मलेसिया र युएई भन्दा नेपालमै भयो कमार्ई(भिडियो सहित) 

काठमाडौं, असोज ८- कमाउन उनी मलेसिया गए । झण्डै ९ बर्ष बसे । त्यसपछि फर्केर दुवई(युएई) पनि पुगे । त्यहाँ पनि झण्डै साढे दुई बर्ष पसिना बगाए । तर भनेजस्तो कमाई कतै भएन । त्यसैले नेपाल फर्केर केहि कमाईको उपाय खोज्न थाले मदन खत्री । 

उनी विदेशमा रहँदा नै पूर्वी पहाडी जिल्ला भोजपुरबाट सुनसरीको ईटहरी उत्रेको खत्रीको परिवार यता सानो चियानास्ताको पसल चलाएर बसेको थियो । त्यहि काममा लागे उनी पनि । 

पसल राखेको कोठाको मासिक भाडा ८ हजार थियो । कमाई मुस्किलले महिनामा १२ १३ हजार हुन्थ्यो । श्रीमान् श्रीमति र एक छोरीको परिवारलाई खान लाउन नै धौ धौ थियो । कहिलेकाहिं त कोठाको भाडा तिर्ने पैसा नपुगेर सापटी खोज्दै हिंड्नु परेको झल्झली सम्झनामा छ उनीहरुलाई । 

आम्दानीको अरु कुनै उपाय खोजिरहेका मदनलाई आफु बसेको ठाउँका भित्तामा टाँसेको पोष्टरले ध्यान तान्यो । कुकको तालिमका लागि स्थानीय पाथिभरा हिमालयन पोलिटेक्निक र्ईन्स्टिच्यूटले विज्ञापन गरेको रहेछ । उनी खोज्दै त्यो संस्थामा पुगे र फर्म भरे । 

तालिमका लागि छानिएपछि उनले दत्तचित्त भएर सिके । पहिले चिया पकाउन मात्रै जानेका मदनले अव ममः, चाउमिन, चिकेन चिल्ली लगायतका खानेकुरा बनाउन सिक्दै गए । पकाउन जानेर मात्र हुन्न, त्यसलाई कसरी स्वादिलो बनाउने अर्को कला हो उनी भन्दै गए ।                                                                                                                           

तालिम सुरु भएको १५ दिनजति पछि उनलाई लाग्यो, तालिममा सिकेर मात्र हुन्न, अव अभ्यास पनि थालिहाल्नु पर्छ । त्यसैले तालिम सुरु भएको २० दिन पछि उनले आफ्नै पसल खोले मनिषा खाजा घर । तालिममा जे सिक्यो, पसलमा आएर त्यहि बनाएर बेच्न थाले उनी । ग्राहक बढ्न थाले । 

विहान बेलुका पसल चलाउने र दिउँसो तालिम लिन जान्थे उनी । यसले सिक्दै पनि गए र केहि आम्दानी पनि हुन थाल्यो । एकातिर सीप बढ्दै थियो अर्कातिर ग्राहक थपिंदै थिए । भाडा तिर्न र घर चलाउन केहि सहज हुँदै गयो । उत्साह थप्योे मदनलाई । 

सुरुमा उनले चाउमिन, थुक्पा जस्ता कुरा बनाउन थाले । आफूले सिकेको सीप श्रीमतिलाई पनि सिकाए । अहिले श्रीमान श्रीमति दुवैजना उत्तिकै पकाउँछन् खानेकुरा । त्यसैले मदन यताउता हुँदा पनि पसल चलाउन समस्या छैन खत्री परिवारलाई । 

अहिले पसलको भाडा २० हजार छ । छोरी स्थानीय बोर्डिङमा पढ्दैछिन् । महिनामा सरदर ३० हजारजति खर्च हुन्छ । अर्कातिर महिनामा ४ लाख बढीको व्यापार हुन्छ । खाजा पसलसँगै दुध डेरीको पसल पनि थपेका छन् उनीहरुले । त्यसैले खर्च कटाएर मासिक १२  देखि १५ हजार बचत हुन थालेको छ । स्थानीय एक सहकारीमा दैैनिक ४ सयको दरले गरेको बचत राम्रैै हुँदै गएको छ । त्यसले छोरीलाई पढाउन र पसल बढाउन मद्धत गर्छ भन्ने अपेक्षामा छन् उनीहरु । 

सीप सिकेका कारण अव यहि व्यापारबाट जीवन चलाउन सकिन्छ भन्ने लागेको छ मदनलाई । आसपासका क्याम्पस, बैंकहरु, नजिकका धेरैै अफिसका कर्र्मचारी मदन खत्रीका नियमति ग्राहक भएका छन् । त्यसैले ग्राहकको कमी छैन उनलाई । 

विदेशबाट फर्केपछि उनलाई अव के गरेर जीवन चलाउने भन्ने चिन्ता लागिरहन्थ्यो । न हातमा कुनै सीप थियो न त साथमा गतिलो पुँजी । तर अहिले दुवैै भएको छ । त्यसैले विदेश ताक्नेहरुलाई पहिले आफ्नै देशमा अवशर खोज्न सुझाव दिन्छन् मदन । “मेरो त सीपले आत्मवल बढेको छ । विदेश भनेको त क्षणिक हुने रहेछ । जति वर्ष विदेश बसेपनि आखिर नेपालमै फर्केर काम नगरी हुन्न । त्यसैले केहि सीप सिकेर नेपालमै काम थाल्दा राम्रो” उनले भने ।

(मदन खत्री रोजगार कोष अन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था पाथिभरा हिमालयन पोलिटेक्निक र्ईन्स्टिच्यूट, सुनसरीले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) 

भिडियो हेर्नुहोस् 

https://www.youtube.com/watch?v=fYySrOe-vk4&feature=youtu.be

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय