दलाल गाउँ पसेका छन्, होसियार

काठमाडौ, श्रावण २-  महाभूकम्पलगत्तै अमेरिकाले नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)’ घोषणा गर्‍यो । सन् २०१६ डिसेम्बरसम्म लागू हुने टीपीएस यस्तो सुविधा हो, भिसाबिनै पुगेका वा बसेका नेपालीले श्रम इजाजत पाउनेछन् । उनीहरूलाई स्थायी बसोबास (ग्रिन कार्ड) को आवेदन दिन मौकासमेत दिइनेछ । यसैलाई भजाउँदै ‘अमेरिका लगिदिन्छु’ भनेर कुनै दलालले तपाईंसँग पैसा झारिसकेको त छैन नि ? छैन भने, ठीकै छ । नत्र सावधान रहनुहोस्, यो धन्दा मौलाइसकेको छ । ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा यो साता मात्र तीन जना नेपाली पुर्‍याइए । त्यहीं घरजमसहित व्यवसाय गर्दै आएका सिन्धुलीका छत्रबहादुर मैनालीका अनुसार राजधानी बोगोटाको रियल स्टार होटलमा उनीहरूलाई राखिएको थियो । उनीहरू बाँके, दाङ र रूपन्देहीका हुन् । बैंककबाट मलेसिया, त्यहाँबाट दुबई हुँदै अलमल्याइँदै ल्याइएका उनीहरूसँग ब्राजिल र क्युवासम्मको भिसा छ । ‘उनीहरूले एजेन्टको नामचाहिँ भन्न मानेनन्,’ मैनालीले टेलिफोनमा सुनाए, ‘तर, त्यही व्यक्तिले थप २५ जनालाई लैजान काठमाडौंमा पैसा उठाइसकेको र सय जनाका लागि अन्तर्वार्ता लिइरहेको बताए ।’ उनीहरू एजेन्टलाई ३० लाख रुपैयाँका दरले तिरेर उडेका थिए । त्यो समूह बिहीबार पैदलमार्गबाट अमेरिकातर्फ लागेको छ । उनका अनुसार महाभूकम्पपछि कोलम्बिया हुँदै सयभन्दा बढी नेपाली पार भइसकेका छन् । ‘एकै दिन १८ जना आएका थिए,’ उनले भने, ‘नेपालीको चहलपहल निकै बढेको छ ।’ अवैध रूपमा अमेरिका छिर्ने पछिल्लोपल्ट प्रचलित उक्त रुटलाई नेपाली, भारतीय, चिनियाँ, पाकिस्तानी, बंगाली, भुटानीलगायत एसियाली मात्र होइन, अफ्रिकी र मध्यपूर्वका धेरै मुलुकका बासिन्दाले प्रयोग गर्छन् । ‘नेपाली थोरै मात्रामा जान्थे,’ उनले भने, ‘एक, दुई महिनायता सबैभन्दा बढी नेपाली गएको देखिन्छ । दलालले मिलाएर लैजानुपर्ने भएकाले अमेरिका जान हिँडेका व्यक्तिहरू कम्तीमा एक सातादेखि केही महिनासम्म बोगोटामा अडकिन्छन् । रेस्टुराँ चलाएर बसेका मैनालीसँग प्रायः नेपालीको भेट हुन्छ । अध्यागमन विभागलाई भने यस्तो तस्करी नियन्त्रण गर्न हम्मे परिरहेको छ । ‘दक्षिण अमेरिकी अधिकांश मुलुकमा अनअराइभल भिसा छ । त्यही सुविधा उपयोग गर्दै दलालले तस्करी बढाइरहेका छन्’, विभागका महानिर्देशक केदार न्यौपानेले भने, ‘शंका लागे सकेसम्म रोक्ने गरिएको छ । तर, तिनै व्यक्ति भारत गएर उड्छन् ।’ दलाल गाउँ–गाउँमा ‘यो देशमा बस्नै गाह्रो भयो,’ भूकम्पपछिको परिस्थितिलाई इंगित गर्दै केही दिनअघि धादिङका एक शिक्षकले भने, ‘म पनि अमेरिका पो जाँदैछु ।’ कसरी भन्ने प्रश्नमा उनले एउटा एजेन्टलाई ५ लाख रुपैयाँ बुझाइसकेको रहस्य खोले । ‘अहिले गयो भने ग्रिनकार्ड र काम दुवै पाउन सजिलो छ रे,’ उनले दलालले सबैतिर प्रयोग गर्ने भाषा बोले, ‘त्यही भएर छिट्टै जान खोज्दैछु ।’ नाम नखुलाइदिन आग्रह गर्दै उनले भने, ‘कागज आएपछि १५ लाख थप्नुपर्छ भनेको छ । अमेरिका छिरेपछि १० लाख गरेर ३० लाख दिने सर्त छ ।’ हेल्भेटासको सुरक्षित आप्रवासन परियोजना धादिङ संयोजक कमल रोकायाले ‘अमेरिका लैजाने धन्दा’ सबैभन्दा ठूलो चुनौती बनेको बताए । ‘अमेरिकाले नेपालीलाई टीपीएस घोषणा गरेपछि गाउँ–गाउँमा दलाल पुगेका छन्,’ उनले भने, ‘तिनले धेरैसँग पैसा उठाउन थालेको खबर पाइएको छ । तर, काम बिग्रिन्छ भनेर कसैले भन्दैन ।’ एक अध्ययनअनुसार अमेरिका लैजान्छु भन्ने ६० प्रतिशतभन्दा बढी ठग हुन्छन् । बेइमानी नगरी लैजान चाहनेमध्ये ६० प्रतिशत असफल हुन्छन् । ‘सबै पारा मिलेर थोरै मात्र पुग्न सक्छन्,’ एक विज्ञले भने, ‘त्यसरी पुगेका व्यक्तिको उदाहरण दिएर, अझ विश्वस्त पार्न ऊसँग फोनमै कुरा गराएर त्यो एजेन्टले फेरि सयौंलाई ठग्न भ्याउँछ ।’ कतिको बाटैमा ज्यान जान्छ सम्पूर्ण खर्च जोड्दा करिब ५० लाख रुपैयाँ तिरेर जाने अमेरिका पुग्न सोचेजस्तो सजिलो छैन । अवैध रूपमा छिर्न चाहनेलाई लैजानेले सुरुमा ब्राजिल पुर्‍याउँछन् । त्यहाँबाट इक्वेडर, कोलम्बिया, पानामा, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको भएर अमेरिका छिराउँछन् । मैनालीका अनुसार सबैभन्दा गाह्रो कोलम्बिया र मेक्सिको कटाउन हुन्छ । ‘ब्राजिल कटेपछि दलालले पासपोर्ट फालेर कागजविहीन पार्न लाउँछन्,’ उनले भने, ‘कोलम्बियाको अध्यागमनमा समातिएपछि अनुसन्धान सुरु हुन्छ । झन्झट लिनुभन्दा यहाँको सरकारले देश छाड्न आदेश दिन्छ । उनीहरूले खोज्ने पनि त्यही हो ।’ मैनालीका अनुसार भाषाको समस्याका कारण बयान लिन उस्तै गाह्रो पर्छ । ‘अध्यागमनका कर्मचारीले आग्रह गरेर नेपाली र भारतीयलाई मैले धेरैपल्ट बयान लिन सघाएको छु,’ उनले भने, ‘बयान प्रक्रिया मात्र हो । तर, कोही पनि यहाँ रोकिँदैनन् ।’ त्यही रुटबाट गएर अमेरिकामा काम गरिरहेका एक नेपालीका आनुसार कोलम्बियाबाट पानामा छिर्ने बेला अध्यागमन छल्दै एजेन्टले डुंगाबाट लैजान्छन् । ‘देशैपिच्छे एजेन्ट फेरिँदै जान्छन् । जंगलैजंगल धेरै हिँड्नुपर्छ । मेक्सिकोभन्दा पहिला आउने देशहरूमा प्रायः ट्रकमा हालेर लैजान्छन् । ट्रकलाई पालले बेर्छन् । सामानजस्तै लुकाएर लैजान्छन् । सबैतिर सेटिङ भएकाले कहीं कसैले रोक्दैन ।’ जंगलमा सर्पले डसेर, डुंगा पल्टिएर, बिरामी छ भने धपेडी भएरजस्ता कारणले बाटामै धेरैको मृत्यु हुने गर्छ । कसैको हत्या हुन्छ । कोही लुटिन्छन् । ‘यही साता डुंगा पल्टिएर १० जना भारतीयको मृत्यु भएको छ,’ मैनालीले भने, ‘तीन महिनाअघि मेडेजिन सहरमा भारतकै एक एजेन्टको हत्या भएको थियो । हरेक वर्ष सयको हाराहारीमा बेवारिसे लास भेटिन्छन् । साथमा कुनै प्रमाण नभएकाले कुन देशको भनेर अनुहारका भरमा अनुमान गर्नुपर्छ । तिनीहरूमा केही नेपाली भएको अनुमान छ ।’ मेक्सिको पार गर्न उस्तै समस्या छ । ‘मरुभूमि वा जंगलैजंगल केही दिन हिँडेपछि सैनिककहाँ आत्मसमर्पण गर्नुपर्छ,’ अमेरिका बस्ने ती नेपालीले भने, ‘बल्ल वकिल लाएर बस्ने पारा मिल्न थाल्छ ।’ कान्तिपुरबाट यो पनि पढ्नुहोस् हातमा सीप, साथमा पैसा(भिडियो सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय