विदेशबाट काठमाडौं आइपुगेपनि घर पुग्न समस्या 

काठमाडौं, दसैंमा आफन्तसँग खुसी साट्ने योजना बुन्दै स्वदेश फर्कनेहरूले इन्धन अभावमा ठूलो सास्ती व्यहोर्नुपरेको छ । रोजगारी र अध्ययनका लागि विदेश पुगेकाहरू दसैंको मुख्य दिन आउन साता दिन पनि बाँकी नरहेका बेला अलपत्र पर्न थालेका छन् । परदेशबाट दसैं मनाउन आएकालाई त्रिभुवन विमानस्थलबाट बाहिर आउनसाथ बन्दहडताल र इन्धनको अभावकाबीच कसरी घर पुग्ने भन्ने चिन्ताले सताउन थालेको छ । 

‘नेपाल, आफ्नो जन्मथलो सम्झिँदै आउँदा धेरै खुसी भएको थिएँ, तर यहाँ आएपछि ठूलो सास्ती व्यहोर्नुपर्‍यो’, मलेसियामा काम गर्दै आएका भोजपुरका सुमित राईले भने, ‘कहिले गाउँ पुगिने पत्तो छैन । दसैं मनाउन नपाउने हो कि भन्ने चिन्ता थपिएको छ ।’

६ वर्षपछि दसैंमा छुट्टी पाएका राईलाई विमानस्थलबाट बाहिर आएर तीन घन्टा कुरेपछि मात्र ट्याक्सी मिल्यो । विमानस्थलबाट नयाँ बसपार्क पुग्न ट्याक्सीलाई साढे तीन हजार तिरेका राईले गृहजिल्ला जान दिनभर लाम लाग्दा पनि टिकट पाएनन् । उनले भने, ‘देशको यस्तो हालत होला भन्ने लागेको थिएन, अवस्था नाजुक रहेछ, थाहा छैन दसैं मनाएर कसरी फर्किन्छु ।’

दसैंले आँगनमा पाइला टेकिसकेको छ । मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन र रमाइलो गर्न विदेशबाट फर्कनेहरूले यस्तै सास्ती पाउन थालेका छन् । इन्धन आपूर्तिमा सरकारले चासो नदेखाउँदा र आएको इन्धन पनि समान रूपमा वितरण नहुँदा सार्वजनिक बस सञ्चालनमा नआएपछि टाढा पुग्नुपर्ने परदेशीहरू अलपत्र पर्न थालेका छन् ।

यस्तैमध्येका एक हुन् अछामका सूर्य शाही । चार वर्षपछि दसैं मनाउन कतारबाट काठमाडौंसम्म आउँदा उनलाई कुनै समस्या परेन । तर त्रिभुवन विमानस्थलको गेटबाट बाहिर आउनसाथ उनले ठूलो कष्ट झेल्नुपर्‍यो । बन्दहडताल र नाकाबन्दीका कारण गाडी नपाउँदा कसरी घर कसरी पुग्ने भन्नेमा उनलाई चिन्ता परेको छ ।

लामो समयपछि दसैंमा आमाबुवाको हातबाट टीकासँगै आशीर्वाद लिने, साथीभाइ र आफन्तसँग रमाइलो गर्ने, मिठो खाने योजनासहित स्वदेश फर्केकालाई ट्याक्सी चालक होस् बसचालक जोकोहीले पनि ठग्ने गरेका छन् । ‘ट्याक्सी चढ्दा होस् या सार्वजनिक बस चढ्दा हामी विदेशबाट आएकाहरूलाई ठग्नसमेत ठगिन्छ,’ शाहीले भने, ‘खाजा खाँदा, खाना खाँदा होस् या कुनै सामान किन्दा दोब्बर पैसा लिने गरिन्छ, के गर्नु बल्लबल्ल एकपटक घर आउन पाइन्छ, जसले जति माग्यो त्यति दिनुपरेको छ ।’

दसैंमा घर सिँगारेर चिटिक्क पारेको, जमरा पहेंला भएको, मखमली र सयपत्री फूल पनि ढकमक्क भइसकेको आफन्तले सुनाउँदा फुरुंग पर्दै आएका परदेशीहरू विमानस्थलमा झोला छुटाउने झन्झटसँगै निराश हुने गरेका छन् । ‘नेपालमा सिस्टम राम्रो बनाउन नसकिएको हो’, अमेरिकाबाट दसैंका लागि परिवारसहित नेपाल आएकी सपना आचार्यले भनिन्, ‘कम्तीमा यात्रा सहज भइदिएको भए यो दसैं सबैका लागि राम्रो हुने थियो ।’ बूढानीलकण्ठ घर भएकी आचार्यले आफू घर पुग्नका लागि विमानस्थलबाट चार घन्टा लागेको गुनासो गरिन् ।

रात्रि उडानबाट नेपाल आउनेहरू रातभर विमानस्थलको खाली चउरमा पनि सुत्नुपर्ने बाध्यता छ । भारतको अघोषित नाकाबन्दी र देशभित्रको बन्दहडतालका कारण यसअघिको तुलनामा अहिलेको दसैंमा २५ देखि ३० प्रतिशतमात्रै सार्वजनिक गाडी चलेका छन् । वर्षौंको दुःख भुलेर दसैं मनाउन मातृभूमि फर्केकाहरू देशभित्रको बन्दहडताल, इन्धनको अभावले हैरानी खेप्नुपरेको छ । सरकार भने दशैंका बेला नागरिकले खेप्नुपरेको यो सास्तीबारे बेखबर छ ।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय