बल्ल तल्ल उम्किए पत्रजयाको फन्दाबाट

घरमा सानो काखे छोरा थियो । उनी परिवारका एक्ला छोरा थिए । हजुरआमा देखि पनातीसम्मको त्यो परिवार हाँसीखुसी नै बसेको थियो । रामेछापको तत्कालिन ओख्रेनी गाविसका टुकराज तामाङलाई पनि विदेश जाने रहर जाग्यो २१ बर्षे उमेरमा । गाउँमा सुनेका कुरा कम रहरलाग्दा र चाख लाग्दा थिएनन् । विदेश अर्थात झिलिमिलि देश । तर उनलाई के थाहा त्यहि विदेश कति दुःख बोकेर उनलाई पर्खिरहेको थियो । उनले दुःख पाउने मात्र होइन परिवारको पीरको कारण उनी नै बन्छन् र गाउँका भोजभतेर र मेलापातको गफको विषय पनि उनै भन्छन् भन्ने उनले कल्पना पनि गरेका थिएनन् । बुवा गाविस भरीकै अगुवा कृषक । आधुनिक कृषक भनेर चिनिन्थ्यो टुकराजको परिवार । गुजारा चलाउन गाह्रो थिएन । तर गाउँको खेती किसानी हिजोआज धेरै युवाका लागि लज्जाको विषय हो । आफ्नै खेतमा पसिना बगाउनु भन्दा अरव र मलेसिया उड्नु धेरैका लागि रहर बनेको छ । त्यसैले टुकराज पनि एकबारको जुनीमा विदेश उड्ने नै निश्कर्षमा पुगे । कुरा २०७० को मंसिरको अन्त्यबाट सुरु हुन्छ । एउटा उमेरदार गाउँले छोराको सपना जस्तै, रातदिन नभनी खेतबारीमा घोटिएर फलाएको तरकारी बेच्न आमाबाबुको थाप्लोमा लाग्ने नाम्लो बिसाउने । टुकराज त्यहि सपना देख्दै विदेशिन हान्निए काठमाडौं । भगवानले  पनि तँ आँट म पुर्याउँछु भन्छ रे । भयो पनि त्यस्तै । पत्रिकामा छापिएका विज्ञापन हेर्दै धेरैवटा मेनपावर कम्पनीका अफिस धाए उनले पनि । सवैका कुरा एकसे एक गतिला र रसिला थिए । अन्तिममा उनलाई लोभ्यायो प्याराडाईज ईन्टरनेशनल मेनपावर कम्पनीको कुराले । मलेसिया जाने पक्का पक्की भयो । पैसाको जोहो गर्न घर फर्के । काठमाडौं फर्किंदा सवै कुरो मेनपावरले मिलाइसकेछ । जान त जाने भए उनी तर न उननले केहि सीप सिकेका थिए न त भाषा नै जान्दथे उनी । अर्थात टुकराजको विदेश यात्रा अधिकाँश नेपालीको जस्तै थियो । केवल धेरै कमाउने रंगिन सपना मात्रको । मेनपावरले १ लाख ५० हजार मागेपछि ऋण गरेर १ लाख ७५ बोकेर काठमाडौं पुगेका उनी ३ बर्षका लागि मलायाको बाटो लागे । एयर एसियाको रातो र सेतो पुत्ले पाँग्रे जहाज चढेर उनी पुगे उनको सपनाको देश मलेसिया । मलेसिया उत्रिंदा त्यस्तै साँझको ७ बजेको हुँदो हो । ठाउँ नयाँ, वातावरण नयाँ, परिवेश नयाँ । आफूलाई लिन आउने कम्पनीको मान्छेलाई पर्खेर नै उनी सहितका १० जना नेपालीको समुहले १५ घण्टा वितायो । मालिक कडा रहेछन् । एक घण्टाको गाडी यात्रापछि उनीहरु पुगे मलेसियाको दमनशरा शहरमा । लौं त्यहाँ पुगेपछि पो थाहा भयो उनीहरुलाई काम गर्न बोलाउने कम्पनी मान्छे सप्लाइ गर्ने कम्पनी रहेछ । अव फन्दामा परे उनीहरु । न भाषा बुझ्छन् न अन्य कुराको जानकारी नै छ । एक हप्ता पछि १५ जनाको समुहलाई गाडिको ५ घण्टे यात्रापछि मलेसिया कै जोहोरबारु भन्ने शहरमा लगियो । टायल बनाउने कम्पनीमा पुगे उनीहरु । काम कुनै नजानेका उनीहरु दिनभरी टायल उचाल्ने,ठूल ठूला मेसिनसँग खेल्ने काममा परे । ९ सय रिंगेट थियो तलव । तर महिना मर्दा हात पथ्र्यो ६ सय । लेवी, अन्य शुल्क सव काटिंदो रहेछ । बल्ल उनीहरुले आफूहरु साह्रै ठगिएको पक्का भयो । त्यत्रो रकम तिरेर गएको मान्छे, कमाई छैन । अनी १५ जना मध्ये ६ जना कम्पनी छोडेर भाग्ने निश्कर्षमा पुगे । भागेर अर्कै कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न पुगे टुकराज सहितका नेपाली । अवैधानिक भएपछिका समस्या अरु धेरै थिए । प्रहरीले भेटे समाएर जेल हाल्थ्यो । तर लुकेरै दिनमा दुईटा कम्पनीमा गरी २० घण्टा काम गर्न थाले उनी । तर लुकेर सधैं चलेन । इमिग्रेसनको छापामा उनी लगाएत अरु ४ जना नेपाली समातिए ।समातिएपछि पुत्रजयामा रहेको इमिग्रेशनको हेडक्वाटरमा थुनिए उनी । गाउँमा खवर आइपुग्यो टुकराज समातियो । घरमा रुवावासी सुरु भयो । उता उनी जेलको हावा खाँदै थियो यता नेपालमा उनको परिवार आँशुको भेल बगाउँदै थियो । दशै आयो छोरो जेलमा छ । माघे संक्रान्ति पनि जेल परेको छोरोको चिन्तामै वित्यो तामाङ परिवारको । टुकराजका बाबु टिकाराम भगिरथ प्रयत्न गर्दैथिए छोरो झिकाउन । अनी उनी सोध्दै खोज्दै रामेछापको सदरमुकाम मन्थलीमा रहेको सुचना तथा परामर्स केन्द्रमा आइपुगे छोरालाई कसरी सकुशल नेपाल ल्याउन सकिन्छ भन्दै सोधखोज गर्न । न छोराको विदेशिएको प्रमाण घरमा छ न त कम्पनीको वारेमा जानकारी नै । त्यसपछि बाबु हान्निए मेनपावरमा कागज खोज्न । त्यसपछि सुचना केन्द्र, पिएनसिसि हुँदै टुकराजकै ठुलो बुवाको छोराको सहयोगमा उनी जेलमुक्त भएर गएको माघ १२ गते उनी काठमाडौं उत्रिए । परिवारमा ठूलो हर्ष भयो, सन्तोषको सास फेरे उनीहरुले । अर्थात कमाउन गएका टुकराज नेपाल फर्किनु नै उनी र उनको परिवारका लागि ठूलो उपलव्धी भयो । सागरविक्रम बस्नेत, रामेछाप    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय