
धादिङ, असार १७- नीलकण्ठ ८ मगर गाउँकी सावित्री मगरको मोवाइलमा दिनँहुजसो विदेशको नम्वरबाट फोन आउँछ । दुई वर्ष अघिदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा बन्धक रहेकी छोरी सुनिताबारे केही नयाँ खवर आयो कि भनेर उनी हतार हतार फोन उठाउँछिन । यताबाट हेलो भन्न नपाइ उतैबाट रुँदै गरेकी सुनिता मगर बोल्छिन, ‘आमा मलाई अब यहाँ मारेर फाल्दिने भइसके, तिमीले छिटो नेपाल झिकाएनौ भने छोरी जिउँदो भेट्ने छैनौ ।’ दिनहुँ विहानीपख छोरीले फोन गरेर छिटो नेपाल झिकाउन रुने गरेको सुनाउँदै सावित्री मगर भन्छिन, ‘दलाले त्यस्तो ठाउँमा पुर्याइदिएछ । मलार्इ छिटो झिकाउ मात्रै भन्छे मैले कहाँ के गर्नु ? आफ्ना २ बालबच्चाको लालन–पालनका लागि बैदेशिक रोजगारमा गएकी सुनितालार्इ दलालले सिरिया पुर्याएर अलपत्र पारेपछि उनको विचल्ली भएको हो । श्रम अनुमति नै नभएको सिरियामा दलालमार्फत पुगेकी सुनिता त्यहाँ पुगेपछि मात्रै आफु ठगिएको थाहा पाएकी थिइन् । दलालले उनलार्इ त्यहाँको एक घरमा सिरियाकै एजेन्टमार्फत काम लगाई दिएर उनको पारिश्रमिक एकमुष्ट ५ हजार डलर लगेको थाहा पाएपछि आफु ठगिएको थाहा पाइन् । विदेश जाँदा पैसा नलाग्ने भन्दै पोखराका राजु ढुङ्गानाको विश्वासमा पर्दा आफु सिरियामा अलपत्र परेको उनले बताएकी छन् । टेलिफोनमा निकै भावुक हुँदै भनिन्, ‘मलाइ सुरुमा पैसा लाग्दैन भन्यो, चिनेको मान्छे भएकाले विश्वास गरेँ । तर मेरो तलब त उसले पहिल्यै लगेको रहेछ ।’ एजेन्टले काममा लगाइदिएको घरमा सुरुमा राम्रै भएपनि तलब माग्दा पहिल्यै लगेको भनी साहुले दिनहुँ पिट्ने, खान नदिने र फोनमा कुरा गर्न नदिँदा अहिले भागेर त्यही काममा लगाइदिने एजेन्टकहाँर बसिरहेको सुनिताले बताइन् । ‘मलाइ यहाँ ल्याउनेले सुरुमै ५ हजार डलर लिएर गएछ । मैले २ वर्ष काम गरेको २ हजार डलर काटिएपनि बाँकी ३ हजार डलर दिएमात्र पासपोर्ट फिर्ता दिने भनेकाले मैले केही गर्न सकिन ।’ निराश हुदै सुनिताले भनिन, ‘काम लगाइदिने एजेन्टले पनि अन्यत्र काम गर्न जा भनेर सधैं दबाब मात्रै दिन्छ । म काम गर्दिनँ, मलाइ नेपाल पठाइदिनुस् भन्दा पहिला साहुको पैसा तिर भन्छ । सायद अब बाँचेर नेपाल फर्कुलाँ जस्तो लागेको छैन ।’ मैदी गाउँ विकास समिति १ घर भएकी सुनिता सिरियामा अलपत्र परेपछि यता उनको माइती परिवार पनि तनावमा छ । घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले पतिसंँग छुट्टिएर बसेकी सुनिता आफ्ना २ बालबच्चाको पालनपोषणका लागि विदेश गएकी थिइन् । २ नाबालक छोराछोरी जिम्मा लगाएर गएकी सुनिता उतै अलपत्र परेको खबर आएको छ । नातिनीले सधैँ आमा खोज्छेु, आमा सावित्री मगर भन्छिन्, सुनिताले पनि मलाइ चाँडै नेपाल झिकाउ आमा, ढिलो भयो भने तिम्रो छोरी जिउँदो आउदिन भनेर दिनहुँ रुदै फोन गर्छे । म बुढी कहाँ गरेर के गरौँ बाबु ।’ उनलार्इ सिरिया पुर्याउने राजु ढुङगानाबारे केही थाहा नपाए पनि अहिले ढुङ्गाना भारतमा लुकेर बसेको हुनसक्ने सुनिताले बताइन् । सुनिता भन्छिन, ‘मलाइ जस्तै त्यसले सयौँ अरु युवतीलार्इ पनि यहाँ फसाएको छ । त्यही भएर यहाँको एजेन्ट पनि उसको बारेमा केही भन्दैन ।’ सुनिता सिरियामा बन्धक रहेको विषयमा समाचार प्रकाशित भएपछि फिनल्याण्डमा रहेका धादिङ मैदीका बालकृष्ण श्रेष्ठले पनि सुनिताको शकुशल उद्धारको लागि पहल गर्दै आएका छन् । ‘सुरुमा टिकट भाडा उपलब्ध भएमा नेपाल फर्किन सक्ने बताएकाले एनआरएन फिनल्याण्डको सहयोगमा टिकट भाडा ८ सय डलर सुनितालार्इ पठाएका थियौँ अहिले त साहुलार्इ ३ हजार डलर नतिरी पासपोर्ट फिर्ता दिएन भन्ने खवर आयो’, एनआरएन फिनल्याण्डका कार्यबाहक अध्यक्ष बालकृष्ण श्रेष्ठले टेलिफोनमा भने, फिनल्याण्डमा रहेका नेपालीसँग संकलन गरेर ८ सय डलर जुटाएर पठाएपपनि पछि साहुलाइ तिर्न ३ हजार डलर आवश्यक भएकले समस्या भयो । छोरी सुनिताको सकुसल उद्धारका लागि सावित्रीले धादिङवेशीमा रहेको सुरक्षित आप्रवासन परियोजनामा पनि निवेदन दिएकी छिन् । विदेशमा फसेका नेपालीहरुको उद्धार र सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना कार्यक्रम गर्दे आएको सामी परियोजनाका धादिङ संयोजक कमल रोकायले भने, ‘हामीले सिरिया हेर्ने इजिप्ट स्थित नेपाली दुतावासमा पनि सुनिताको उद्धारको लागि पत्राचार गरेका थियौँ तर त्यहाँको दुताबासले कुनै चासो नै देखाएन ।’ सुनिता विदेश जाँदा केही पनि कागजपत्र घरमा नछोडेको र उनलार्इ विदेश पठाउने दलाल पनि फेला नपर्दा उनको उद्धारमा कठिनाइ भएको रोकायले बताए । अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् चुलो चौकोबाट सेतो एप्रोनमा चिटिक्क !