
कतार – झण्डै ३० लाख नेपाली अर्थात कुल जनसंख्याको १० प्रतिशत बैदेशिक रोजगारको क्रममा देश बाहिर छन् । त्यसमध्ये ४ लाखको हाराहारीमा कतारमा कार्यरत छन् । तिनिहरु दोहा र आसपासमा सञ्चालित विकास निर्माणका काममा धेरैजसो संलग्न छन् ।
जव कतारले सन् २०२२ मा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने अधिकार पायो, त्यसयता पश्चिमा मुलुकहरुले कतारमा कामदारलाई अमानविय रुपमा काममा लगाइएको भन्दैै समाचार लेखिरहेका छन् तथा प्रशारण गरिरहेका छन् । यसमा विशेष गरी नेपाली कामदारलाई केन्द्रीत गरेर समाचार लेख्ने गरिएको छ ।
त्यसैले गल्फ टाइम् ले एउटा टोली खटायो नेपाल, भारत, श्रीलंका र फिलिपिन्समा ।
यहि चारवटा मुलुकबाट सवैभन्दा धेरै कामदार कतारमा कामगर्न आउने गरेका छन् ।
कतार नेपालीका लागि दोश्रो रोजाइको गन्तव्य मुलुक हो जहाँ ४ लाख नेपाली कामदार कार्यरत रहेको अनुमान छ । नेपालीका लागि मलेसिया पहिलो रोजाईको गन्तव्य मुलुक हो । नेपालले १०८ मुलुकमा कामदार पठाउन खुल्ला गरेको छ । नेपालका हिमाल, पहाड, तराई तथा सवै विकास क्षेत्रबाट मानिस रोजगारीका लागि बाहिरिएका छन् । कुल घरपरिवार मध्ये आधा भन्दा धेरैबाट बैदेशिक रोजगारीमा गएका छन् ।
रेमिट्यान्स नै आर्थिक मेरुदण्ड भएको छ । यद्यपी कृषि नै नेपालको आर्थिक मुख्य आधार हो । आधा भन्दा धेरै परिवारबाट रोजगारीका लागि बाहिरिएकाहरु मध्ये ९५ प्रतिशत २० देखि ४४ बर्ष उमेरका छन् । यसले काम गर्नसक्ने उमेरका तीन चौथाई व्यक्ति विदेशमा छन् भन्ने देखाउँछ ।
नेपालमा दर्तामा रहेका ७ सय भन्दा धेरै म्यानपावर कम्पनी मध्ये धेरैजसोले ठूलो संख्यामा वैदेशिक रोजगारीमा जान चाहने युवा पाउँछन् । काठमाडौंमा रहेका म्यानपावर कम्पनीहरुको अघिल्तिर देखिने युवाको जमातले पनि यो कुरा पुष्टि गर्छ ।
काम गर्न जान चाहने युवाले आफ्नो गाउँबाट शहर वा राजधानी काठमाडौंमा आएर केहि हप्ता वा केहि महिना पर्खिनु पर्दछ । म्यानपावर कम्पनीहरुका व्यवस्थीत कार्यालयहरु छन् । तिनिहरुले सरकारी नियम अनुसार काम गर्दछन् । यसमा मध्यस्थकर्ताहरुले गलत आश्वासन दिने काम समेत गर्ने गरेका छन् ।
एउटा अवैधानिक बाटो भारतको बाटो हो, जुन बाटो भएर समेत नेपालीलाई कामका लागि कतार ल्याउने गरिन्छ । त्यसरी ल्याइनेहरुलाई धेरै तलव दिइने झुटो आश्वासन दिइन्छ । यसरी दलालको विश्वासमा परेर आउने धेरै हुन्छन् । यसले मानव तस्करीलाई बढावा दिएको छ । भारतको नयाँ दिल्लीमा भेटिएका एक दलालले हामीलाई भारतीय पासपोर्ट उपलव्ध गराउन समेत सक्ने बताए । उनले नेपालीहरुलाई यसरी नै पठाउन कुनै कठिनाइ नहुने तर्क गरे ।
उनले भने ‘भारतीय पासपोर्ट प्राप्त गर्न चाहने नेपालीका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात भारत नेपालको सीमा क्षेत्रमा नै तयार पारिन्छ । यसले कुनै पनि नेपालीलाई भारतीय बनाउन र त्यहि अनुसार विदेश पठाउन कुनै समस्या पर्दैन । कोहि पक्राउ परीहालेमा रकम दिएर सहजै मिलाउन सकिन्छ ।’
ति व्यक्तिले भनें ‘हामीलाई थाहा छ, केहि व्यक्तिले गन्तव्यमा पुगिसकेपछि समस्या झेल्नुपर्छ । हामी सम्भावित समस्याका बारेमा जान चाहने कामदारलाई पहिले नै भन्छौं । तर यति हुँदा हुँदै पनि हामीलाई विदेश पठाइदिनु भन्दै आउनेको लामो लाइन हुन्छ ।’ सामाजिक प्रतिष्ठा र आर्थिक स्थीति सुधार्न पनि धेरैलाई बैदेशिक रोजगारी अनिवार्य भइसकेको छ ।
नेपालका विभिन्न क्षेत्रमा अवैधानिक रुपमा काम गर्ने दलालको कुनै कमि छैन । वैदेशिक रोजगारमा जान चाहनेहरुले वास्तविक एजेण्टसम्म त्यस्ता तीन चार तहका व्यक्ति पार गर्दै आइपुग्नु पर्छ । यसले वास्तविक व्यक्ति वा संस्थासम्म आइपुग्दा नै ५० हजारको हाराहारीमा खर्च भइसक्छ । त्यसरी विदेश जान चाहनेहरु धेरैजसो गाउँका हुन्छन् र शहरमा बस्ने दलालले उनीहरुबाट सहजै रकम असुल्न सफल हुन्छन् ।
गल्फ टाइम्सलाई जानकारी दिने ति व्यक्तिले भनेका छन् यदि कोहि व्यक्ति वैदेशिक रोजगारमा जान चाहन्छ भनें गाउँको दलालसँग सुरुमा भेट्छ । उसले ति व्यक्तिलाई नजिकैको शहरमा पुर्याउँछ । त्यहाँसम्म पुर्याएको रकम त तिरेकै हुन्छ, नजिकको शहरको अर्को दलाललाई फेरी रकम तिर्न त्यो व्यक्ति बाध्य हुन्छ ।
त्यसपछि उसलाई काठमाडौं पुर्यान्छ । त्यहाँ पनि अर्को दलालसँग भेट गराइन्छ र अन्त्यमा वैधानिक एजेण्टको जिम्मा लगाइन्छ । मेनपावर कम्पनीहरुलाई कतार पठाउँदा एकजना व्यक्तिसँग अधिकतम ७० हजार लिन पाउने व्यवस्था छ । तर बीचका दलालहरुलाई रकम खुवाउँदा खुवाउँदै कतार आउन चाहने व्यक्तिको लागत धेरै भईसक्छ ।
बैदेशिक रोजगार व्यवसायी बलबहादुर तामांगले नेपालमा दैनिक ज्याला ३ सय ५० पाए पनि नेपालीहरु लाजले काम गर्न तयार नहुने गरेको बताउँछन् ।
उनी बैदेशिक रोजगारीले नेपालमा धेरैखालका सामाजिक समस्या निम्त्याइरहेको बताउँछन् । घरमा महिला, बालबच्चा र बुढा आमाबाबुलाई छोडेर उनीहरु जाने गरेका कारण समस्या आउने गरेको बैदेशिक रोजगार व्यवसायी तामांग बताउँछन् । ७ प्रतिशत परिवारमा सम्वन्ध विच्छेद र बाह्य व्यक्तिसँगको सम्वन्धका घटनाहरु देखिएका छन् उनले भनेका छन् । तर अर्कातिर बैदेशिक रोजगारीकै कारण बालबच्चाको शिक्षा दिक्षा र घरायसी स्थीति सुधारिएको पनि उनी तर्क गर्छन् ।
योसँगै मान्छेहरु शहर पस्न थालेका कारण खेतबारी बाँझै हुन थालेको र कृषि उत्पादनमा ह्रास आएको पनि बैदेशिक रोजगार व्यवसायी तामांग बताउँछन् । पहिले नेपालमा धानको उत्पादन पर्याप्त भएपनि पछिल्लो समयमा भारतबाट आयात गर्नुपरिरहेको तथ्य उनले अघि सारे । विदेशबाट आएको रकम पनि नयाँ कपडा किन्न, घर बनाउन खर्च भइरहेको भन्दै त्यसको सदुपयोग हुन नसकेको तर्क गरे ।