
दोहा, चैत्र ८ – कतारमा कुनै रोजगारदाताले सम्झौता अनुरुप काम नगरेको पाइएमा त्यस्ता रोजगारदाताकोमा काम गर्न आएका कामदारलाई अर्कै कम्पनीमा काम गर्न पाउने व्यवस्था गरिने कतारको ‘सर्च एण्ड फलोअप’ बिभागका निर्देशक ब्रिगेडियर नासिर मोहम्मद इसा अल सायदले बताएका छन् ।
कतारमा विभिन्न कम्यूनिटीका नेतृत्वकर्ताहरुसँगको भेटघाटका क्रममा अल सायदले यस्तो बताएका हुन् । उनले कतारको आन्तरिक मन्त्रालयले विभिन्न भाषामा कतारको नियम कानूनका बारेमा जानकारी दिने सामग्री समेत प्रकाशन गर्ने तयारी गरेको बताए ।
उनले भनेः हामी कामदारको सुरक्षा र उनीहरुले पाउने सेवा, सुविधाका बारेमा अधिकत प्रयत्न गर्न प्रतिवद्ध छौं । उनले आप्रवासी कामदारका नाममा कसैमाथि विभेद नगरिने समेत बताए ।
उनले कुनै कामदार सम्वन्धित रोजगारदातालाई छोडेर भाग्नु अपराध हुने भनें बताए । रोजगारदाता छोडेर भाग्नेहरुलाई भनें कानून अनुसार कारवाही हुने अल सायदको भनाई छ ।
कसैले त्यसरी भागेर काम गर्ने कामदारलाई रोजगारी दिएमा रोजगारी दिने व्यक्तिलाई समेत कडा कारवाही गरिने उनले बताए । त्यसरी कामदार राख्नेलाई दुई बर्षसम्म कैद र १० हजार रियालसम्म जरिवाना गर्न सकिनेछ अल सायदले भनेका छन् ।
कतारमा सार्वजनिक ठाउँमा बसेर सामान बेच्नु पनि अपराध भएको भन्दै कुनै पनि कामदारले आफ्नो रोजगारदाताको काम बाहेक अन्यत्र गएर त्यसरी काम गर्न बर्जित रहेको उनले प्रष्ट पारे । आजाद भिसाको नाममा आउनेहरुले त्यसरी आफ्नै हिसावले सामान बेच्ने गरेका छन् ।
त्यसरी आउनेहरुले कुनै कम्पनी वा व्यक्तिलार्ई निश्चित रहम तिरेर खरिद गर्ने भिसालाई आजाद भिसा भनिन्छ । सो भिसामा काम गर्न जाँदा स्वयं कामदार कुनै समस्यामा परेमा अझ धेरै झण्झटमा पर्ने गर्दछन् ।
ब्रिगेडियर अल सायदले कुनै रोजगारदाताले एक्जिट पर्मिट दिन आनाकानी गरेमा आफ्नो बिभागमा सम्पर्क राख्न भन्दै त्यस्तो अवस्थामा निश्चित प्रकृया पुरा गरेर स्वदेश फर्किन पाउने बताए । कुनै विदेश कामदारले स्वदेश फर्किन रोजगारदाताबाट एक्जिट पर्मिट नपाएर समस्या भएमा विभागले अल्पसमयका लागि वा कतार नफर्किने गरी समेत अनुमति बनाइदिन सक्नेछ अल सायदको भनाई उध्रित गर्दै कतारडेले खवर लेखेको छ ।
यो पनि पढ्नुहोस्
‘कतारमा श्रमिकलाई दास नबनाउ’ भन्ने व्यानर देखाउने नेपाली महिला पक्राउ