विदेशिएका साथिले भन्दा धेरै कमाई स्वादेशमै

पर्वत- कपाल काट्ने भन्ने बित्तिकै सबैले सोचिहाल्छन् । भारतिय नागरिकहरुको पेसा । मुलुकका सबै शहरबजारमा यो पेसामा प्रायः भारतियहरु नै संलग्न छन् ।

पर्वत जस्तो जिल्लाका स्थानीयहरुले कपाल काट्न मासिक कम्तिमा सात लाख खर्चिन्छन् । मुलुकका सबै जिल्लाको तथ्याङ्क हिसाव गर्ने हो भने करोडौं पुग्छ । त्यो पैसा सबै भारत निर्यात हुन्छ ।

सदरमुकाम कुश्मामा कपाल काट्ने करिव डेढ दर्जन भारतियहरुको भिडमा स्थानीय २५ वर्षिय यूवाले छुट्टै पहिचान बनाएका छन् । जिल्लाको तिलाहार ६ का योगेश लामिछानेले शुरु गरेको ‘जि एच हेयर स्टेसन’ जिल्लाकै नमूना बनेको छ । तीन वर्षअघि शुरु गरेको उनको कपाल काट्ने पसलमा अहिले यूवाहरुको भिड लाग्छ ।

२०६६ सालमा साथीहरुको लहैलहैमा पृथ्वीनारायण क्याम्पस पढ्दैगर्दा स्थानीय हेण्सम पार्लरमा तीन महिने तालिम लिएका लामिछानेलाई उतिबेलाको सीप अहिले बरदान जस्तै भएको छ । ‘उतिबेला यस्तो पेसा पनि के गरिएला र जस्तो हुन्थ्यो,’ लामिछानेले भने, ‘संगै तालिम सिकेका साथीहरु बिदेश हानिए, मैले व्यवसाय शुरु गरें ।’

२०६८ मा व्यवसाय शुरु गरेका उनका सुरुवाती दिन निकै संघर्ष र अपहेलनामा बिते । अहिले आफ्नो पेसाप्रति गर्व गर्छन् । ‘शुरुमा त कतिले धोती भनेर पनि जिस्काए,’ अतित स्मरण गर्दै उनले भने, ‘कहिलेकाहीं त पेसाप्रति धिक्कार लाग्थ्यो ।’

पहिलो एक वर्ष पेसा छोड्न प्रयास गरेका उनले ग्राहक नपाएर बिक्री गरेनन् । अहिले पेसा परिवर्तन गर्ने सोंचमै छैनन् ।

पछिल्लो समय उनको तारिफ गर्ने र उनकै हातबाट कपाल काट्नेहरुको भिड लाग्न थालेको छ । हरेक कुरामा निरन्तरता दिन सके सफलताको शिखरमा पुगिने अनुभव लामिछानेले संगालिसकेका छन् । ‘

अहिले धेरैको प्रशंसा पाएको छु,’ उनले भने,‘ शुरुमा जिस्काउनेहरु पनि अहिले मुस्कुराउँदै कपाल काट्न आउनुहुन्छ ।’

लामिछानेले कपाल–दाडी काट्ने संगै युवाहरुका लागि फेसियल, कपाल रङ्ग्याउने, ट्याटु खोप्ने लगायत सबै श्रृङ्गारका काम गर्छन् ।

आफूसंगै तालिम सिकेका साथीहरुले बिदेशमा गरेको आम्दानी भन्दा आफ्नो तीन गुणा भएको उनको भनाई छ । ‘साथीहरुसँग कहिलेकाहीं अनलाईनमा सम्पर्क हुँदा लाग्छ, बिदेश नगएर धेरै राम्रो काम गरिएछ ।’

दैनिक ८ देखि १० घण्टा खट्ने लामिछानेले मासिक ४५ देखि ६० हजार सम्म आम्दानी हुने बताउँछन् । ‘मेरो र श्रीमतीको गरी वार्षिक डेढ लाख तिर्नेगरी बीमा गरेको छु,’ उनले भने, ‘भविष्यका लागि पेन्सनका रुपमा बीमा छ, अहिले सबै खर्च कटाएर मासिक ३० हजार जति बचत हुन्छ ।’ उनको व्यवसायमा श्रीमती अनिताले साथ दिएकी छन् ।

आधुनिक मेसिनले चाहना अनुसारको डिजाईनमा कपाल काट्ने उनको पहिचान हो । नयाँ तरिका प्रयोग गर्ने भएपछि उनको पसलमा प्राय यूवा जमातको भिड लाग्छ । ‘एक वर्ष भयो म सधैं यहिं आउँछु,’ पालो कुरेका यूवा रेशम गुरुङले भने, ‘योगेस दाईले कपाल काट्दा छुट्टै आनन्द आउँछ ।

आफूले बेलाबेलामा साथीहरुलाई इच्छा अनुसारका ट्याटु खोप्न ल्याउने गरेको गुरुङले भने । योगेसले व्यवसाय शुरु गरेदेखि नियमित दाह्री र कपाल काट्न आउने गरेको कपाल काट्दैगरेका यूवा डिल्ली लामिछानेले बताए । ‘

१८ वर्ष पुगेपछि राहदानी बनाएर बिदेश हानिने यूवाहरुको भिडमा योगेश एक नमुना पात्र भएको स्थानीयहरु बताउँछन् । ‘योगेशको जति प्रशंसा गरेपनि पुग्दैन,’ सदरमुकामका एक यूवा बैकुण्ठ गिरीले भने, ‘ बिदेश जानेले यहिं केहि गर्दा हुँदोरहेछ, भन्ने यो भन्दा गतिलो उदाहरण खोज्न कतै जानुपर्दैन ।’

योगेशले अहिलेसम्म करिव २२ यूवाहरुलाई यो व्यवसायबारे प्रशिक्षण दिएको बताउँछन् । ‘तालिम दिएकामध्ये एक जनाले थापाठानामा पसल सञ्चालन गरेका छन्, अरु त सबै बिदेश गए होलान् ।’

बिदेश जाने लगानीले यहिं त्यहाँ भन्दा तीन गुणा आम्दानी गर्न सकिने यूवा जमातलाई उनको सुझाव छ । योगेशले अहिलेसम्म पसलमा करिव पाँच लाख मात्रै लगानी गरेका छन् । व्यवसाय राम्रो फस्टाएको बताउने लामिछानेले पेसा परिवर्तनको सोचमा नरहेको बताउँछन् ।

कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय