खोर्सानीबाट गतिलो आम्दानी 

तेह्रथुम, असोज ५- याक्जुङ ७, ८ र ९ वडाका विपन्न जोगी समुदायले व्यावसायिक अकबरे खुर्सानीबाट राम्रो आम्दानी गरिरहेका छन्।

सदरमुकाममा रहेको देउराली सोसाइटी नामक संस्थाले व्यावसायिक अकवरे खुर्सानी खेतीका लागि सहयोग गरेको छ। फेरी लगाएर जोहो गरेको थोरबहुत अन्नको भरमा जीवन गुजरा चलाउँदै आएका उनीहरूलाई व्यावसायिक कृषि पेसातर्फ उन्मुख गराउन संस्थाले पहिलोपटक खुर्सानी खेतीतर्फ उनीहरूलाई आकर्षित गराएको हो।

तीनै वडाका बस्तीमा पुगेर सोसाइटीले गत माघमा समूह बनाएर खुर्सानीको बीउ वितरण गरेको थियो। बीउसँगै सबै जोगी समुदायका घरमुलीलाई व्यावसायिक अकबरे खुर्सानी खेतीबारे तालिम दियो। तालिमपछि खुर्सानीमा लाग्ने रोग र मलखादको व्यवस्थापन गर्ने प्रविधिसमेत सिकाइदिएपछि यहाँका बस्तीका करेसाबारीदेखि कोदो मकै मात्र फल्ने भिरालो बारीमा समेत लटरम्म खुर्सानी फलेका छन्।

जोगी समुदायका सदस्यको जग्गा जमिन थोरै हुने र भएको जमिनमा पनि नगदेबाली नलगाउने गरेकाले उनीहरूले उत्पादन गरेको अन्नले वर्षको ३ महिना पनि खान नपुग्ने समस्या छ। उनीहरूको त्यही अभाव पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले खुर्सानी खेतीतर्फ आकर्षित गरिएको सोसाइटीका महिला समूह मजबुतीकरण कार्यक्रमका कार्यक्रम संयोजक नरमाया श्रेष्ठले बताइन्।

खुर्सानी खेतीका लागि सोसाइटीले समूह बनाएर बीउ पुँजीसमेत सहयोग गरेको थियो। आर्थिक सहयोग पाएपछि गाउँका प्रत्येक जोगी घरपरिवारले ९ सयदेखि १ हजार ५ सय बोटसम्म अकबरे खुर्सानी रोपेका छन्। रोपेको पहिलो वर्षमै खुर्सानी फलेर बिक्री हुन थालेपछि घरपरिवार चलाउन सहज भएको स्थानीय मालती जोगीले बताइन्। उनले यो वर्ष ९ सय अकबरे खुर्सानीका बोट रोपेकी थिइन्। यी बोटबाट पहिलो वर्ष २० हजार रुपैयाँसम्म आम्दानी हुन सक्ने अनुमान उनको छ।

आफ्नो नाममा रहेको २ रोपनी जग्गामा खुर्सानी लगाएकी स्थानीय अरुणा जोगीले यस वर्ष खुर्सानी बिक्रीबाट कम्तीमा ३० हजार रुपैयाँ आम्दानी गर्ने सोच बनाएकी छन्। ५ जनाको परिवार पाल्न मुस्किल भएपछि श्रीमान् युवराज जोगी फेरी लगाउन भारतको सिक्किमतर्फ लागे। त्यसलगत्तै गाउँमै आएका सोसाइटीका कर्मचारीले खुर्सानी खेती गरे आम्दानी राम्रो हुने र परिवार चलाउन सहज हुने उपाय उनलाई बताइदिए।

संस्थाका कर्मचारीको त्यो सल्लाह उनका लागि यतिबेला परिवार पाल्ने गतिलो माध्यम बनेको छ। उनले बारीमा रोपेका १ हजार ५ सय बोटमा खुर्सानी फेलेको छ। रोपेको पहिलो वर्षमै उनले १२ हजार रुपैयाँको खुर्सानी बिक्री गरिन्। गाउँमा प्रतिकेजी २ सय ५० देखि ३ सय ५० रुपैयाँमा खुर्सानी बिक्री हुन्छ।

सोसाइटीले पहिलो चरणमा गाउँका ३० महिला छनोट गरी खुर्सानी खेती गर्न तालिम दिएको थियो। ती ३० महिलाले गाउँका प्रत्येक ५ जनालाई आफूले सिकेको सिप अनिवार्य सिकाउनुपर्ने नियम बनायो। जसले गर्दा गाउँका सबै महिलाले अकबरे खुर्सानीको व्यावसायिक खेती प्रविधि थोरै खर्चमा एकैपटक सिके।

त्यसपछि बिरुवा उत्पादनका लागि ब्याड भने सामूहिक राखे। उत्पादित बिरुवा आपसमा भाग लगाए। तिनै बिरुवा एक वर्ष नबित्दै आम्दानीको स्रोत बनेको कार्यक्रम अधिकृत श्रेष्ठले बताइन्। खुर्सानीका लागि जैविक बाष्पीकरण विधिमार्फत झोल मल तयार गर्ने विधिसमेत सबैले सिकेका छन्। रक्सी पार्ने प्रविधिबाट तयार पारिएको मलको प्रयोगबाट खुर्सानीमा लाग्ने रोग, कीरा हटेको र मलसमेत हुने भएकाले उत्पादन चार गुणासम्म बढेको स्थानीय बालकुमारी जोगीले बताइन्।

संस्थाको सहयोगमा पहिलोपटक खुर्सानी खेतीमा लागेका यहाँका जोगी बस्तीबाट यो वर्ष ५ लाख रुपैयाँ बढीको अकबरे खुर्सानी उत्पादन हुने अनुमान स्थानीयको छ। अघिल्ला वर्षहरूमा फेरी लगाएर दसैं तिहारका लागि आवश्यक रकम जोहो गर्ने यहाँका धेरै जोगी परिवारले यसपटक आफ्नै घरमा रोपेको खुर्सानी बिक्री गरेर दसैं खर्च जुटाउने तयारी गरेका छन्। धेरै जोगीले त खुर्सानी बिक्रीबाट आगामी दसैंका लागि सुंगुर किनेर पनि ल्याइसकेका छन्।

कान्तिपुरबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय