
वीरगञ्ज, असार २५- हुन त उनलाई सानै देखि कुनै न कुनै प्राविधिक सीप सिक्ने रहर थियो । तर कमजोर आर्थिक अवस्था र परिवारको जेठो छोरोको दायित्व पुरा गर्न उनी कमाउन विदेशिए । गाउँका अरु साथिहरु जस्तै पर्साको एउटा गाउँ सुगौली विर्ताका अवधेशकुमार पटेल पनि विद्यालयस्तरको पढाई सकेपछि हान्निए कतार । कतारमा उनी चार बर्ष बसे । काम निक्कै कडा थियो । त्यहाँ उनले आफ्नो नियमित कामसँगै बाहिरको पनि केहि काम गरेर थोरै पैसा जम्मा पारे । मनमा नेपालमै केहि गर्छु भन्ने हुटहुटीले छोडेको थिएन । त्यसैले उनी नेपाल फर्के । अव साथमा दुईचार पैसा पनि थियो । नेपाल फर्केपछि के गर्ने त ? उनले विचार गरे एसि, फ्रिजको मेकानिक्स हुने । चिनजानका एकजना मान्छे वीरगञ्जमा एसि, फ्रिज मर्मत गर्ने काम गरेर बसेका थिए । उनी तिनै मान्छेको पछि लागे गुरुजी, गुरुजी भन्दै । तर उनले मानेका गुरुजीले उनलाई सिकाउन खासै चासो दिएनन् । “म कतारबाट दुईचार पैसा कमाएर फर्केको भएर होला उहाँले म काम गर्छुु भनेर पत्याउनु नै भएन” अवधेश भन्छन् । त्यहि क्रममा उनले स्थानीय एउटा रेडियोबाट विज्ञापन सुने एसि, फ्रिज सम्वन्धि निःशुल्क तालिमको । उनलाई ढुँगो खोज्दा देउता मिलेजस्तै भयो । विज्ञापनमा भनेको ठेगाना पछ्याउँदै उनी पुगे तालिम दिने संस्थाको कार्यालयमा । राम्रोसँग कुरा बुझे, तालिम सकेपछि ८ हजार बरावरको सामग्री निःशुल्क पाइने कुराले उनलाई थप उर्जा दियो । तालिम सकेपछि उनले एउटा पसलमा थप एकबर्ष काम गरे । मैले दुईचार पैसा कमाउन होइन, कुुन कामको कति पैसा लिनु पर्छ, कसरी ग्राहक बनाउनु पर्छ भनेर सिक्न मैले त्यो काम गरेको थिएँ उनी भन्छन् । तीन महिनाको तालिम र एक बर्षसम्म सिकेको कामले उनलाई परिवक्व बनायो र आफ्नै पसल खोल्ने आँट दियो । सुरुमा मैले आदर्शनगरमा एउटा सानो पसल खोले पसल सुरु गर्दाका दिन सम्झिंदै अवधेशले भने केहि लगानी नगरी व्यवसाय चल्दैन भन्ने बुझेपछि मैले झण्डै ३–४ लाख लगानी गरेर काम थालें । अहिले उनीसाग काम गर्न अरु पाँचजना युवा छन् । औद्योगिक कलकारखानाहरु धेरै भएकाले तथा गर्मी ठाउँ भएकाले घरायसी प्रयोजनमा पनि एसि, फ्रिजको धेरै प्रयोग हुने भएकाले कामको खाँचो छैन अवधेशलाई ।
निरन्तर काम पाएपछि कमाईको चिन्ता छैन । उनी भन्छन् दुईतीन बर्षयता मेरो जीवनमा ठूलै परिवर्तन आएको छ । त्यो परिवर्तन के हो त ? उनी भन्छन् “पहिले साइकलमा हिंड्थें अहिले मोटरसाईकल छ । पहिले ५–६ हजारको जागिर पाए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो अहिले आफैंले पाँचजनालाई रोजगारी दिएको छु । सवै खर्च कटाएर महिनामा ६०–७० हजार मासिक कमाई हुन्छ । अनी घर पनि बनाएको छु । यो प्रगति होइन त ?” महिनामा साढेतीन देखि ४ लाखको कारोवार हुन्छ । आफूसँग काम गर्नेहरुलाई मासिक ६ हजारदेखि १० हजारसम्म तलव दिएका छन् । सँगै काम गर्ने सवैलाई खाजाको प्रवन्ध गरिदिएका छन् । विगत र वर्तमानलाई तुलना गरेर हेर्दा कहिलेकाहिं उनलार्ई आफ्नै जीवनदेख्दा अचम्म लाग्छ रे । “म त गाउँको मान्छे, दिनमा दुईसय कसरी कमाउने भन्ने सधैं चिन्ता लागिरहन्थ्यो । कमाई नभएपछि डर पनि बढी हुने रै’छ । तर अहिले त कमाई पनि राम्रो छ । त्यसैले बर्षदिन भित्रमा अव वीरगञ्जमा शोरुम खोल्ने योजनामा छु” उनी भविष्यको योजना बुन्दैछन् । कामले अरु धेरैकुरा सिकाउँदैछ । एसि, फ्रिज मेकानिक्सको काम गरेपछि उनले थाहा पाए वीरगञ्ज र आसपासमा एसि,फ्रिज बनाउने ईञ्जिनियर कोहि छैैनन् । ठूलै समस्या आइपरेमा काठमाडौंबाट ईञ्जिनियर बोलाउनु पर्दछ । त्यसैले उनले आफ्नोे भाइलाई एसि, फ्रिजको ईञ्जिनियर बनाउने योजना बनाएका छन् । त्यसका लागि भारतकोे बैंगलोरमा उनले खोजीनीति गरिसकेका छन् । “तीन बर्षको भारु ६ लाखमा पढाई सकिन्छ, त्यसैले मैले भाइलाई त्यहाँ पठाउने तारतम्य मिलाउँदैछु” उनी भन्छन् “बर्षमा ७–८ लाख कमाई भइरहेकाले भाइलाई पढाउन मलाई उति मुस्किल छैन ।”
वीरगञ्जमा आफ्नै पसलमा बसेर कुरा गरिरहँदा उनी बेलाबेलामा कतारका कुरा पनि सम्झिंदै थिए । त्यहाँ गरेको दुःख, त्यहाँ भएको कमाई सम्झिंदै गर्र्दा उनले त्यहाँ सिकेको कुरा पनि सम्झिए । “विदेशले मलाई समयको महत्व सिकायो । मैले कतारमा बस्दा समयको महत्व बुझें । त्यहाँ कम्पनीमा ७ बजे काममा पुग्नुपर्नेछ भनें ७ बजे नै पुग्नै पर्छ । एक मिनेट ढिलो भयो भनें गयल भइन्छ । त्यसैले समयको कति प्राथमिकता रहेछ भन्ने मैले त्यहाँ बस्दा राम्रोसँग सिकें ।” तालिम नलिएको भए ? उनीसँग प्रष्ट जवाफ छ “म न यस्तो अवशर पाउँथे, न यो प्रगति नै सम्भव हुन्थ्यो । सायद विहान ९ बजे गाउँबाट वीरगञ्जमा कुनै काममा आउँथें होला र बेलुका ५ बजे घर फर्किन्थें होला । फुर्सदको समयमा गाउँमा गफ गरेर दिन विताउँथे होला ।” अनी अहिले ? “अहिले त साह्रै व्यस्त छु । भएका ग्राहकको नियमित काम र नयाँ ग्राहक थप्ने कामले नै फुर्सद हुँदैन” कुराकानीकै क्रममा ग्राहकको फोन उठाउँदै, कामदारलाई काम समेत अह्राइरहेका अवधेशले भने । -सुनिल न्यौपाने, वीरगञ्जबाट फर्केर (अवधेश पटेल रोजगार कोषअन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था क्रिएटिभ स्कील्स प्राली, पर्साले सहयोग गरेको हो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को जुन अन्त्यसम्ममा रोजगार कोषले करिव एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xwXSAwAou_0″ frameborder=”0″ allowfullscreen></iframe>
{/source}