कृषि विमा सुरु हुने 

तनहुँ, कात्तिक ११

तनहुँमा पहिलोपटक कृषि बिमा सुरु गरिने भएको छ । कृषकको लगानीमा जोखिम कम गर्न जिल्ला कृषि विकास कार्यालय तनहुँको समन्वयमा पहिलोपटक कृषि बिमा गर्न लागिएको हो ।

कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले जिल्लामा कृषि बिमाको आवश्यकता भए पनि बिमा कार्यक्रम सुरु हुन नसकेको बताए । तनहुँमा बढी मात्रामा सुन्तला, माछा र तरकारी खेतीमा व्यावसायिक कृषक संलग्न रहेकाले जोखिम व्यवसायको रूपमा रहेका यी क्षेत्रमा कृषि बिमा आवश्यक भएको मल्लको भनाइ छ ।

कतिपय कृषकहरुलाई कृषि बिमाको बारेमा जानकारी नै नभएका कारण पनि यसतर्फ कृषक आकर्षित नभएको हुन सक्ने उनले बताए । “उत्पादनको लागत कायम हुनुपर्ने कृषकको माग भए पनि लागतको मात्रै कृषि बिमा गर्न सकिने प्रावधान छ,” कृषि बिमाका बारेमा कृषकसँग छलफल गर्न आयोजित कार्यक्रममा उनले भने, “त्यही कारण तनहुँमा कृषि बिमा सुरु गर्न ढिलो भयो ।”

तनहुँमा कृषि बिमाको जिम्मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पाएको छ । तनहुँसँगै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गोरखा र लमजुङ जिल्लामा समेत कृषि बिमाको काम गर्छ ।

तनहुँको सुन्तला खेतीमा असिनाको प्रकोप रहेकाले सुन्तलाको बिमा अनिवार्य रहेको वरिष्ठ कृषि विकास अधिकृत मल्लको भनाइ छ । “सुन्तला खेतीमा असिनाले साह्रै ठूलो क्षति पुग्ने गरेको छ,” उनले भने, “कृषि कार्यालयमा क्षतिपूर्ति लिन आउने परम्परा अन्त्य गर्न समेत बिमाको आवश्यकता छ ।”

कृषिको व्यवसायीकरणका लागि जोखिम न्यूनीकरण गर्न, आर्थिक सुरक्षाको लागि, कृषि ऋण प्राप्त गर्न सजिलोका लागि र कृषि व्यवसायको निरन्तरताको लागि कृषि बिमा आवश्यक देखिएको योजना अधिकृत शशी अधिकारीले बताइन् ।

कृषि बिमा सम्बन्धित कम्पनीले तोकेको बाली तथा पशुपन्छी बिमा अभिकर्ता, व्यक्ति, समूह, संगठित संस्थामार्फत गर्न सकिने व्यवस्था छ । बाली तथा पशुपन्छीको मूल्य निर्धारण गर्दा स्थानीय बजार मूल्य, कृषकले नै तोकेको मूल्य र कृषि प्राविधिकले तोकेको मूल्यका आधारमा तय गरिने व्यवस्था गरिएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका निराजन आचार्यले जानकारी दिए ।

यसरी तोकिएको बिमांकको ५ प्रतिशत पर्न आउने रकम कृषकले बिमा शुल्कबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअनुसार १ लाख रुपैयाँबराबरको कृषिजन्य वस्तुको बिमा गर्दा कृषकले ५ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ ।

५ हजार बिमा शुल्कमध्ये ३७ सय ५० रुपैयाँ सरकारले अनुदान दिन्छ भने १२ सय ५० रुपैयाँ कृषक आफैंले बेहोर्नुपर्छ । लाख रुपैयाँको बिमा गराउने एजेन्टले बिमा शुल्क ९५ हजार०को १५ प्रतिशत अर्थात् ७५० रुपैयाँ कमिसन पाउँछ । एजेन्टले पाउने कमिसनमध्ये ५६२ रुपैयाँ ५० पैसा सरकारले अनुदान दिन्छ । कृषकले भने १८७ रुपैयाँमात्रै एजेन्ट कमिसन बेहोरे पुग्छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय