
काठमाडौं, असोज २८ – एनआरएनएको सातौ महाधिवेशनको रौनक काठमाडौंमा ठूलो छ । महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएका कारण पनि यसको महत्व बढी छ । आगामी कार्यकालको लागि तीन जना अध्यक्षका उम्मेदवार मैदानमा छन् । के भन्छन् उनीहरु ?
शेष घले, अध्यक्षका उम्मेदवार
गैरआवासीय नेपाली संघले हाल जे काम गरिरहेको छ, त्यो नै मेरो एजेन्डा हो। हामीले धेरै काम सुरु गरेका छौं। कतिपय पूरा भए। कतिपय अधुरा छन्। आगामी कार्यकालका लागि संघको दुई दिनको सम्मेलन चल्दै छ। सम्मेलनबाट काम गर्ने निचोड निकाल्ने छौं। त्यसबाट ‘एक्सन प्लान’ बनाएर अघि बढ्ने छु। हाम्रो संस्थामा महिला, युवा र दोस्रो पुस्ताका सहभागी धेरै छैन्। उनीहरूलाई सहभागी गराउनुपर्छ। दीर्घकालीन हिसाबले महिला र युवालाई यो संस्थामा आबद्धता गराउने कार्यक्रम ल्याउने छु। मैले गएको दुई वर्षमा केही सुधारका काम सुरु गरें। जसलाई जरी राख्ने छु। सँगसँगै अबको १५ वर्षमा नेपाल र हाम्रो संघ कस्तो देख्ने भन्ने विषयमा पनि काम गर्ने छु। त्यसका लागि सबैसँगको सहमति तथा समन्वय आवश्यक छ। नयाँ भिजन संस्थागत रूपमा ल्याउने छु। त्यसैका आधारमा म अघि बढ्ने हो। यो संस्था एक विकास साझेदारका रूपमा यहाँको सरकारले बुझ्नुपर्छ। संयुक्त राष्ट्रसंघ जस्तो संस्था होस्, गरिमा होस्। हामीलाई त्यसैगरी देख्न सकोस् भन्ने मेरो सपना हो। सबै ठाउँमा हामीलाई इज्जत गर्ने वातावरण बनाउने छु। तत्कालको एजेन्डा पुनर्निर्माणमा समय खर्च गर्ने हो। दीर्घकालीन हिसाबले भन्दा मुलुकलाई समृद्धिको दिशातर्फ डेर्याउनका लागि प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० भित्र्याउने, रोजगारी सिर्जना गर्ने अभियान आवश्यक छ। यसका लागि मैले काम गर्ने नै छु।
रतन झा, अध्यक्षका उम्मेदवार
एनआरएनएको चुनावी एजेन्डा धेरै हुँदैन। नेपालमा भएको स्रोत र बाहिरको लगानीलाई नेपालको सन्दर्भमा कसरी अन्तरसम्बन्धित गराउने भन्ने नै मुख्य एजेन्डा हो। यो सबैको एजेन्डा पनि हो जस्तो लाग्छ। तर, यो पटक नेपालका लागि अलि फरक छ। भूकम्पले धेरै क्षति गरेको छ। भूकम्प पछिको पुनर्निर्माणमा कसरी योगदान पुर्याउन सक्छौं भन्ने एउटा एडेन्डा हो। हालसम्म संघले ३५ करोड रुपैयाँ पुनर्निर्माणका लागि उठाइसकिएको छ। यो रकम बढाएर थप पुनर्निर्माणका काम गर्नुपर्ने छ। यो सम्मेलनमा पनि पुनर्निर्माणमै आधारित हुने छ। आगामी दुई वर्ष गैरआवासीय नेपालीहरू यसैमा लाग्ने छन्। साथसाथै संस्थाको सुदृढीकरणलाई पनि अघि बढाउनुपर्ने छ। संस्थागत विकास गर्नुपर्ने छ। संस्थागत विकास नेतृत्वमा भर पर्ने कुरा हो। एनआरएनएका ६ वटा क्षेत्र छन्। नेतृत्वमा क्षेत्रीय आधारमा आलोपालो हुनुपर्छ। एक व्यक्ति एक पद हुनुपर्छ। १२ वर्ष महासचिव भएर सेवा गरेको मान्छे हुँ। यो संस्थाको सम्भावना र आवश्यकता के हो रु मैले बुझेको छु। सबैभन्दा महत्त्वपूर्ण कुरा म अध्यक्ष भएँ भने नेपालले दुई कुरा पाउँछ। एउटा एनआरएनएको अध्यक्ष। अर्को पुनर्निर्माणका लागि विज्ञ। किनकि मेरो पेसा नै अमेरिकामा ठुलठूलो पूर्वाधार क्षेत्र निर्माण गर्ने हो।
टीवि कार्की, अध्यक्षका उम्मेदवार
मैले २९ बुँदे घोषणापत्र तयार पारेको छु। त्यसमध्ये सबैभन्दा पहिला एनआरएनएलाई संस्थागत बनाउनुपर्ने मुख्य जिम्मेवारी छ। अहिले संस्थागत परिपाटीमा गएको छैन। एकल परिपाटीमा गइरहेको छ। एकल नेतृत्व र एकल निर्णयमा जाँदै छ। यसलाई रोक्न सामूहिक नेतृत्व र निर्णय आवश्यक छ। यो बेठिक भइरहेको छ। एनआरएनहरू जुनसुकै क्षेत्र, वर्ग वा समुदायका हुन्। धनी हुन् वा गरिब। हरेकले मेरो संस्था हो। हरेक गैरआवासीय नेपालीहरूले मलाई यो संस्थाले सहयोग गर्न सक्छ भन्ने अपनत्व गराउन आवश्यक छ। यसबाहेक सबै साथीले भूकम्पबाट भत्केको संरचनाको पुनर्निर्माण गर्ने एजेन्डा बनाएका छन्। यो निरन्तर चल्ने कार्यक्रम हो। पुनर्निर्माणमा योगदान त मैले अहिले पनि गरिरहेको छु। यो सम्पूर्ण गैरआवासीय नेपालीको अभियान हो। यसका लागि मेरो नेतृत्व चाहिन्छ भनेर सोच्ने चुनावी एजेन्डा बनाउनु हुँदैन। पुनर्निर्माण बाहेकका एजेन्डा पनि मसँग छन्। यसबाहेकका काम पनि एनआरएनएले गर्नुपर्ने आवश्यक छ। नेपालमा राजनीतिक अस्थिरता सकियो। अब आर्थिक विकास गर्नुपर्छ। यसका लागि नेपालका राजनीतिक दल सरकारसँग नजिकमा रहेर काम गर्नुपर्ने छ। त्यसका लागि एनआरएनले पहिचान गर्नुपर्छ। अध्यक्ष स्वयंसेवक पद हो। अहिले अध्यक्षलाई राजा मान्ने मान्यताको अन्त्य गर्नुपर्छ।
कान्तिपुरबाट