कहाँ खर्च भयो खाडीका दुतावासबाट सात करोड ?  

काठमाडौं, भदौ २२- खाडी, मलेसियासहितका सातवटा नेपाली दूतावासले खर्चको वास्तविक हिसाबकिताब देखाउन नसकेपछि करोडौं रूपैयाँ बेरुजु देखिएको छ। 

अत्यधिक नेपाली कामदार जाने मुलुकमा रहेका दूतावासले कामदारको उद्धार, गाडी खरिद, मृत व्यक्तिको शव झिकाउनेलगायतका प्रयोजनमा ठूलो रकम लैजाने तर त्यसको वास्तविक हिसाबकिताब देखाउन नसक्दा सात दूतावासको सात करोडकै हाराहारीमा बेरुजु रहेको हो। कामदारको उद्धार गर्न लगेको रकमको हिसाबकिताब देखाउन नसकेपछि कतारस्थित् दूतावासको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

अख्तियारले अहिले यस विषयमा छानबिनसमेत गरिरहेको छ। कामदारको उद्धारलगायतका काम गर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रकम निकासा गर्ने गरेको छ।बोर्ड स्रोतका अनुसार साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, कुबेत तथा इजिप्टस्थित नेपाली दूतावासका नाममा बेरुजु बढी छ।  

प्रवर्द्धन बोर्डबाट कामदारको उद्धार तथा मृत्त व्यक्तिको शव झिकाउन, सुरक्षित आवास गृह निर्माणलगायतका काम गर्न भनेर लगिएको रकमको समेत कतिपय दूतावासले हिसाबकिताब देखाउन सकेका छैनन्।वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड स्रोतका अनुसार सबैभन्दा धेरै बेरुजु साउदी अरबस्थित् दूतावासको छ। 

यो दूतावासको मात्रै दुई करोड ६५ लाख ५२ हजार चार सय ३४ रुपैयाँ बेरुजु छ। महालेखा परीक्षकको कार्यालयबाट बेरुजु फर्स्योट गराउनुपर्छ।कानुनी सहायता, शव ढुवानी तथा गाडी खरिद शीर्षकमा बोर्डले निकासा गरेको रकमको आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेपछि यो दूतावासको नाममा दुई करोड ६५ लाख रुपैयाँ बेरुजु फर्स्योट हुन बाँकी भएको हो।

बेरुजु धेरै हुनेमा दोस्रो नम्बरमा कतार परेको छ। स्रोतका अनुसार कतार दूतावासले खर्च गरेको कतिपय रकमको बिल तथा आवश्यक कागजपत्र पेस गर्न सकेको छैन। खर्चमा अनियमितता भएको आशंकामा बोर्डमा उपलब्ध भएका खर्चसम्बन्धी दूतावासको कागजपत्रसमेत अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

कतारले पनि मरेका कामदारको शव ढुवानी, गाडी खरिद, सुरक्षित गृह सञ्चालनलगायतका शीर्षकमा लिएको रकमको अहिलेसम्म हिसाब फस्र्योट गर्न सकेको छैन। अन्य शीर्षकमा खर्च भएको रकमको पनि वास्तविक हिसाबकिताब उपलब्ध नभएको बोर्डका अधिकारीले जानकारी दिएका छन्।

यसैगरी, बेरुजु धेरै हुने सूचीमा तेस्रो नम्बरमा रहेको मलेसियास्थित् दूतावासले कानुनी सहायता, शव झिकाउन तथा कामदारको उद्धार गर्न रकम लिएको हो। गाडी खरिद गर्न ३१ लाख रुपैयाँ लिएकामा यसको भने अधिकांश फर्स्योट भइसकेको बोर्डले जानकारी दिएको छ। 

यी बाहेक संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, कुबेत तथा इजिप्टस्थित् दूतावासका नाममा पनि कामदारको उद्धार, कानुनी सहायतालगायतका शीर्षकमा खर्च गर्न रकम निकासा भएको हो।साउदी अरब दूतावासको नाममा कानुनी सहायता शीर्षकमा निकासा भएको ३० लाख रुपैयाँ बेरुजु छ। 

यसैगरी, गाडी खरिदको ६० लाख र शव ढुवानी शीर्षकमा ६६ लाख रुपैयाँ बेरुजु रहेको बोर्डको अभिलेखमा छ।कतार दूतावासले सुरक्षित गृह सञ्चालन गर्न भनेर निकासा गरिएको २३ लाख, शव ढुवानीका लागि निकासा गरिएको सात लाख, गाडी खरिद गर्न उपलब्ध गराइएको २५ लाख तथा कामदारको कानुनी उपचार शीर्षकमा गएको ६ लाख रुपैयाँ बेरुजु छ। 

अर्को बेरुजु भएको मलेसिया दूतावासमा कानुनी सहायता शीर्षकमा निकासा भएको रकममध्ये १० लाख, शव ल्याउन दिइएको नौ लाख र कामदारको उद्धार शीर्षकमा गएको २२ लाख रुपैयाँ बेरुजु छ। आर्थिक वर्ष २०७० ७२ सम्मको मात्र लेखापरीक्षण भएको छ। गएको आवको महालेखाबाट परीक्षण गराउनै बाँकी छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका लेखा अधिकृत सुशील ढकालले कामदारसँग जोडिएका विभिन्न विषयमा उपलब्ध गराइएको रकमको खर्च भएको आवश्यक कागजपत्र र प्रमाण उपलब्ध नगराइँदा दूतावासहरूको बेरुजु बढ्दोक्रममा रहेको जानकारी दिए। 

वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारले एक हजार रुपैयाँ प्रवर्द्धन बोर्डअन्तर्गतको कल्याणकारी कोषमा जम्मा गर्नुपर्छ। यही रकमबाट बोर्डले दूतावासलाई आवश्यक रकम उपलब्ध गराएको हो।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय