बन्दले श्रमिकले काम पाएनन्

सप्तरी, कात्तिक १४

भारत बिहारको जोगबनीस्थित दक्षिण महेश्वरीबाट आधा घन्टा साइकल कुदाएर दैनिक यहाँ आउने राज मिस्त्री ६० वर्षीय मोहम्मद इदरिसले यो एक महिनामा सात दिन मात्र काम पाए। नयाँ निर्माणको थालनी हुने तिहारनजिक पनि बन्द र नाकाबन्दीका कारण सबै काम ठप्प भएपछि उनी बेरोजगारजस्तै बनेका हुन्। 

निर्माण सामग्री र इन्धन अभावमा सबैतिर काम रोकिएकाले उनीजस्तै सयौं मजदुर कामविहीन भएका हुन। दैनिक ७ सय रुपैयाँ आम्दानी गर्ने उनी हरेक दिन बिहान १० बजेसम्म विराटनगरको भूमि प्रशासन चोकमा रोजगारदाता वा ठेकेदार कुरेर बस्छन्। ‘काम पाइनँ भने घर फर्केर बाख्रा र कुखुराको हेरचाह गरेर बस्छु,’ उनले भने। 

एक घन्टा साइकल हाँकेर यहाँ आइपुग्ने बिहार मिरगन्जका ३५ वर्षीय मोहम्मद जलाललाई नेपालको अवस्थाले चिन्तित बनाएको छ। अढाइ महिनादेखिको बन्दमा मुस्किलले १५ दिन काम पाएको उनले बताए। 

राजमिस्त्रीको सहयोगी मजदुर भएर काम गर्ने उनले दैनिक ४ सय ५० रुपैयाँ कमाउँथे। यसैले उनको ४ जनाको परिवारको गुजारा हुन्छ। ‘नेपालकै कामको भर छ, यहाँ र मेरो गाउँमा ज्यालाबराबर भए पनि यहाँका मान्छे मिलनसार भएकाले यतै काम गर्न मन लाग्छ,’ उनले भने। उनीजस्तै अर्को घर निर्माण श्रमिक बिहार अमौना पञ्चायतका ५० वर्षीय मोहम्मद मिनातुल्लाले नाकाबन्दीका कारण यो महिना ५ दिन मात्र काम पाएको बताए। आफ्नो गाउँभन्दा यहाँ ज्याला, काम र सम्मान बढी पाउने हुनाले आउने गरेको उनले बताए। ‘यहाँ रोजगार नपाउने हो भन्ने दिल्ली र पन्जाब जानुबाहेक विकल्प छैन,’ उनले भने। 

ज्यालादारी काम नपाएका बेला उनी घरमा सिलाइ–बुनाइ गरेर समय बिताउँछन्। अहिलेको अवस्थाले दुवैतिरका हुने खानेभन्दा मजदुरलाई बढी मार परेको उनले बताए। ‘यताका उता र उताका यता कामकै लागि आउँछन्, जे भए पनि काम खोसिनु भएन,’ उनले भने, ‘यस्तै रह्यो भने कामको खोजीमा यहाँ आउदिनँ।’ 

अनिश्चितकालीन बन्दले सीमावारिका नेपाली मजदुरलाई पनि गलाएको छ। आन्दोलनको मुख्य केन्द्रमध्येको एक विराटनगरको जतुवाबाट कामकै खोजीमा यो चोकमा आउने ३० वर्षीय ललित महतोलाई घर खर्च जुटाउन हम्मे परेको छ। उनी माटो र बालुवा खन्ने काम गरेर दैनिक ६ सय रुपैयाँ आर्जन गर्थे। ‘दैनिक कामकै आसमा आउँछु, महिनामा १० दिन जति काम पाएँ,’ महतोले भने, ‘काम नभएपछि दिनभर घरमै बस्छु वा माछा मार्न जान्छु।’ उनले अरूसँग सय, ५० रुपैयाँ पैंचो लिएर जसोतसो दैनिक घरखर्च चलाउनु परेको पीडा व्यक्त गरे। महतोजस्तै अधिकांशले दुस्खेसो पोखे।

विराटनगरको हाटखोला, गुद्री, रोडसेस चोक र बरगाछी सडकमा समेत अचेल बिहान पहिलाजस्तो कुटो, कोदालो र हँसिया बोकेका मजदुरको हुल देखिन्न। झोला झिंगटी राखिएको श्रमिकको साइकलको लाम देखिन्न। ती प्रत्येक चोकमा ४ देखि ५ सय मजदुरको भीड हुन्थ्यो। सबभन्दा बढी भीड हुने भूमि प्रशासन चोक नै अचेल शान्त छ। ती थलोहरूबाट पूर्वाञ्चलभरिका जिल्लाहरूमा श्रम बजारको ठूलो माग पूर्ति हुँदै आएको छ। 

स्थानीयले मजदुर डिपो भनेर चिनिने ती ठाउँहरूमा चहलपहल कम भएको छ। यी मजदुरहरूको हाटले गर्दा ती चोकहरूको खाजा पसल चल्थ्यो। त्यो अचेल फिका देखिन्छ। दक्षताअनुरूप भारतबाट कामदार नेपाल आउने र यहाँबाट सीमावर्ती भारतीय सहरहरू पुग्छन्। मोरङ, सुनसरी र झापाबाट दैनिक ठूलो संख्यामा श्रमिकहरू काम र व्यापारका लागि सीमापारि जोगबनी पुग्छन्। यी मजदुरहरूमा अधिकांश दैनिक एकदेखि दुई घन्टासम्म साइकल हाँकेर र केही मात्र निजी वा सार्वजनिक सवारी चढेर सीमाबाट वारिपारि गर्छन्।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय