मलेसियामा खुट्टा गुमाए, नेपालमा लड्यो घर

मलेसिया, असार २१- गोरखा पान्द्रुङका कृष्ण पुडासैनीलाई मलेसियाको रोजगारीले पीडामाथि पीडा थपेको छ । रोजगारीबाट कमाइ गरेर सुखी जीवन बिताउने सपनामा मलेसिया आएका उनी अहिले कठिन अवस्थामा बाँचिरहेका छन् । सडक दुर्घटनामा परी खुट्टा गुमाउनु परेपछि पुडासैनी घर न घाटको जीवन बिताउन वाध्य छन् । रोजगारीका लागि अढाइ वर्ष अघि मलेसिया आएका उनले दुर्घटनाको कल्पनासमेत गरेका थिएनन् । दुई महिनाभन्दा बढी अस्पताल बसेका उनी पछिल्लो समय कम्पनीले उपलब्ध गराएको होस्टेलमा आइपुगेका छन् । ‘खुट्टा गुमाएपछि निक्कै पीडा भएको छ ’उनले भने, ‘यस्तो दिन पनि आउँछ भन्ने सोचेको थिइन ।’ कृष्णले यता मलेसियामा खुट्टा गुमाएका छन् भने गत वैशाख १२ को भूकम्पले गोरखामा उनको घर ध्वस्त भएको छ । भूकम्पले घर भत्काएपछि उनको परिवार अस्थायी टहरामा ओत लागेको छ । मलेसियामा अढाइ वर्षसम्म कमाएको पैसाले बनाएको घर भत्किएको खबर सुन्दा काटिएको घाउभन्दा बढी पीडा उनलाई भएको छ । मलेसियाको सेम्बिलानस्थित सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत उनी अप्रिल १६ मा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परेर घाइते भएका उनको उपचारमा खटिएका चिकित्सकले खुट्टा काटेर फ्याँक्नुपर्ने नत्र पछि शरीरमा समस्या हुने बताएपछि उनी त्यसका लागि राजी भए । तर, अहिले काटिएको खुट्टा निको नहुँदा समस्या थपिएको छ । मलेसियामा उनलाई दाइले हेरचार गरिरहेका छन। काममै रहेको बेला नजिकैको चिनियाँ होटेलबाट खाना किनेर कार्यस्थलमा फर्कंदा उनी दुर्घटनामा परेका थिए । एउटा मालबाहक मिनी ट्रकले उनलाई ठक्कर दिएको थियो । गाडीको ठक्करपछि वेहोस भएका उनी होसमा आउँंदा अस्पतालको बेडमा थिए । होस आउँदा उनी बोल्न सक्ने अवस्थामा थिएनन् । उनी भन्छन, ‘म होसमा आउँदा पूरै शरीर ब्यान्डेजै ब्यान्डेजले सेताम्मे थियो ।’ अस्पताल भर्ना भएको १५ दिनपछि खुट्टा गुमाएका उनको तत्काल केही पीडा त कम भयो तर मनको पीडा भने झन बढ्न थाल्यो । आफू कार्यरत कम्पनीले उपचारका लागि वास्ता नगरेपछि नेपाली दूतवाससम्म नै खबर गर्नुपर्‍यो । कम्पनीले अस्पतालमा बुझाउने रकम नदिएका कारण नै अस्पतालले औषधि दिनसम्म बन्द गर्‍यो । त्यो बेला उनलाई विदेशमै मर्छु कि जस्तो पनि भयो । उनी कार्यरत कम्पनीलाई दूतवासले दबाब दिएपछि तत्काल समस्या समाधान भयो । उनी हाल कार्यरत कम्पनी म्याग्नुस फोर्स भए पनि कानुनी रूपमा उनी लियो फोर्स कम्पनीका कामदार हुन् । मलेसियामा एउटा कम्पनीको काममा अर्काको भिसा लगाएर काम गराउने प्रचलन छ । ‘बल्ल अहिले केही आरामको सास फेर्न थालेको छु, अस्पातालबाट डिस्चार्ज भएर होस्टल फर्केपछि कम्तीमा चिकित्सक र नर्सको कचकचबाट मुक्त भएको छु’ उनले भने । उनले आफूलाई विदेशी भन्दै चिकित्सक र कर्मचारीले पनि राम्रो व्यवहार नगरेको गुनासो गरे । अस्पतालमा नै रहँदा नेपालमा गएको भूकम्पले थप पीडा दियो पुडासैनीलाई । भएको घर पनि भत्किएर छोराछोरी पालमा बसेको खबरले थप पीडित बनायो । घरमा भएकी १४ र १० वर्षका छोरा र छोरीको भविष्य कसरी बनाउने हो त्यसको चिन्ता त छँदैछ, मलेसियाबाट अपाङ भएर घर फर्किएपछिको अन्धकार अवस्थाको त उनी कल्पना पनि गर्न सकिरहेका छैनन् । कामकै क्रममा दुर्घटनामा पर्ने कामदारलाई यहाँको सरकारी नियमअनुसार बिमाको रकम दिनुपर्छ । कम्पनीले अहिले उपचारमा सहयोग गरे पनि बिमाका लागि कुनै चासो दिएको छैन । बिमा पाइने हो कि होइन त्यस विषयमा पनि अन्योल छ । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् तपाई जालीझेलीको पक्षमा की निमुखा कामदारको ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय