युएईमा महिलाको तस्करी गर्दै नेपाली महिला

कुरा अलि पुरानै अर्थात् दुबई रहँदैको हो । नयाँ एमआरपी पासपोर्ट युएईस्थित नेपाली दूतावासमा पुगेको भन्ने बुझेर अबुधाबी जाँदै थिएँ । आरटी एको सार्वजनिक बसमा वाइफाइबाट मोबाइलमै नेट चलाउन व्यस्त थिएँ । केही नेपालीसहित निकै मानिस बसमा थिए तर सबै आफ्नै सुरमा भएकाले सुनसानजस्तै थियो ।

अचानक छेउमै बसेको एउटा मानिसले हिन्दीमा बोलायो ऊ बंगाली वा पठानी अर्थात् पाकिस्तानी हो भनेर यकिन गर्न सकेको थिइनँ । उसले पनि मलाई बंगाली वा पठानी नै होला भन्ठानेर बोलाएको रहेछ । जब मैले आफू नेपाली भएको बताएँ तब त्यो मानिसको कुरा गराई अलि फरक भयो । त्यो मान्छे बंगलादेशी रहेछ ।

नेपाली हो भन्ने चाल पाउनासाथ उसले निकै कुरा सोध्न खोज्यो हुन् त म ऊसँग खासै कुरा गर्ने मुडमा थिइनँ तर सुरुतिरै बंगाली बन्धुले सोध्यो ( ‘भाइ, मेने सुना नेपालमे तो बहुत इजिसे पासपोर्ट खरिद कर सकता हे, ये बात सही हे ?’ उसको सोधाइले तत्कालै मेरो कन्सिरी तातेको थियो तैपनि सम्हालिँदै जवाफ फर्काएँ (नहीँ नहीँ, येसा नहीँ होता हे, कौन बोला येसा बात ये तो बकबास हे ।’

मेरो कुराले केहीबेर त रनभुल्लमा प¥यो तर केहि बेरपछि भन्यो, ‘भाइ सायद आपको मालुम नहीँ हे, मेरा बहुत दोस्त नेपाल से पासपोर्ट खरिद करके आया हे और वही पासपोर्ट से दुसरा मुलुक भी गया हे ।’ मेरो गावँका एक भैया तो नेपालके पासपोर्ट से दो/चार साल पहले युरोप चलाथा वो अभि भी फेमिलीका साथ युरोप मे हि हे । हाँ मेरे वो भैयाका तो युरोपका सिटिजनसिप भी मिलचुका हे ।’

अब मैले बोल्ने ठाउँ नै भएन । र, बोल्नुको अर्थ पनि थिएन । म अलि च्याँट्ठिएको देखेर होला ऊ बसमा भएका र चिनेका नेपालीसँग चिनजान गराइदिन र कुराकानी गराउन खोज्दै थियो तर मैले त्यसो गर्न चाहिनँ उसले ओकलेको कुराले म दुःखी र मनमनै प्रफुल्लित पनि थिएँ एउटा मसला मिलेकोमा ।

करिब दुई सातापछि, अर्काेपटक अबुधाबी नै जानु थियो । एनआरएन मिडिया टास्कफोर्स सदस्यको नाताले एउटा बैठकमा निम्त्याइएको थियो । जानुपर्ने काम त्यही थियो । महिनाको पहिलो शुक्रबार परेको हुनाले दूतावासमा आएका नेपालीको पासपोर्टको फारम भर्न सघाउने र त्यहीँ मिटिङ गर्ने योजना थियो । त्यस क्रममा दुबईबाट दूतावाससम्म जान आफ्नै सवारी अर्थात् कार हुने साथीले लिफ्ट दिएका थिए ।

यात्राका क्रममा मैले साथीहरूलाई दुई साताअघि एउटा बंगालीले ओकलेका कुरा सुनाएँ । एनआरएन युएई महासचिव गोपाल कँडेलले पनि केही समयअघि आफूले एक जना बंगाली भेटेको र जसले कुराकानीका क्रममा आफूसँग नेपाली राहदानी भएकाले त्यसबाटै युएई आएको बताएको प्रसंग सुनाए ।

अर्काे घटना पनि प्रत्यक्ष देख्न र अनुभव गर्न पाएँ, जसमा मानव तस्करीका जञ्जाल थिए । काठमाडौंबाट युएई भ्रमणमा गएका पत्रकार  सुनील न्यौपानेसँग एक दिन युएईको अजमान घुम्ने मौका मिलेको थियो । कतार जान भनी बिदा लिएको तर कारणवश नगएकाले ड्युटी नभएको साइत पारेर राज बस्नेतको सहयोगमा त्यहाँ गएको थिएँ ।

जब त्यहाँ पुगियो, दृश्य सोचेभन्दा उग्र प्रकृतिका भेटिए । स्थानीय एक नेपाली रेस्टुरेन्ट सञ्चालकको सहयोगमा त्यो अड्डा पुग्दा दुई दर्जन बढी ह्युमन रिसोर्स (म्यानपावर) देखिए । जसमा नेपाली पनि सामेल रहेछन् । हेर्दा सुरुमै पशु हटियातिर पो आइपुगियो कि जस्तो भान हुन्थ्यो ।

सेतो पहिरन लगाएका मुस्लिम अरबीजस्ताको भीड अनि त्योभन्दा ज्यादा देश देशावरका महिलाको घुइँचो । अरबी बजारमा पशु छानेझैँ महिला छानिरहेका देखिन्थे । घरमा काम गर्न उपयुक्त लाग्ने र सस्ता तथा महँगा महिला छान्न तँछाड–मछाड भएझैँ लाग्यो हामीलाई अलि परतिरबाट केहीबेर नियाल्दा ।

हाम्रो इरादा रमिता हेर्ने थिएन, त्यहाँको जटिल परिस्थितिमा जोखिम मोलेरै भए पनि कर्तुत बाहिर ल्याउने आँट गरेका थियौँ । तर, मिसनको भेउ पाए भने ठाउँको ठाउँ हाम्रो इहलीला समाप्त हुन पनि सक्थ्यो । एक त त्यहाँको कानुनले सञ्चारकर्मीको हैसियत दिँदैनथ्यो, हामी या टुरिस्ट थियौँ या त कामदार ।

ती मेनपावर अवैधानिक रूपमा चलेका हुन् भन्ने सूचना मिलेको त हो तर त्यो वैधानिक हो वा होइन भनेर सम्बन्धित निकायमा गई यकिन गर्न खोजे कानुनी फन्दामा जाकिन सक्थ्यौँ । त्यसैले मेनपावर भन्दा झन् अवैधानिक र कमजोर थियौँ हामी, कानुनी नजरमा । अजमानमै भएका एक नेपाली व्यवसायीलाई साथ लिएर उनले चिनेका मेनपावारवाला एन नेपालीलाई भेट्न खोज्यौँ तर ती मान्छे त्यसदिन अड्डामा रहेनछन् । त्यसैले एक जना नेपाली महिलाले नै सञ्चालन गरेको एउटा मेनपावरमा छि¥र्याैं हामी मेनपावरका एजेन्ट अर्थात् दलालको रूप दर्शाएर ।

हामीले एक जना महिला ल्याइदिएबापत पाउने कमिसनको कुरा ग¥र्याैं । त्यसो भएपछि विराटनगर घर बताउने तामाङ्नीजस्ती ती महिलाले त्यो त बसेर कुरा गरौँला नि भनिन् । बरु आफूहरूले महिला कामदार र काम गर्ने महिला खोज्ने अरबीबाट लिने गरेको रकमको पोल खोलिन् । सीप सिकेका महिलालाई बढी तलब दिलाइदिने र रकम पनि दुवै तर्फबाट बढी लिने चलन हुँदो रहेछ ।

एक जना महिलालाई काम लगाइदिने गर्दा चार हजारदेखि सात हजार दिह्रामदेखि डलरसम्म पनि लिने र अरु मुलुकमा पनि लगेर काम लगाइदिने ती महिलाले खुलाइन् । नेपालमा पनि आफ्नै मेनपावर भएकाले सेटिङ मिलाएर भारतको बाटो हुँदै ७०/८० जनासम्म मासिक नेपाली महिला आफ्नोमा आइपुग्ने बताउँदा हामी दंग प¥र्याैं ।

हुन त खतरा मोलेर भए पनि हामीले त्यहाँ भएका कुराकानी र गतिविधिको भिडियो खिचेका थियाँ अति होसियारी र जुक्तिसाथ ।

तलब नपाएर अनि मालिकको कुटाइ खाएर पीडित भई आएका महिला पनि नभेटिएका होइनन् त्यहाँ । मेनपावरले पैसा लिएर काममा लगाइदिए पनि काम मन नपरे वा केही असहज भए अर्काे काममा लगाइदिने र घरबेटीलाई पनि कामदार साट्न सक्ने सुविधा केही समयसम्म दिइन्छ रे ती महिलाको भनाइमा ।

त्यसो त दूतावासले खटाएको भन्दै पासपोर्ट बटुली पैसा असुली गर्ने धन्दाका दलाललाई पनि सञ्चारकर्मीको समेत सहयोगमा एक÷दुईपटक खेदाइएको थियो, युएईमै । अझ मस्टवान्टेड नेपाली बसेको देखिएकै हो । गुन्डागर्दी गर्ने युवा होस् वा गाँजा तानेर रल्लिरहने पनि देखिएकै हुन् । यौन धन्दादेखि डान्स बारमा नर्तकी भएका नेपाली युवती पनि युएई बसाइमा देखिएकै हो ।

जनआस्थामा प्रकाशित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय