डिल्लिराज थारुको पुस्तैनी थातथलो हो बर्दिया। परिवार निम्न आयस्ता हुने थियो । त्यसैले पढाइ लेखाईको कुरामा भन्दा आम्दानी हुने काममै प्राथमिकता थियो परिवारको । कक्षा ८ पुगेपछि उनले पढाई छोड्नुपर्यो । आफ्नै जग्गा १० कठ्ठा थियो, जसको उव्जनीले बर्षदिन परिवारलाई हातमुख जोड्न पुग्दैनथ्यो । त्यसैले उनी कमाउन भारत पसे । भारतको हरियाणा पुगेर उनले चार महिना त्यहाँको एक कत्था फ्याक्ट्रीमा काम गरे । दैनिक ज्याला थियो भारु १ सय । खानसमेत त्यहि ज्यालाबाट पुर्याउनु पथ्र्यो । त्यसैले उनले त्यहाँ पनि खासै कमाई हुने देखेनन् । चार महिना पछि भारु ५ हजार बोकेर उनी नेपाल फर्किए । नेपाल आएपछि पनि काम गरिखाने उपाय थिएन । त्यसैले उनी स्थानीय फर्निचर उद्योगमा सहयोगीको काम गर्न पुगे । त्यहि अवस्थामा उनले गाउँमै फर्निचर बनाउने निःशुल्क तालिम खुलेको थाहा पाए । स्थानीय कोहलपुर इन्स्टिच्यूट अफ टेक्नोलोजी(काइट)ले हेल्भेटास नेपालको रोजगार कोषको सचिवालयको सहयोेगमा तालिम चलाउँदै थियो । डिल्लीराज सोही तालिममा सहभागि भए । लेभल १ को तालिम सकेपछि उनले काम अझ सिक्न झण्डै चार बर्ष अरुकै फर्निचर उद्योगमा काम गरे । सो क्रममा उनी नेपालगञ्जदेखि नारायणगढ र काठमाडौंसम्म पुगे । काममा अझ निखार आउँदै गयो । लेभल २ को तालिम खुल्यो । त्यसमा पनि सहभागि भएपछि भनें उनले आफ्नै फर्निचर उद्योग खोल्ने योजना बुने । तालिम दिने संस्था काइटले ८ हजार बरावरको सामग्री पनि दियो । उनले झण्डै ४० हजार ऋण गरेर आफ्नै उद्योग सुरु गरे बर्दियाको पदनाहामा ‘कुशल ग्लास हाउस’ । पहिले दुईचार पैसा कसरी कमाउने भनेर भौतारिइरहेका डिल्लिराजका लागि अहिले गाउँमै काम छ । उनी मासिक २५ हजारको हाराहारी आम्दानी गर्छन् । यसले उनको ६ जनाको परिवार मज्जाले पालिएको छ । दैनिक दुई सयको बचतले झण्डै ५० हजार सञ्चय भएको छ । डेढ लाख पुर्याएर उनी नयाँ घर बनाउने सपना देख्दैछन् । सीपले आम्दानी दिएकोे छ र आत्मविश्वास पनि बढाएको छ । उनी भन्छन् “हातमा सीप नहुँदा भारत जानु पर्छ । मैले त तालिम लिए, अव फर्निचर बनाउन जान्ने भएँ । सक्षम भएको छु । म मेरो सीपकै भरमा बाँच्छु । अव म भारत जान्न ।” यदि यो सीप नसिकेको भए उनको जीवन के हुन्थ्यो होला त ? “सायद भारतको कुनै कुनामा हुन्थें होला । त्यो भन्दा मेरो अरु विकल्प थिएन” डिल्लिराज भन्छन् । हाल देशमा बेरोजगारी धेरै छ । स्वदेशमा रोजगारीका अवशर कम भएका कारण दैनिक सरदर १५ सय युवा विदेश गइरहेका छन् । तर डिल्लिराजलार्ई स्वदेशमा अवशर हुँदै नभएको चाहिं होइन भन्ने लाग्छ । सवैका लागि स्वदेशमा रोजगारी नभएपनि धैर्यतापूर्वक काम गर्नेहरुका लागि स्वदेशमै पनि अवशर देख्छन् उनी । उनी भन्छन् “हातमा सीप छैन, एकैपटक धेरै पैसा खोजेर त हुन्न । धैर्यतापूर्वक काम गर्ने हो भनें विस्तारै सवैकुरा हुन्छ । मैले पनि लेभल १ सकेपछि दैनिक एकसय रुपैंयाँमा काम गरेको हुँ । विस्तारै भयो । अहिले म सन्तुष्ट छु, काम छ कमाई छ । मलाई एकदम विश्वास छ, सीप सिक्यो भनें नेपालमा काम छ ।” सीप सिकेर आफ्नै व्यावसाय सुरु गरेपछि आफूप्रति हेर्ने दृष्टिकोण फेरिएको अनुभव गरेका छन् उनले । उनी भन्छन् “पहिले धेरैले मलाई चिन्दैनथे । पहिले त ऋण माग्दा पनि कसैले दिंदैनथे । अहिले ४०/५० हजार मागेमा तुरुन्तै दिन्छन् । तिर्न सक्छ भन्ने देखेपछि मात्र मान्छेले विश्वास गर्दा रहेछन् । अहिले छिमेकी, आफन्त सवैले राम्रो गर्छन् । त्यसैले अरुको सम्मान पाउन पनि आफू आत्म निर्भर हुनु पर्ने रहेछ ।” हिजोका दिनमा के खाउँ, के लाउ र कसरी पुर्याउँ भन्ने चिन्ताले गाँजेका डिल्लिराज अव आफ्नै ठूलो ग्लास हाउस सजाएको सपना देख्न थालेका छन् । र उनलाई विश्वास छ, अवको बर्ष दुई बर्ष भित्रमा उनको एउटा ठूलै ग्लास हाउस बर्दियामा खुल्नेछ । -सुनिल न्यौपाने, बर्दिया (डिल्लीराज थारु रोजगार कोष अन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था कोहलपुर इन्स्टिच्यूट अफ टेक्निोलोजी, बाँकेले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) यो पनि पढ्नुहोस् कुवेतमा पिज्जा–बर्गर बनाउने केटो पोखरामा कुखुरा स्याहार्दै (भिडियो सहित) भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=6fKtYWttUUI&feature=youtu.be
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1