
काठमाडौ, पुष ७
१८ लाख आप्रवासी कामदार कार्यरत कतारमा सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता हुञ्जेलसम्ममा हुने निर्माण कार्यमा ७ हजारको हाराहारीमा आप्रवासी कामदारले ज्यान गुमाउने अनुमान अन्तराष्ट्रिय ट्रड यूनियन महासंघ(आइटीयूसी) ले गरेको छ । पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै आइटीयूसीले कतारमा कम्पनी सञ्चालकहरुले अरवौं रकम कमाइरहे पनि त्यसको मूल्य कामदारहरुले चुकाइरहेको जनाएको हो ।
रिपोर्टमा सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता सुरु हुने दिनसम्ममा अनुमानित ७ हजार व्यक्तिले ज्यान गुमाउने उल्लेख गरिएको छ । यसअघि ४ हजार कामदारले ज्यान गुमाउने अनुमान गरिएको थियो ।
आइटीयूसीका महासचिव सरन बरोले यसअघि विश्वकप फूटवल प्रतियोगिता सुरु हुने दिनसम्ममा चार हजार व्यक्तिले ज्यान गुमाउने अनुमान गरिएको भएपनि कतारको पछिल्लो तीन बर्षको कामदारको मृत्युको तथ्याँकलाई आधार बनाएर विश्लेषण गर्दा प्रतिवर्ष एक हजार र सात बर्षभित्रमा ७ हजार कामदारको मृत्यु हुने देखिन्छ भनेका छन् । उनले यसलाई कतार सरकारले भने जवर्जस्ती ढाकछोप गर्न खोजेको बताएका छन् । दैनिक २ हजार ८ सय कामदार अस्पतालमा भर्ना भइरहेको भन्दै यो सन् २०१३ र २०१४ भन्दा बढी भएको उनको भनाई छ ।
आइटीयूसीले कतार सरकारलाई कामदारलाई स्वदेश फर्किन चाहेमा अविलम्व एक्जिट पर्मिट दिन, रोजगारदाता परिवर्तन गर्ने अधिकार दिन तथा संगठित भएर सामुहिक मागदावी राख्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेको छ । यसैगरी कामदारका लागि न्यूनतम तलव तथा यसमा एकरुपता कायम गर्न पनि माग गरिएको छ । आइटीयूसीले कामदारलाई न्यायमा पहुँच बढाउने व्यवस्था मिलाउन पनि कतार सरकारसँग आग्रह गरेको छ । कतारको श्रम कानूनले आधुनिक दासतालाई नै प्रश्रय दिइरहेको भन्दैै आइटीयूसीले त्यसमा फेरवदलका लागि आग्रह गरेको छ । यसका लागि तुरुन्त कफला प्रणालीको अन्त्य हुनुपर्ने माग पनि गरिएको छ ।