भारत र वंगलादेशबाट २३ करोड भित्रियाउँदै धनकुटेलीहरु

धनकुटा, भदौ २०- बजारको सहज पहुँच, बारीसम्मै पुग्ने ढुवानी साधन, सामान्य परि श्रममा मनग्य उत्पादन, व्यापारिक क्षेत्रमा सोझो पहुँच र बिचौलियाको प्रभाव अन्त्य भएका कारण तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको छ। 

तरकारी खेतीबाट वर्षमा तीनपटकसम्म उत्पादन लिन सकिन्छ। यही भएर आलु, मकै, कोदो र भटमासजस्ता जनशक्ति र समय बढी खर्च हुने निर्वाहमुखी खाद्यान्न बाली लगाउन छाडेर किसान तरकारी खेतीतर्फ लागेका हुन्। विदेशमा समेत निकासी हुने भएपछि किसानको आकर्षण बन्दाकोभी खेतीमा झनै बढेको छ।

पकेट क्षेत्र मानिएका जिल्लाका उत्तरी चार गाविसबाट मात्र यो वर्ष एक लाख २० हजार किलो बन्दा निकासी हुने देखिएको कृषि सहकारीले जनाएका छन्। स्थानीय सहकारीमा बन्दा प्रतिकिलो आठदेखि १४ रुपैयाँसम्ममा बिक्री हुन थालेपछि यहाँका किसान आफ्नो बारी र अरूको जमिन भाडामा लिएर समेत बन्दाखेतीमा लागेका छन्।

जिल्लाका तरकारी उत्पादनको पकेट क्षेत्र भनिएका तांखुवा, परेवादिन, हात्तीखर्क, मारेककटहरे, डाँडाबजार, राजारानीलगायतका गाविस, पाख्रिबास र धनकुटा नगरपालिकामा गरी एक हजार सात सय ६० हेक्टरमा हिउँदे र वर्षे गरी वार्षिक ३८ हजार दुई सय ७० मेट्रिक टन बन्दा उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय धनकुटाका वरिष्ठ कृषि विकास अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए।

तरकारी उत्पादनमा पूर्वी पहाडमा अग्रणी स्थानमा रहेको यस जिल्लामा तरकारी उत्पादन हुने क्षेत्रका सबैभन्दा बढी बन्दको खेती हुने कृषि विकास कार्यालयको तथ्यांक छ। उत्पादित कुल तरकारीमध्ये बन्दाको हिस्सा २७ प्रतिशत छ। यसको ८० प्रतिशत जिल्लाबाहिर निकासी हुने गरेको छ।

धनकुटामा उत्पादित बन्दा काँकडभिट्टा र जोगवनी नाका हुँदै भारतीय र बंगलादेशका बजारसम्म पुग्छ। बन्दा बिक्रीबाट जिल्लामा वार्षिक २३ करोड रुपैयाँ भित्रिन्छ।

यहाँ उत्पादित बन्दा काँकडभिट्टा र जोगबेनी नाका हुँदै भारतीय र बंगलादेशका बजारसम्म पुग्ने व्यापारी बताउँछन्। बन्दा बिक्रीबाट जिल्लामा वार्षिक २३ करोड रुपैयाँ भित्रिने गरेको छ।

बर्खामा तराईमा बन्दा उत्पादन नहुने भएकाले वैशाखदेखि मंसिरसम्म तराईका बजारमा बन्दा बढी खपत हुने गरेको छ। वर्षाको समयमा तराईमा उत्पादन नहुने भएकाले भाउ पनि राम्रो पाउने किसानको भनाइ छ। 

हिउँद लागेपछि भने बन्दाको खपत घट्ने हुनाले किसानले मूला, गाँजर र मटरकोसा पनि लगाउँछन्। जिल्लाका उत्तरी गाविसमा हिउँदमा तुसारो पर्ने भए पनि बन्दा खेतीमा असर नपर्ने भएकाले किसान यसको खेतीमा आकर्षित भएको स्थानीयको भनाइ छ। 

क्वारेन्टाइनलगायतका समस्या खेपिरहेका किसानले यो समस्या कम भए बन्दा उत्पादन अझै बढ्ने बताएका छन्। तर पनि बन्दा निकासीमा अन्य तरकारीको तुलनामा समस्या कम भएकाले आकर्षण बढी देखिएको मूर्तिढुंगाका किसान चेतन कार्कीले बताए।

स्थानीय निकायले लगाउँदै आएको कृषि उपज निकासी कर घटाउन र निरोगिताको प्रमाणपत्र सहजै उपलब्ध हुने वातावरण मिलाइदिन किसानले आग्रह गरेका छन्।

अन्नपूर्ण पोष्टबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय