बाथरुमबाट समेत पक्रने गरिएको थियो । पक्राउ परेका तीनहजार व्यक्ति मध्ये के कति नेपालीहरु परेका छन त्यसको जानकारी आउन बाकी छ । कुवेत सरकारको यो अभियान कुवेतका अन्य स्थानमा पनि चल्ने बताईन्छ ।