सारजहाँ, मंसिर ७
विद्यार्थीहरुको एउटा समुह कलेजमा नयाँ सपना लिएर कक्षा कोठामा छिर्दै थिए । उनीहरु पहिलो तल्लामा के छ, दोश्रो तल्लामा अनी बाथरुम कता छ भन्दै जिज्ञासापूर्वक हेर्दै थिए । यो क्रम दुई हप्तासम्म चल्यो । उनीहरु विस्तारै नयाँ कलेजमा अभ्यस्त हुँदै गए । उनीहरु आफ्नो कक्षाको रुटिमा सहज हुन थाले । यति हुँदा हुँदै पनि उनीहरुले थाहा पाउनु पर्ने कुराहरु बाँकी नै थिए ।
त्यहाँ एकजना युवति थिइन् जो मौन थिइन् । उनी आम विद्यार्थीका बीचमा छुट्टै थिइन् । भावशुन्य अनुहारमा एउटा युवा अनुहार मात्र देखिन्थ्यो । सानो ज्यानकी ति युवतिका राता ओठ सधैं बन्द थिए । आँखाहरु थाकेका थिए । लामो कपाल पछाडि फर्काइएको थियो । तीन महिनाको सेमेष्टरमा कञ्चन सुनुवारले एउटा पनि कक्षा लिएकी थिइनन् ।
उनी सारजहाँ स्थीत एक अमेरिकी विश्वविद्यालयमा नेपालको एउटा विद्यालयबाट आइपुगेकी थिइन् । २० बर्ष टेक्दै गरेकी उनी नजिकैको एउटा लेवर क्याम्पमा बस्छिन् । उनी अहिले सरसफाईको काम गर्छिन् । कक्षाकोठा सफा गर्छिन् । उनकै उमेरका विद्यार्थीले गरेको फोहोर सफा गर्नु उनको दैनिकी हो । त्यसका लागि उनी मिर्मिरेमै गाडी चढेर कलेज आइपुग्छीन् । उनको उमेर हेर्दा उनलाई सवैले विद्यार्थी नै ठान्छन् । उनको सपना जे भएपनि उनी जस्तो देखिएपनि यसमा कसैलाई वास्ता छैन् ।
हामीले एउटा खाली कक्षा कोठामा उनीसँग अन्तर्वार्ता गर्न थाल्यौं । उनी हिचकिचाउँदै एउटा कुर्सीमा बसिन् । हाम्रो अन्तर्वार्ता सुरु भयो । सुनारको जन्म सन् १९९५ को जुलाई १९ मा काठमाडौंबाट केहि पश्चिमको आवुखैरेनीमा भएको थियो । घरमा उनका चारजना भाइबहिनी थिए । धान र दाल खेती हुने जग्गा थियो । घरैमा दुईवटा भैसी र ६ वटा बाख्रा पालिएका थिए ।
बाबु वियर कारखानमा काम गर्थे । बाबुले उनलाई माया गर्थे । उनी आफ्ना बच्चाहरुलाई पढ्नुपर्छ भनेर हौसला दिइरहन्थे । उनले गाउँकै विद्यालयबाट ८ कक्षा उत्तिर्ण गरिन् र केहि टाढाको विद्यालयबाट १० कक्षा पास गरिन् । पढाईमा उनी अव्वल नै थिइन् । उनको लक्ष्य शिक्षक बन्ने थियो । तर घरमा कहिल्यै नसोचेको घटना आइलाग्यो । उनकी आमाको हातमा क्यान्सरको लक्षण देखियो ।
उनलाई काठमाडौंमा अस्पतालमा जँचाउन ल्याइरहनु पर्न थाल्यो । तर औषधीले काम गरेन । दुखाई निको भएन । उनको पढाई छुट्दै गयो । उपचार गर्दा गर्दै पैसा पनि सकियो । ऋण लाग्दै गयो । डाक्टरले उनकी आमाको हात काटेर फाल्नुपर्ने बताए । उनीहरुसँग कुनै विकल्प थिएन । अन्ततः उनकी आमाको हात काटियो । तर त्यो ढिला भइसकेको थियो । शरिरमा फैलिइसकेको क्यान्सरले उनकी आमालाई उनीहरुबाट खोसेर लग्यो ।
उनलाई आमाका अन्तिम ६ महिना कति कष्टपूर्वक विते भन्ने झल्झली सम्झना छ । उनकी आमाले जाने बेलामा “भाइवहिनीको ख्याल गर्नु, उनीहरुलाई पढाउनु” भनेको मात्र उनी सम्झिन्छिन् । उनकी आमा उनलाई शिक्षक बनाउन चाहन्थिन् । “उनी मैले गाउँका बालबालिकालाई पढाएको हेर्न चाहन्थिन् । तर मेरो विद्यालय भनें छुट्यो” उनी भन्छिन् ।
आमाको निधनपछि आमाले निर्वाह गर्दै आएको घरायसी सम्पूर्ण दायित्व उनकै काँधमा आयो । उनले आफ्ना भाईवहिनीलाई खुवाउने, विद्यालय पठाउने सवै काम गरिन् । तर आमाको उपचार गर्दा लागेको २ लाख ऋण तिर्ने उनीहरुसँग कुनै उपाय थिएन ।
यहिबीचमा उनले युएईमा काम गर्न जाने बारेमा दुवईमा घरेलु कामदारका रुपमा काम गर्ने मामाकी छोरी मार्फत जानकारी पाइन् । क्याम्पस पढ्न हिंडेकी छोरीलाई झैं विदा गर्न उनका बाबु उनलाई लिएर त्रिभुवन विमानस्थलसम्म आए । र, विदाईका हात हल्लाएर फर्किए । हुनत उनका बाबु कञ्चनलाई यसरी काम गर्न सारजहाँ पठाउन खुशी थिएनन् । तर ऋणको भारका कारण उनी बाध्य थिए । त्यसैले मासिक २५ हजार तलवका लागि उनी युएई उडिन् ।
उनी क्लीनरको काम गरेर मासिक ९ सय दिरहम तलव पाउँछिन् जुन नेरु २५ हजारको हाराहारी हुन्छ । उनी केवल आफूलाई युएईमा बस्न पुग्ने रकम मात्र राख्छिन् र बाँकी रकम नेपालमा बाबुलाई पठाउँछिन् । सानी बहिनी अहिले कक्षामा प्रथम भएकी छिन् । उनका दुई भाइहरु डाक्टर बन्न चाहन्छन् । किनकी उनीहरुले आमालाई गुमाएको पीडा भोगेका छन् । तर यी सवैको मूल्य कञ्चनले चुकाइरहेकी छिन् ।