मलेसियाबाट आउँछ सवैभन्दा बढी पैसा उदयपुरमा 

उदयपुर, भदौ ३१- साउने गाविस ३ की ३२ वर्षीया कविता राई व्यवहारमा गाउँकै पाकी महिलामा मानिन्छिन् । गाउँलेलाई पैसा चाहिए तत्कालै उनले चाँजो मिलाइदिन्छिन् । गाउँलेमा उनीप्रति ठूलो विश्वास छ । साधारण लेखपढ मात्र उनको व्यवहारले पाको बनाउने काम गरेको होइन । श्रीमानले कतारबाट पठाइदिने रकमको कारोबारले यस्तो बनाएको हो ।

‘पहिले एक दुई हजार रुपैयाँ देख्न गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले २५-५० हजार रुपैयाँ भनेको सामन्य भै सक्यो ।’ श्रीमानले गरेको विश्वास र आफ्नो इमानदारिताले गर्दा गाउँमा राम्रो मानसम्मान मिलेको उनले बताइन् ।

कविता मात्रै होइन, वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सले जिल्लाका उनीजस्ता सयौं महिलाको आर्थिक र सामाजिक अवस्थामा यस्तै परिवर्तन ल्याइदिएको छ । जिल्लामा मासिक ३० करोड हाराहारीमा वैदेशिक रेमिट्यान्स भित्रिने गरेको छ । सदरमुकाम गाईघाटमा रहेको चुरिया सप्लायर्स एन्ड ट्रेडर्समा मात्रै मासिक ३ करोडभन्दा बढी रेमिट्यान्स आउँछ । राष्ट्रिय वाणिज्य बैंक, सिभिल बैंक, सुप्रिम डेभलप्मेन्ट बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतका १० बैंकले पनि वैदेशिक रेमिट्यान्स सम्बन्धी कारोबार गर्छन् ।

जिल्ला सदरमुकाम गाईघाट बाहेक जलजले, बेल्टार, कटारी, रामपुरठोक्सिला लगायतका अन्य सहायक बजारहरूमा पनि कारोबार हुन्छ । ‘हामी कहाँ राष्ट्रिय वाणिज्य बैंक, प्रभु मनी ट्रान्सफर, आईएमई, सिजी रेमिट, मनिग्राम र वेस्टर्न युनियनबाट मासिक करिब ३ सयले विदेशबाट पैसा पठाउँछन्,’ राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखाका रेमिट्यान्स इन्चार्ज उमेश श्रेष्ठ भन्छन्, ‘वाणिज्य बैंकमा मात्रै मासिक ३ देखि ३ करोड ५० लाख रुपैयाँको हाराहारीमा रकम आउँछ ।’

उनका अनुसार सबैभन्दा बढी रकम मलेसियाबाट आउने गरेको छ ।

सिभिल बैंकका अनुसार सिभिलको गाईघाट शाखा मुलुकमै सबैभन्दा बढी रेमिट्यान्सको कारोबार गर्ने शाखा हो । यहाँबाट मासिक सरदर ४ करोडको हाराहारीमा वैदेशिक रेमिट्यान्स भित्रिने गर्दछ । चुरिया सप्लायर्स एन्ड ट्रेडर्स गाईघाटका सञ्चालक इन्द्र रेग्मीका अनुसार उनीकहाँ दैनिक सरदर वैदेशिक रोजगारीमा गएका १ सय ५० जनाले पैसा पठाउँछन् ।

कान्तिपुरबाट

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय