नर्स सडकमा

काठमाडौं, साउन ३२ श्रमशोषणमा परेको वर्षौंदेखि गुनासो गर्दै आएका नर्सहरू केही नलागेपछि पारि श्रमिकका लागि देशव्यापी रूपमा सडकमा उत्रिने भएका छन्। आवश्यक शिक्षा पूरा गरे अनुभव बटुल्दा पनि लामो समय स्वयंसेवक (भोलेन्टियर) का रूपमा काम गर्न बाध्य भएको, पारिश्रमिक पाइहाले पनि कामअनुसार नपाएको र त्यही पारिश्रमिक पनि नियमित नपाउने गरेको भन्दै नर्सहरू पहिलोपटक संगठित रूपमा सडकमा उत्रिन लागेका हुन्। उनीहरूको मागलाई समर्थन गर्दै एन्टी करप्सन मुभमेन्ट नामक संस्थाले नर्समाथि भइरहेको श्रमशोषणविरुद्धको अभियान विराटनगरबाट सुरु गरेको छ।   उक्त अभियान काठमाडौं, पोखरा, नेपालगन्ज, बुटवललगायत मुलुकका अन्य सहरहरूमा तीव्र पार्ने र त्यतिन्जेल सरकार गम्भीर नभए सडकमा उत्रने तयारी गरिरहेको संस्थाका अध्यक्ष पारुल क्षेत्रीले बताए। नर्सलाई भोलेन्टियरका रूपमा काम लगाउन नपाइने, मासिक न्यूनतम १८ हजार पारिश्रमिक हुनुपर्ने, नियुक्तिपत्र पाएपछि मात्रै काम लगाउन पाइने, समयअनुसार स्थायी व्यवस्था गर्नुपर्नेलगायत माग अघि सारेर आन्दोलनमा होमिन लागेको उनले बताए।   विराटनगरका अस्पताल तथा नर्सिङ होमले नर्समाथि श्रम शोषण गरेको भन्दै मुभमेन्टले केही महिनाअघि मुद्दासमेत दायर गरेको थियो। अस्पताल सञ्चालकहरू जतिसक्दो फाइदा मात्र खान खोजिरेहका छन् उनले भने, ‘तर दिनरात बिरामीको सेवामा खटिने नर्सलाई एक सुको पैसा दिइँदैन अनि कति दिन सहने त यस्तो शोषण ?   काठमाडौंको बानेश्वरस्थित एक अस्पतालमा कार्यरत एक सिनियर नर्सले वर्षौदेखि काम गर्दै आए पनि आफूहरूलाई अस्पतालले कार्यालय सहयोगी सरह पनि पारिश्रमिक नदिएको बताइन्। श्रमशोषणविरुद्धको अभियानमा हामी ज्यान दिएर लाग्नेछौं। यो मेरोमात्र समस्या होइन देशभरका अधिकांश नर्सलाई बिनापैसा काम लगाइएको छ, उनले भनिन्, कामअनुसारको तलब नपाउँदा नर्सहरूमा डिप्रेसनको समस्या देखिन थालेको छ। त्यही कारण उनीहरूको बिरामीसँग व्यवहारसमेत रूखो बन्न थालेको छ, यो समस्या तत्काल सम्बोधन हुनुपर्छ।   नेपालमा बर्सेनि औसत चार हजार नर्स उत्पादन हुने गरेका छन्, जसमध्ये प्रशिक्षित नर्सको संख्या ४० हजार नाघिसकेको छ। तथ्यांकअनुसार नेपाल नर्सिङ काउन्सिलमा ५२ हजार नर्स दर्ता छन् । सरकारी स्वास्थ्य संस्थाको दरबन्दीमा ६ हजार मात्रै कार्यरत छन्।   अहिलेसम्म सरकारी अस्पतालमा समेत नर्सले लामो समय भोलेन्टियरको रूपमा काम गर्न बाध्य भएको नर्सिङ एसोसिएसनका पूर्वअध्यक्ष प्रमिला देवानले बताइन्। सरकारी अस्पतालले समेत नर्सलाई धमाधम भोलेन्टियरका रूपमा काम लगाइरहेका छन्, देवानले भनिन्, निजी अस्पतालको हालत कस्तो होला भन्ने हामी सहजै अनुमान गर्न सक्छौं। यसको जिम्मेवार निकायबाट अध्ययन अनुगमनसमेत हुन सकेको छैन।   श्रम ऐनअनुसार भोलेन्टियरका रूपमा नर्सलाई काम लगाउन नपाइने भए पनि अस्पताल सञ्चालकले उनीहरूलाई पारि श्रमिक नै नदिई दैनिक आठदेखि १० घन्टासम्म काम लगाउने गरेका छन्। कामअनुसार तलब नपाएको भन्दै यसअघि एसोसिएसनले पनि आन्दोलन गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नर्सिङ सेवा शाखाका प्रमुख एसोसिएसनको संघर्ष समितिका पूर्वसदस्य ईश्वरी श्रेष्ठले नर्सका समस्या सम्बोधनको खाँचो रहेको बताइन्। ुहामीले पनि वर्षौंदेखि नर्सका समस्या सम्बोधनका लागि कोसिस गरिहरेका छौं। तर पनि ओझेलमा परिरेहको छ श्रेष्ठले भनिन्, नर्सहरू एकीकृत भएर समस्या समाधानका लागि आवाज उठाउन आवश्यक भइसकेको छ। अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय