बैदेशिक रोजगारीले बढायो सम्वन्ध विच्छेद

वीरगन्ज, साउन ३०- पर्सा भौराटारका लालबहादुर साह वैदेशिक रोजगारीका सिलसिलामा चार वर्षपहिले मलेसिया गए। तीन वर्ष मलेसियामा काम गरेर छुट्टीमा पोहोर साल घर फर्किएका उनले श्रीमती पूजाबाट पहिलेको जस्तो माया पाउन सकेनन्। जसोतसो एकडेढ महिनाको छुट्टी बिताएर उनी फेरि मलेसिया हानिए। दोस्रोपटक मलेसिया गएको ६ महिना बित्न नपाउँदै गत चैतमा उनी फेरि घर फर्कन बाध्य भए। सँगै जिउने सँगै मर्ने बाचा गरेकी श्रीमती गाउँकै पुरुषसँग लहसिएको खबर आफन्तले गरेपछि ६ महिनामै मलेसियाबाट काम छाडेर घर फर्किन बाध्य भएको लालबहादुर बताउँछन्। घर फर्किएपछि उनले श्रीमतीलाई सम्झाउनेबुझाउने प्रयास पनि गरे। तर उनकी श्रीमती उनीसँग बस्न मानिनन् । अन्ततः जिल्ला अदालतबाट दुवैले सम्बन्धविच्छेद गराए। पर्साको भेडियारीका नगेन्द्र ठाकुर र मसिहानीकी रीमादेवीबीच पनि बिहे भएको तीन वर्ष नपुग्दै सम्बन्धविच्छेद भएको छ। बिहे गरेको दुई महिनामा नगेन्द्र रोजगारीका लागि खाडी मुलुक कतार गएका थिए। कतारबाट घर फर्किंदा नगेन्द्रले श्रीमती रीमाको चालचलन ठीक देखेनन्। दुवैबीच मतभेद चर्किएपछि उनीहरूले पनि अदालतबाटै सम्बन्धविच्छेद गराए। पर्साकै बिन्धवासिनका कजिमन साह र रनिकादेवीबीचको वैवाहिक जीवनको यात्रा चार वर्ष पनि चल्न सकेन। जसका लागि कजिमन देश छाडेर मलेसिया गए, उनैले धोका दिइन्। मलेसियाबाट फर्किएपछि कजिमनले श्रीमती रनिकासँग सम्बन्धविच्छेद गर्नुपर्‍यो। वैदेशिक रोजगारीले श्रीमान् श्रीमतीबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पारेको उदाहरण मध्यतराईमा थुप्रै छन्। विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्धविच्छेदकै बिन्दुमा पुगेर टुंगिने गरेको छ। वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण मध्यतराईका पर्सा, बारा र रौतहटमा श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेदको घटनामा तीव्र वृद्धि भएको छ। पर्सा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्धविच्छेदका एक सय ३३ वटा मुद्दा दर्ता भए। त्यसमध्ये ९५ वटा मुद्दाको अदालतले फर्स्योट गरेको र बाँकी ३८ वटा मुद्दा फस्र्योट हुन बाँकी छ। आर्थिक वर्ष २०७०/०७१ मा भने सम्बन्धविच्छेदका ६० वटा मुद्दामात्र दर्ता भएका थिए। त्यसमध्ये ३५ वटा मुद्दाको अदालतले फस्र्योट गरेको र बाँकी ३८ वटा मुद्दा फर्स्‍योट हुन बाँकी रहेको पर्सा जिल्ला अदालतले जनाएको छ।आर्थिक वर्ष २०७०/०७१ को तुलनामा गत आर्थिक वर्ष २०७१/७२ मा सम्बन्धविच्छेदका मुद्दा दोब्बरभन्दा पनि बढीले दर्ता भएको अदालतका तहसिलदार शम्भु कुमार बस्नेतले बताए। यस्तै बारा जिल्ला अदालतमा पनि गत आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्धविच्छेदका ७० वटा मुद्दा दर्ता भएकोमा ६५ वटाको फस्र्योट भएको जानकारी श्रेस्तेदार रोशनकुमार भट्टराईले दिए। आर्थिक वर्ष २०७०/७१ मा भने ५६ वटा मुद्दा दर्ता भएकोमा ४४ वटा फस्र्योट भएको भट्टराईले बताए। यस्तै रौतहटमा पनि सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको छ। रौतहट जिल्ला अदालतमा आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्धविच्छेदका एक सय ६० वटा मुद्दा दर्ता भए। त्यसमध्ये ४८ वटा मुद्दाको अदालतले फस्र्योट गरेको र बाँकी १२ वटा मुद्दा फर्स्यौट हुन बाँकी छ। आर्थिक वर्ष २०७०/०७१ मा भने रौतहट जिल्ला आदालतमा सम्बन्धविच्छेदका ४६ वटामात्र मुद्दा दर्ता भएको जानकारी श्रेस्तेदार कुलप्रसाद भण्डारीले दिए। श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पर्सा जिल्ला अदालतका तहसिलदार बस्नेतले बताए। वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको उनले बताए।वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले पर्सामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको तहसिलदार बस्नेतको तर्क छ। यसका साथै मधेसमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको अधिवक्ता वीरेन्द्र यादवले बताए। मधेसमा सम्बन्धविच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगारी, बालविवाहका साथै घरेलु हिंसा पनि एक प्रमुख कारण होु, उनले भने, तर वैदेशिक रोजगारीका कारण बढी सम्बन्धविच्छेद भएको देखिन्छ। अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय