आफ्नै पौरखमा गौरब गर्छन गौरिशकर

हुन त देख्नेलाई सजिलै लाग्छ उनको काम । रमित हेर्नेका लागि त्यो काम खासै गाह्रो पनि छैन । तर गौरिशंकरका लागि त्यो काम कम मुस्किलको छैन ।

घर उनको लहान हो । उमेरले ३५ बर्ष पुगे । हिजोआज सुनसरीको इटहरीमा बसेर उनी जुत्ता सिलाउने गर्छन् त्यो पनि आफु जस्तै अपाङ्गता भएकाहरुका लागि । उनी भन्छन् ‘यसमा मलाई गर्ब लाग्छ । अहिलेसम्म नमिलेर फेरि बनाउनु परेको छैन ।’

अपाङ्गता भएका व्यक्तिका लागि जुत्ता बनाउन अरुले लगाउने जस्तो सजिलो पनि हुन्न । खुट्टाको बनावट र आकार अनुसार मिल्दो बनाउनु पर्छ । त्यसैले प्रत्येक जुत्ता फरक–फरक प्रकारका हुन्छन ।

ठ्याक्कै खुट्टाको बनावट अनुसार बनाउन निक्कै मिहेनत गर्नु पर्छ । बल, सिप र अनुभव चाहिन्छ । तर उनी भन्छन् ‘मैले मेहनत गरेर, केहि दुःखले बनाएको जुत्ता लगाएर हिंड्दा सजिलो हुनेहरुलाई देख्दा मलाई त्यसमै सन्तोष लाग्छ ।’

उनी आफ्नो बल, बर्कतले भ्याएसम्म यसरी नै जुत्ता बनाइरहने योजनामा छन् । ‘किनकी म उनीहरुको पीडा महसुस गर्छु । त्यसैले मिहेनत गरेर खुट्टा नबिझाउने गरि बनाउ‘दै छु’ गौरीशकर रामले भने ।

उनले धेरैथरीका जुत्ता बनाएका छन् । आफुले बनाएका र बनाउदै गरेका जुत्ता देखाउदै उनले भने ‘यो क्लब सु हो । यो हिड्ने सक्नेहरुको लागि हो । यसले हिंड्न सजिलो हुनाका साथै केहि हदसम्म खुट्टा सिधा बनाउन सहयोग गर्छ । यस प्रकारका जुत्ता सानोमा १० सेन्टीमिटरदेखि ठूलोमा २८ सेन्टीमिटरसम्मका हुन्छन ।’

नजिकै रहेको अर्कोथरी जुत्ता देखउदै उनले भने ‘यो डेबिश ब्राउण्ड सु हो । यो जन्मेदेखि हिड्न नसक्ने बालबालिकाकोहरुको अपरेसन पछि खुट्टा सिदा राख्नको लागि लगाउने हो । यसको आकार सानोमा ८ सेन्टिमिटरदेखि ठूलोमा १९ सेन्टिमिटरसम्मका हुन्छन ।’

उनले जुत्ता बनाउन सिकेको कुरा पनि रोचक छ । ‘दिल्लीमा काम गर्न गएका गाउ‘का दाइहरुलाई पठाउने चिठ्ठीपत्रहरु सवैले मलाईन लेख्न लगाउ‘थे । त्यसैले सबैको ठेगाना मलाई थाहा हुन्थ्यो । मेरो पनि घरको आर्थिक अवस्था राम्रो थिएन । त्यसैले अलिअलि भएपनि कमाइ गर्र्नु पर्छ भन्ने सोचाइ आएको थियो । तर, के गर्ने निधो गर्न सकेको थिइन । खै अचानक के बिचार आयो १० कक्षामा पढ्दा पढ्दै भागेर दिल्ली पुगे । २०४९/५० सालतिर हुनुपर्छ । दाइहरुको ठेगाना थाहै थियो खोज्दै पुगे । दाइहरु ब्याग र सुटकेस बनाउने फ्याट्रीमा काम गर्दथे । म पनि काम गर्र्छु भनेको साहुजीले पत्याएनन् । तिम्रो खुट्टै छैन के काम गर्न सक्छौ भने । मैले भने बटम लगाउन, चेनको क्लीप हाल्न सक्छु भने । उनले हुदै हुदैन तिमीले गर्नै सक्दैनौ भने । तर, मैले धेरै बिन्ती गरेपछि र दाइहरुले पनि भनेपछि एक दुइदिन गर तिम्रो काम हेर्छु भनेपछि काम गर्न थालें । मासिक ५० रुपैयॉ तलब पाउ‘थे । मिहेनत गरेर ब्याग र सुटकेस सिलाउन सिकें । र, सिलाउन थाले । त्यसपछि भने मासिक तलब बढेर ४ सय रुपैयॉ भयो ।

Gaurishankar 2

करिब ६/७ बर्ष काम गरेपछि घर फर्किए । सिलाइको सीप जानेकै थियो । केहि न केहि त गर्नै पर्यो भनेर लहानमै ब्याग, जुत्ता सिलाउने र मर्मत गर्ने पसलमा काम गरे २०७० फाल्गुणसम्म । करिब छ बर्ष अघि अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द« बनेपाद्वारा अपाङ्गगता भएका ब्यक्तिहरुले लगाउने जुत्ता सिलाउने तालिम लिने मौका पाए‘ । र, तालिमपछि लाहनमै अर्डर गरेपछि जुत्ता सिलाउदै थिए ।

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रकै पुर्वाञ्चल कार्यालय, इटहरीमा जुत्ता सिलाउने प्राविधिकको आवश्यक छ भन्ने सुनेर निवेदन दिए । मेरो तालिम, सीप र अनुभवले गर्दा काम पाए‘ । र, गत बर्षदेखि कर्मचारीको रुपमा काम गरिरहेको छु ।

उनी कर्मचारी भएर काम गर्न पाउदाको खुसीलाई शव्दमा भन्न नसक्ने बताउछन् । ‘पहिले यसले के गर्न सक्छ र भन्नेहरु आज मेरो काम देखेर छक्क पर्छन् । त्यसैले हामीजस्तालाई सहानुभुति हैन खाचो त अवशरको हो’ उनी भन्छन् ।

कुरा गर्दै जादा उनी दार्शनिक झैं पनि भए । भन्छन् ‘यसो बिचार गर्छु दुबै खुट्टा हुने मान्छेहरु टुकुटुकु हिडेका जस्ता देखिन्छन । तर, धेरै मान्छेहरु आफ्नै खुट्टामा उभिएका छैनन् । कसै न कसैको भरमा छन्, मेरो बैशाखी जस्तै । बैशाखी जस्तै पनि के भनु र ? मेरो बैशाखी त मेरो अनुकुल चल्छ उनीहरु त अरुकै ।’

उनले धेरै हेपाइ सहे । उनलाई लाग्थ्यो मान्छेले उनलार्ई दाइ वा भाइ जे भने पनि त हुन्थ्यो । चिने जानेकाहरुले गौरीशंकर भनिदिए झन राम्रो । तर एक खुट्टे, लङ्गडो, बैशाखे भन्दा उनलाई नरमाइलो लाग्छ । उनी भन्छन् ‘यसो सोच्छु मेरो त जन्मैदेखि यस्तै भया,े एउटा खुट्टै छैन । तर, के भन्नु र खै ? सबै अङ्ग ठिक छ भन्नेहरुकै सोचाइनै ठिक छैन । ’

तर हिजोआज समय फेरिंदै गयो भन्ने लाग्छ उनलाई । त्यहि अनुभूत गरेका छन् उनले । तर अझै पनि मान्छेले अपाङगता भएकाहरुलाई दया गरेको देखेर चित्त बुझ्दैन । ‘लौ यो जुनिमा यस्तै भयो । अर्को जुनिमा नहोस् है भनेर सहानुभुति दिन्छन । तर, तिम्रो सीप के छ ? परिवार पनि होलान् कसरी जीवन चलाउदै छौ भनेर कसैकसैले मात्र सोध्छन् ।’ आफ्नै सीपमा बाच्न सकेकोमा उनलाई गर्व छ । दुईछोरी, एक छोरा सहितको परिवार आफ्नै कमाइमा पाल्न सकेकोमा उनलाई सन्तोष छ ।

राजन पौडेल विराटनगर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय