उनी उता, म यता, भो पुग्यो परदेश अव त  

पदम विष्ट, दोदोधारा २ बौनिया कैलाली, हाल दोहा कतार 

म कुनै दिन सोच्ने गर्थे परदेश भन्ने कस्तो होला ? के त्यहाँ जान पाए साच्चिकै जिन्दगी सुखी हुन्छ होला ? के त्यहाँ गएर टन्न पैसा कमाएर बाँकी जिन्दगी सुखसँग बिताउन सकिएला ? यस्तै सोचाइले मन सधैं गह्रौ भइरहन्थ्यो । 

गाउँका दाजुभाइ परदेशबाट आउँदाको छाँटकाँट अलग्गै हुन्थ्यो । हेर्दा नचिनिने भएर गुडाउन मिल्ने झोला, डोरिले बाँधेका टिभी, गलामा सुनका सिक्रि, कम्मरमा मोबाईल भिरेर अनी क्यामरा झुण्ड्याएर आउँदा सोच्थें एकपटक परदेश गएँ भनें म पनि किन नकमाउँला र ? त्यस्तै सुनौलो सपना बोकेर अनी माओवादी जनयुद्धको तापले सशस्त्र प्रहरीको सरकारी जागिरलाई तिलाञ्जली दिंदै यो पदम अरव हान्निएको हो । हो, मैले माओवादीको धम्की सहन सकिन र परिवारको गाँस जुटाउने तथा आफ्नो ज्यान बचाउने उद्धेश्यले मेरो परदेशी जीवन सुरु भयो कतारको मरभूमीमा । 

भीमकाय जहाज चढेर मरुभूमिको चर्को घाम र त्यसले कतारको गेग्रयानबाट निकाल्ने हपहपी पोल्ने तातो बाफिलो हावाले यो ज्यानमा हान्न थालेको पनि अव त धेरै भइसक्यो । सनैसनै जीवनले पनि  कोल्टो फेर्दै गएछ । तर हरेक देखेका सपना सत्य हुन्नन् । मेरो परदेशी जीवन पनि त्यस्तै त्यस्तै छ ।  

मैले कल्पेको भन्दा विल्कुल फरक भयो परदेशी जीवन पनि । भनिन्छ ‘कि त परेकाले जान्दछ कि त पढेकाले ।’ हो म पनि परेर जान्दैछु । न भाषा जानेको छ न त यहाँको खानपिनमा रस बस्यो । कतारको जीवन नै अजिव भयो मेरा लागि । कसैलाई कसैको कुरो सुन्ने फुर्सद हुन्न । सबै आफ्नो आफ्नो धुनमा । तल्लो बेडमा मान्छे मरिसक्दा माथिल्लो बेडमा सुतेकोले थाहा नपाउने । एकसुरे जिन्दगी । मलाइ त कता कता लाग्छ, जस्तो सुकै दुःख कष्ट भएपनि आफ्नै गाउँठाँउ नै ठिक । जे भए पनि आफ्नै गाउँमा माया र ममता प्रसस्त छ । 

गाउँ घरकाले सोच्दा होलान, ल फलानाको छोरो कमाउने भो, अव के सम्झिन्थ्यो भनेर । उनीहरु भन्दा हुन् ‘पैसा को पछाडि लागे पछि के आफ्ना के पराई सबै नाता तोड्दा रैछन ।’ आफु नमरी स्वर्ग देखिन्न भन्थे बुढापाकाहरु । घरमै बसेका घर परिवार, आफन्तलाई के थाहा परदेशको हालत, यहाँको अवस्था । यहाँ रातोदिन काम नगरी महिनामा दुईपैसा हात पर्दैन । भो आज स्वास्थ्य ठिक छैन भोलि गरौला भनेर सुख नपाइने । जति

दुःख भएपनि मरिमेट्नै पर्ने । आम परदेशी जीवन त्यहि हो जुन म पनि बाँचिरहेछु । अरु बेला त ठिकै हो, तर बिरामी पर्दा तातो पानी तताएर खानदिने मान्छे समेत नहुँदा कसको मन रुन्न होला र ? हो देख्नेले परदेशमा पैसा कमाएको देख्लान् तर हामी कति कष्टकर जीवन बाँच्छौं, त्यो परदेशीलाई मात्र थाहा छ ।  

हरपल घरपरिवारको यादले मन छटपटिइरहन्छ । कतिखेर उडेर आफ्नै गाउँ पुगौं जस्तो लागिरहन्छ । हो, तन परदेशमा छ मेरो तर मन त सधैं उहि मेरो गाउँ, मेरो परिवारमै घुमिरहन्छ । सोच्छु गाउँमा नयाँ के हुँदै होला ? घरपरिवार, छोराछोरी, आफन्त, ईष्टमित्रको मायाले बोलाइरहन्छ । हो यीनै कुरा हुन् यो मरभूमिमा दिन काट्ने मेलोहरु । 

यसरी मेरो गाउँ, मेरो परिवारमा उडिरहेको मनलाई मरभूमिको तातो हावाको झोक्काले झ्याप्प हान्दा आफूलाई उहि कतारमा पाउँछु । उहि चक्र छ हाम्रो यहाँ । काम, कोठा र फेरी काम । न हाम्रो देशमा जस्तो रहरलाग्दा खेतका फाँट छन् यहाँ न त डाँडाकाँडा । जता हेरेपनि कि त लमतन्न सुतेको उराठलाग्दो मरभूमि वा अन्तहीन समुन्द्रको पानी । तिनले मन भुलाउन सकिन्न परदेशमा । 

तर त्यति हुँदा हुँदै पनि हामी परिवारको गर्जो चलाउन, भोलीका लागि दुई पैसा कमाएर जोगाउन र त्यहि लगानी गरेर बाँकी जीवन कटाउने आयस्ताको बाटो बनाउन यहाँ आएका हौं । म पनि त्यहि प्रयत्नमा जुटिरहेको छु । आखिर परदेश हाम्रा लागि सधैं बस्ने ठाउँ होइन । एक न एक दिन त फर्केर आफ्नै देश जानु नै छ । त्यसैले म स्वदेश फर्केर स्वआर्जनको बाटो बनाउन जुटेको छु । 

अव आफ्नै गाउँमा फर्केर काम गर्ने मन छ । तर त्यसका लागि केहि न केहि लगानी त चाहिन्छ । अर्कातिर देशमा भइरहेको सधैंको बन्द, हड्ताल जस्ता कुराले घर फर्किहाल्ने आँट जुटाउन सकिरहेको छैन । केहिगरी घर फर्केर पनि बाँकी जीवनयापनका लागि आवश्यक कुराको जोहो गर्न सकिन भनें ? यहि प्र्रश्नले मलाई कतारमा अल्झाइरहेछ । घर परिवारप्रतिको दायित्वका कारण म नचाहेरै पनि कतारमै बाँधइरहेछु ।  

तर निराशा मात्र छैन जीवनमा । प्रयत्न गरे हुन्छ भन्ने पनि आशा छ । मेरी श्रीमतिले नेपालमा कुखुरा पालनमा राम्रो प्रगति गरिरहेकी छिन् । म पनि छुट्टीमा जाँदा खोर बनाउने लगायतका काममा उनलाई मद्धत गरेर आएको हुँ । व्यवसाय राम्रो हुँदै गएको उनी सुनाइरहन्छिन् । यसले नेपाल फर्केपछि आर्थिक आम्दानीको बाटो भनें कोरिंदै गएको छ । 

माओवादी र सरकारबीचको बन्दुकको चेपुवामा परेर अनी सुखी जीवनको कल्पना गर्दै खाडी छिरेको मैले ९ बर्ष कतारमा विताइसकें । जसरी त्यो समुन्द्रको पल्लो छेउबाट उदाएको सूर्य रेगिस्तानको बालुवाको पहाड पछिल्तीर हरेक साँझ हराउँछ, ठिक त्यसरी नै मेरा दिनहरु यो मरभूमिमा चिप्लिरहेछन् । आउनु मात्र पर्छ, धेरै दिन, महिना र बर्षहरु यसरी नै परदेशमा चिप्लिएर सकिन्छन् । 

म त सबै नेपाली साथिभाईलाई भन्न चाहन्छु ढिडो रोटि जस्तो भए पनि घरकै खाउँ, दुःख जति परेपनि परिवारसँगै बाँड्दै जिउँ तर परदेश नपसौं । परदेश आएर मात्र दुई पैसा कमाउने सोचाइलाई बदलौं । परदेशमा अरुका घर ट्वाइलेट सफाई गर्नुभन्दा आफनै गोठको गोबर सोहोरौ । अरुका लुगा र भाँडाकुँडा माझ्नुभन्दा आफनै घरका माझौं । आफ्नै गाउँमै केहि गरेर देखाउने सोचाइ बनाउँ, पैसाको आशमा परदेशलाई नरोजम् । परदेशको पचास भन्दा स्वदेशको बीस ठूलो हो । आफ्नो नौ बर्ष परदेश बसाईलाई बिट मार्दै म पनि अव त चाँडै घर फर्किंदैछु । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय