कतारमा व्यवसायमा चम्केको नेपाली परिवार

रवि रोषी,  दोहा, भदौ २८- सडकबाट साहेब बनेका जनकपुरे ठिटोको प्रगतीगाथाको भिन्नै कथा छ । उनी जनकपुरको विन्दीपुर भन्ने गाउँबाट कतारमा क्लिनरको रुपमा काम गर्न प्रवेश गर्दा यति धेरै सम्बृद्धि प्राप्त गर्न सकिन्छ भन्ने कल्पना पालेर पसेका चाहिँ थिएनन् । परिश्रमको फल मिठो हुन्छ र भाग्यमा छ भन्दैमा डोकोमा दुध अडिदैन भन्ने कुरा चाहिँ स्कुले पाठ्यक्रममा पढेको स्मरण गर्दै भन्छन्, यति ठूलो सपना चाहिँ बोकेर आएको थिइन । तर कर्म गरेपछि फल पाईन्छ भन्ने कुरा चाहिँ आफ्नै अघि प्रगती गर्नेहरुको प्रगतीगाथा सुनेर देखेर मनमनै प्रतिज्ञा चाहिँ गरेको थिएँ कि मैले अवसर पाएँ भने केहि गर्न सक्छु भनेर ।

हो न्युन वेतनमा कतार हानिएका तिनै २९ वर्षे जनकपुरे ठिटो अब्दुल वासिद आज क्लिनरको दर्जाबाट एउटा प्रतिष्ठित कम्पनीको मालिक बन्न सफल भएका छन् । यो स्थानसम्म आईपुग्नुलाई उनी कुनै चमत्कारको रुपमा स्वीकार्न चाहँदैनन् । यसमा मैले रातोदिन मेहेनत गरेको छु । चान्सलाई चुज गर्न तर्फ लागेको भए म आजसम्म क्लिनरको क्लिनरमा नै काम गरिरहेको हुन्थेँ हुँला । मैले चान्सलाई क्याच गर्नुपर्छ भन्ने सिद्धान्तले नै आज यो स्थान सम्म आईपुगेको हुँ, उनले सुनाए ।

यि २९ बर्षे ठिटो अब्दुलले कतार आएर कति दुःख पाए ? कति कमाए ? भनेर उनले प्राप्त गरेको आर्थिक समृद्धिको गुणगान गाउन यो लेखिएको होइन । कमाएपछि दीनदुखीहरुलाई केहि सहयोग गर्नु आफ्नो धर्मनीति र मानवीय कर्मको देनलाई कदर गर्दै मानवसेवाको पथमा दिएको उनको पवित्र भावनाको कदर गर्नैका खातिर उनलाई समेट्ने प्रयास गरेको हुँ ।

पछिल्लो समयमा कतारबाट सञ्चालित रेस्क्यु न्युजले चालेको परोपकारी अभियानमा पनि उनले आर्थिक तथा भौतिक सहयोग गरी धेरैको उद्धार गरेका छन् । मेहनत गरेर कमाएको आम्दानीको हकदार म मात्र होइन, दुख पाएका मानवजातिको कल्याण र जीवनरक्षाको साथै देशका लागि पनि सक्दाको सहयोग गर्नुपर्छ र त्यसो गर्नु हक र एक नागरिकको जिम्मेवारी पनि हो भनी उनी खुशी मनले बताउँछन् । सामाजिक संघसंस्थाहरुमा उनको संलग्नता र योगदानको कदर गर्दै कतारका धेरै संघसंस्था तथा ब्यक्तिहरुको जनजिब्रोमा परिचित बन्दै गएका छन् आजकल यि व्यक्तित्व ।

आफ्ना २ भाईलाई साथमा लिएर कतारमा व्यवशाय सुरु गरेका अव्दुल वासिदको शैक्षिक योग्यता भनेको प्लस टु मात्र हो । जुँगाको रेखी बस्दै गरेको १९ बर्षे कलिलो उमेरमा अर्थात् सन् २००५ मा वेटरका लागि भनेर ६० हजार तिरेर कतार हानिएका अव्दुल वासिदले तत्कालिन नेपाली रुपैंया करिब ८ हजारमा भाँडा माझ्ने काममा चित्त बुझाउनुपर्यो ।

भाँडा माझ्ने काम गर्दै जुस बनाउन सिकेका उनले आउने ग्राहकबाट पाउने टिप्सले आफ्नो महिनाभरिको अन्नपानीको जोहो गरी ४ सय रियाल चोखो बचाउँथे । प्लस टु सम्म गरेका अव्दुल अंग्रेजी राम्रोसंग बोल्न जानेकै कारणले गर्दा ग्राहकमाझ उनी प्रस्तुत हुन सहज भएको थियो भने ग्राहकहरुले पनि उनलाई औधी माया गर्ने गरेको बताए ।

न्युन वेतन भएको कारणले उनले सोचे अनुसारको आम्दानी गर्न नसकेपछि उनी एक बर्षमा नै नेपाल फर्किएर आफ्नै जन्मजिल्ला जनकपुरमा आफ्ना बुवासंग मिलेर क्याटरिङ व्यवशाय सञ्चालनमा ल्याए । त्यो व्यवशायले पनि उनलाई नेपालमा साथ नदिएपछि खर्च थेग्नका लागि भनी आफ्ना भाई अब्दुल हाफिजलाई सेल्सम्यान कामको लागि कतार पठाए । २००८ मा उनी पुनः कतार प्रवेश गरी कतारको स्थानीय कम्पनीहरुसंग मिलेर काम गर्न थाले । एक बर्षसम्मको कडा मेहनतमा उनले यहाँको बजार राम्रोसंग बुझेपछि आम नेपालीहरुले गर्ने व्यवशाय भन्दा भिन्न किसिमको ट्रेडिङ कम्पनी खोले ।

लामो समयको कार्य अनुभव र मेहनतबाट आर्जेको पैसाले उनले सो कम्पनी खोल्न सफल भएका थिए । कतारकै स्थानीय पसलहरुबाट नगदमा सामान किनेर उधारोमा बेच्न थालेपछि त्यस व्यवशायबाट पनि ठूलो नोक्सानी बेहोर्नुपर्यो । अफिसको भाडा समेत तिर्न नपुगेपछि अन्ततः उनले मेशिनरी औजारहरुको व्यवशाय सुरु गरे । यस व्यवशायबाट केहि आर्थिक सफलता हात पारेपछि उनले भाईलाई अन्तर्राष्ट्रिय बजार बुझेर व्यवशाय बढाउने सोचमा विभिन्न देश पठाए । विदेशमा गएर संभाव्य व्यवशायको अध्ययन गर्दा रेफ्रिजेरेशन र एयर कण्डिसनको काम उत्तम ठहर गर्दै पुनः कतार फर्किए ।

भिन्न शिर्षकको व्यवशाय सञ्चालन गर्ने सोच लिएर अब्दुल भाईहरु तयार भएपनि उनीहरुसंग लगानी गर्ने पैसा नभएको बताउँछन् । थोरै लगानी र धेरै आँट जम्मा गरेर हामी भाईहरु यहि व्यवशाय गर्न कस्सियौं । यहिँकै बजारबाट खरिद गर्दै यहिँकै बजारमा हामीले शुक्रिविक्रीको धन्दा सुरु गर्यौं । उमेरमा साना हामी दाजुभाईको यो व्यवशायप्रतिको आकर्षण र आँट देखेर सुरुमा हामीलाई कसैले विश्वाश नै गरेन ।

यस्तो जटिल अवस्थामा पनि हामीले हार खाएनौं र फोन मार्फत सम्पर्क गर्दै विभिन्न कम्पनीका मालिक तथा म्यानेजरसंग बडो मुश्किलले भेट्न पाउँथ्यौं । पटक पटकको हाम्रो मार्केटिङ प्रिजेन्टेशनले उनीहरुलाई विश्वाश दिलाउन सफल भयौं । तर पनि पहिलो पटक चीनको गोन्जाओबाट सामान लिएर आउँदा हामीमा पुनः असफल हुने हौं कि भन्ने भयले त्रसित थियौं । तर उनीहरुले दिएको अर्डर अनुसार हामीले निश्चित समयमा डेलिभरि दिन सकेपछि उनीहरुको हामी प्रति इमान्दारिता र निश्चित समयमा सामान उपलब्ध गराउन सक्ने क्षमता प्रति विश्वाश पैदा भयो ।                                                                                 
अहिले हामी चीनको गोन्जाओ औधोगिक शहरबाट हरेक महिना ३,४ कन्टेनर सामान भित्र्याउँछौं । अहिले हामीले बजार खोज्नु खासै परेको छैन । बजार नै हामी संग सम्पर्कमा आउँछ वासिद बताउँछन् ।

आजकल व्यवशायबाट आर्थिक समृद्धी कमाएपछि उनी विभिन्न आपदकालिन स्थानमा सेवा र सहयोग गर्न पछि पर्दैनन् । दुतावासमा विभिन्न काम र समस्या लिएर आउने सैयौं नेपाली दाजुभाईहरु गर्मीको समयमा बाहिर नै घाममा बस्नुपरेको समस्याको बारेमा समाचारमा पढेपछि उनले दुतावासको बाहिरी कक्षमा ठूलो कुलरको व्यवस्था गरिदिएका छन् भने दुतावासको भित्री कार्यकक्षमा पनि कुल मिलाएर ७ लाख बराबरको एयरकण्डिसन जडान गरिदिएका छन् ।

अहिले उनले कतारमा आफ्नै व्राण्डमा सामान तयार गर्ने तयारीमा छन् । जनकपुरको आफु जन्मेको स्थान वेला को नाममा नै उनले आफ्नो व्राण्ड को नाम वेला भनेर जुराएका छन् । म आफ्नो माटोको नाम र परिचय आफ्नो व्राण्डमा जोड्न चाहन्छु उनले बताए । सन् २००५ मा सामान्य क्लिनर  मजदुरको रूपमा कतार छिरेका बासिद र उनका दुई दाजुभाइ अब्दुल कादिर र अब्दुल हफिज ३ भाई  मिलेर कम्पनी चलाएका छन्। उनीहरूका तीन कम्पनी हफिज ट्रेडिङ एन्ड कन्स्ट्रक्टिङ, त्रिलियन इन्टरनेसल प्रोजेक्ट र अब्दुल हफिज ट्रेडिङ कम्पनी छन् ।

अबका दिनमा आफ्नो ब्राण्ड बजारमा आईसकेपछि उनले सो ब्राण्डलाई नेपाल भित्र्याउने योजनामा पनि रहेका छन् । देश र समाजका लागि भोलिका दिनमा केहि गर्नुपर्छ भन्ने इच्छा पालेका उनीहरु कतारमा आफ्नो व्यवशायलाई तिब्र गतिमा दौडाईरहेका छन् भने दीन दुखीहरुको लागि सेवा र सहयोग गर्न उनीहरुको अवस्थाको जायजा लिएर सहयोग गरिरहने बताएका छन् ।

तपाईको विचार लेख्नुहोस् 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय