मेरो नाम राजेन्द्र राम हो । घर डुमरिया गाविसको चेतनगर विर्तामा पर्छ । मेरो घरको आर्थिक अवस्था ज्यादै कमजोर थियो । हाम्रो जग्गा जमिन नभएका कारण ज्याला मजदुरी नै आम्दानीको मुख्य श्रोत थियो । म पहिले साईकलमा हालेर दाउरा बेच्न जान्थें । त्यो काम साह्रै गाह्रो थियो । जंगलबाट ल्याएको दाउरा एकाविहानै साइकलमा हालेर बजार बजार चहार्नुपथ्र्यो । साह्रै सस्तोमा किन्न खोज्थे मान्छेहरु । आफूले त्यति मेहनत गरेर ल्याएको दाउरा सस्तोमा दिन पनि सकिन्नथ्यो । त्यसैले कहिलेकाहिं त दिनभरीजसो दाउरा लिएर बजार चहार्नुपथ्र्यो । भोकैप्यासै त्यसरी दिनभरी बजार फन्को मारिरहनु कम कष्टकर हुन्नथ्यो । त्यहि दाउरा बेचेर घरव्यवहार चलाउनु पर्ने हामी बजारमा केहि किनेर पनि खान सक्दैनथ्यौं । दाउरा बेच्ने कामबाट घरव्यवहार चलाउनै मुस्किल परेपछि म निर्माण मजदुरको रुपमा काम गर्न थालें । त्यो काम पनि सधैं पाइन्नथ्यो । कतिपय समयमा खालीहात नै बस्नुपथ्र्यो । काम भएको बखत दैनिक तीनसय ज्याला पाइन्थ्यो । त्यसैले त्यो कामको पनि विकल्प खोजिरहेको थिएँ । म परिवारको जेठो छोरो भएका कारण परिवारमा मेरो दायित्व बढी थियो । बुवाआमा बुढो भएका कारण विरामी परिरहने । उहाँहरुको उपचार गर्ने, परिवारको खाने खर्च जुटाउने सवै दायित्व मेरो थियो । मेरो कमाइले नपुगेर ऋण समेत लिइरहनु पर्दथ्यो । त्यसैले हाम्रो परिवार जहिले पनि ऋण कर्जामा हुन्थ्यो । दैनिक कमाई खानलाउनमै ठिक्क हुने भएका कारण विरामी पर्दा उपचारका लागि लिएको ऋण चुक्ता गर्न मलाइ हम्मे हम्मे परिरहन्थ्यो । त्यहि समयमा मेरो बुवा निक्कै विरामी पर्नुभयो । उहाँलाई लामोसमयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्यो । तर पनि हामीले उहाँलाई बचाउन सकेनौं । हाम्रो संस्कारमा मृत्युसंस्कारमा पनि निक्कै खर्च हुन्छ । त्यसैले मलाई रु. ८० हजार ऋण लाग्यो । म अलिक कमार्ई हुने कामको खोजिमा थिएँ । त्यहि अवस्थामा हाम्रो छिमेकी गाउँको एकजना सरले गाउँमै सुजमेकर को तालिम आउन लागेको खवर गर्नुभयो । उहाँले जुत्ता बनाउने तालिम लिएपछि हुने फाइदाका बारेमा राम्रोसँग बताउनुभयो र तालिम लिने भए त्यो निःशुल्क पाइने जानकारी दिनुभयो । मलाई उहाँको कुरा ठिक लाग्यो र तालिममा सहभागि हुने विचार गरें । मैले निक्कै मेहनतका साथ तालिम लिएँ । हामीलाई व्यवसायीक तालिम तथा परामर्श केन्द्र, जीतपुर बाराले तालिम दिएको हो । तालिम सकेपछि मैले आफैंले एउटा पसल सुरु गरें । सुरुमा त खासै आम्दानी भएन तर विस्तारै बढ्दै गयो । ग्राहक थपिंदै गए । मैले बनाएका जुत्ता ग्राहकले मन पराए । त्यसपछि सन्तपुरमा पनि पसल खोल्न मलाई त्यहाँका मान्छेले प्रोत्साहित गरे । मैले अर्को पसल पनि सुरु गरें । दुवै पसलको आम्दानी राम्रो हुँदै गएको छ । एउटा पसलबाट मासिक १५ देखि २० हजारको जुत्ता विक्रि हुन्छ । अर्कोबाट १० देखि १२ हजारको विक्रि हुन्छ । दुवै पसलको विक्रिबाट मलाई मासिक १५ हजार जति कमाइ हुन थालेको छ । यो मैले पहिले गरिरहेको काम भन्दा धेरै राम्रो काम र राम्रो आम्दानी हो । यो काम थालेपछि मलाई घर कसरी चलाउने होला भन्ने चिन्ता हराएको छ । कुनै महिना पनि पैसाका कारण समस्या परेको छैन । अव त मैले ऋण पनि लिनु पर्दैन । उल्टै यहि कमाईबाट मैले पहिलेको सवै ऋण चुक्ता गरिसकेको छु । दैनिक रुपमा बचत गर्ने बानी गरेको छु । त्यसले ऋण्ण तिर्न मलार्ई सजिलो भयो । यहि बीचमा मैले भाइको विवाह पनि गरिदिएँ । त्यसका लागि आवश्यक रकम मेरो यहि व्यवसायबाट लगाएको हुँ । अहिले भाइलाई पनि यहि काम सिकाएको छु । उसले अर्को पसल हेर्न थालेको छ । कामको कुनै ठेगान नभएको र आफ््नो भविष्य के होला भन्ने चिन्ता लागिरहेका बेला थाहा पाएको तालिमको अवशरले मलार्ई धेरै कुरा दिएको छ । सायद तालिम नलिएको भए म यतिबेला विदेश गइसकेको हुन्थें होला । अरु त कुनै उपाय नै थिएन । अहिले दिनमा एक देखि डेढसय बचत गरिरहेको छु । पैसा विस्तारै जम्मा हुँदै गएको छ । आफ्नो साथमा पैसा भएपछि त आँट पनि आउँदो रहेछ । विस्तारै पसल ठूलो पनि बनाउँदै छु । तर मेरो सपना त ठूलो छ । हिजो केहि नभएको मान्छे, अहिले यति भएको छ । यसले मेहनत गर्दा भोली अझ धेरै प्रगति हुन्छ भन्ने विश्वास बढ्दै गएको छ । विद्यालयहरु धेरै छन् । ति विद्यालयमा पढ्ने विद्यार्थीका लागि जुत्ताको खाँचो परिहाल्छ । त्यसैले भविष्यमा तिनै विद्यालयलाई लक्षित गरेर कारखाना खोल्न सकिन्छ की भन्ने योजना बनाएको छु । हेरौं त्यसमा कत्तिको सफल हुन्छु । हामी भन्छौं, गाउँमा काम छैन । तर त्यसो होइन रहेछ । हामीले काम देखेको छैन । यदि मैले पनि यो तालिम नलिएको भए म पनि त्यहि भन्थें । तर काम सिकेर गर्ने हो भनें गाउँमै पनि अवशर छ । मलाई कामको कुनै खाँचो छैन । त्यो त बढ्दै गएको छ । त्यसैले कुनै काम सिकेर गर्न थाल्ने हो भनें काम खोज्न कहिं जानै पर्दैन । एउटा कारखाना खोल्ने मेरो ठूलो धोको छ । त्यति गर्न सकें भनें मेरो जीवन अर्कै हुनेछ । अव म त्यसमै ध्यान लगाएर काम गर्छु । (देशपरदेशका लागि सुनिल न्यौपानेसँगको कुराकानीमा आधारित । राजेन्द्र राम रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था व्यवसाय तालिम विकास तथा परामर्श केन्द्र, जीतपुर बारा ले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=xQuSDubaoU8&feature=youtu.be
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1