यो ज्यानले साथदिए तिमीसंगै जिउँला ……

भोगटेनी–८, अँधेरी । मोरङको उत्तरी भेगको पहाडी बस्ती । बिराटनगरबाट बेलबारी, लेटाङको बुधबारे र भोगटेनीकै लोथर हुदै पुगिन्छ अँधेरी । साँघुरो कच्चि बाटो त्यसमाथि बर्षातले बिगारेर खाल्डाखुल्डी छन् । ठाडै उकालो अनि साघुरा मोडहरु । मोटर घरि अगाडि घरि पछाडि गर्दै मोडहरु छिचोल्दै अँधेरी पुगिन्छ ।

भिरालो पाखो, जंगलको बिचबिचमा फाट्टफुट्ट स–साना घरहरु छन् । पुर्ब–पश्चिम राजमार्गदेखि करिब एक घण्टाकै दुरिमा त्यस्तो भौगोलिक बिकट्ता छ भन्ने धेरैले अड्कल पनि काट्न सक्दैनन् । मोटरबाट ओर्लिएर चार÷पाँच कान्ला झर्दै थिएँ बाटै छेउको घरमा देखिएको दृष्यले मेरो ध्यान खिच्यो । टक्क अडिएँ । छेउमा बेन्च थियो त्यसैमा बसें । पहिले उनलाई नियालें अनि घर वरिपरी । र, एकछिन भलाकुसारी गरें ।

फल्याकको भित्ता र जस्तापाताले छाएको सानो घर । बरण्डामा फराकिलो खाट । छेउमा चोया र चक्कु । अनि, खाटमाथि मुडामा बसेर डोको बुन्दै गरेका । गहुँगोरो बर्ण, पोटिला गाला, चिउडोमा मात्र केहि फूलेका पातला दाह्री । मन्द मुस्कान र थोरै देखिएका दाँत । शिरमा ढाकाटोपी, निलो टि–सर्ट, स्टीलको चेन भएको सेतो रङ्गको घडी र कालो हाफ्पेन्ट लगाएका उज्याला मान्छे । बिरलै देखिने यस्तो दृष्य र पात्रले कौतूहल बनायो ।

मनमनै सोचे अँधेरीका यी उज्याला को होलान ? कसरी सिके होलान यो बुन्ने सीप ? थालेको कति बर्ष भयो होला ? बेच्न कहाँ पुर्याउनु पर्ने हो की गाउँघरमै बिक्री हुन्छ ? कतिमा बेच्दा हुन ? एउटा बुन्दा कति बाँस र समय लाग्छ ? श्रम र सामग्रीको मूल्य कटाएर कति बच्छ होला ? यी र यस्तै अनेकन प्रश्नहरु उब्जीरहे ।

छेउमा कालो खोल भएको रेडियो बजिरहेको छ । पहिलेपहिले प्रायः सबैका घरमा यस्तै रेडियो हुन्थ्यो । तर, हिजोआज बिरलै देख्न पाइन्छ । मोबाइलमा सबै सुबिधा भएपछि क्रमश लोप हुदै गयो । रेडियोको एरियल तानेर टुप्पोमा तामाको तार बाँधेर बरण्डाको खाबोसम्म पुर्याइएको छ । यसरी तार बाँधेर माथिसम्म पुर्याउदा आवाज अलिक प्रष्ट भएको मलाई सम्झना छ । पहाडमा हामी त्यसै गथ्र्यौ। सायद उनले पनि त्यसै गरेको हुनुपर्छ । उनी आफ्नै सुरमा बुन्दै थिए । उता रेडियोमा बज्दै थियो

सागर सरी चोखो माया तिमीलाई दिउँला यो ज्यानले साथदिए तिमीसंगै जिउँला तिम्रो नभइ मरेछु भने अर्को जुनि लिउँला ………………….

उनी पनि गीत गुन्गुनाउँदै काममा मग्न थिए ।

एकछिनपछि दाइ नमस्कार भनेको अलिक झस्कदै रेडियो बन्द गरे । र, नम्र स्वरमा नमस्कार फर्काउदैे भने ‘ ओहो कताबाट आउनु भयो ? को हो तपाईं ? केहि काम थियो कि ? पहिले त देखेको थिइन, कि मैले भुले ?’ भलाकुसारी सुरु भयो ।

उनलाई गीत सुन्दै काम गनै आनन्द आउँछ रे । ‘एक्लो छु जस्तो पनि लाग्दैन’ उनले भने । हर्कबहादुरको घर त्यहि रहेछ । २००६ सालको जन्म । अहिले ७१ साल हैन ? खुट्याउदै भने ‘६५ बर्षमा हिड्दै रैछु ।’

गाउँको नाम अँधेरी, तपाईं त उज्यालो हुनुहुदोरहेछ भनेको हास्दै उत्तर फर्काए ‘हो र ? खै, अरुले पनि यसै भन्छन्’ दंग परे उनी । बुढ्यौलीका केहि धर्सा पर्दै गरेको मगर अनुहार अझ खुल्यो । उनकी श्रीमति देविमायाले घर भित्रबाट खित्का छोडिन् ।

उनले डोको बुन्न थालेको पनि जुग बितेछ । ‘म १८÷१९बर्षको हुँदा गाउँकै काकासंग सिकेको । पहिले चोया काढ्न सिकें । सुरुमा एउटै आकार र चिल्ला बनाउनै गाह्रो । चक्कु चिप्लीएर औलामा घाउ भयो । तैपनि काढ्न छाडिन । ५/७ दिनमा सिकें त्यसपछि बुन्न । सुरुसुरुमा डोकोको पिंध मिलाउनै जानिन । धरैपटक बुन्दै काकालाई देखाएँ । मिलेन भनेपछि खोले ।’ उसबेला काकाले भनेको सम्झदै उनले भने ‘डोकोका मुख्य तीन अङ्गहरु हुन्छन पिंध, काम्रो र बिट । यी तीनै दह्रो हुनुपर्छ तबमात्र डोकोे बलियो हुन्छ ।’

उहिले कतिमा बिक्थ्यो होला त डोको ? ‘मैले बुनेको पहिलो डोको २५/२६ सालतिर हो, १० आनामा बेचेको । अहिले चैं १ सय ८० देखि २ सयसम्म पाइन्छ’ उनले हिजो र आजको तुलना गरे । पहिले त बेच्न केहि परका हाट बजार लैजानु पथ्र्यो । तर हिजोआज घरमै किन्नेहरु आइपुग्छन् । सवै पहिले नै अर्डर आउछ र बनिसकेपछि सामान लिन आइपुग्छन् ।

बाँस आफ्नै बारीमा छ, किन्नु पर्दैन । सालाखाला एक घना बाँसबाट १० वटा डोकालाई चोया पुग्छ । यदि चोया र काम्रो तयार छ भने दिनमा ४ वटा डोको बुन्न सकिन्छ । हैन चोया र काम्रो काढ्दै बुन्ने हो भने तीन वटा मात्र । सालाखाला महिनामा ४०/५० वटासम्मको अडर आउँछ । विक्रि पहिले जस्तो त छैन, तर दाम बढेको छ, त्यसैले खुसी नै छन् उनी ।

भलाकुसारी गरिरहदापनि उनका हात रोकिएनन् । काम र कुरा संगसगै गर्न सिपालु रहेछन । गाउ“का युवाहरुले पनि सिकेका होलान त ? ‘हौ, युवाहरु ? को छन र गाउँमा ? सबै बिदेशतिरै हान्निएका छन् । डोको, मुढा, नाङलो,¥याक र सजाउने सामग्री बनाए मात्र त्यतिको कमाइ त यहीं हुन्छ । ऋण काढेर जानै पर्दैन’ उनले अनुभव सुनाए ।

‘गाउँबाट गएका एक÷दुई जनाले त राम्रो गरेका छन् । अरु न भने अनुसारको काम दियो न तलब लियो, न त बिरामी हुदा उपचारै ग¥यो भनेर फर्केका छन । लिएको ऋण तिर्नै धौधौ । खै, बुझाउन नसकेको होकि नबुझेका हुन’ यति भनिसकेर उनले एकछिन गम खाए ।

‘हुनत रहरले को गएको होला ? बाध्य नभइ । तर पनि उमेर, शरीरमा तागत र जोसजागर हुदासम्म बाहिर बाहीरै । के गर्नु ? भुईंको कनिका टिप्दा पोल्टाको चामल खसेको पत्तै पाएका छैनन्’ उनले निश्कर्ष निकाले ।

राजन पौडेल, बिराटनगर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय