युएईमा कार्यरत नेपाली महिला भन्छिन्ः जताततै आँखा गाढेर बस्नेहरु छन्, कसरी जोगिनु ?

रामप्रसाद ढुंगेल, दुबई – न त उनले विदेश आएर कमाउन सकिन्, न त परिवार नै रह्यो । अर्थात उनी परदेशिएपछि उता नेपालमा श्रीमान्ले सौता भित्रियाएछन् । म विदेश हिंडेपछि बुढाले सौता हालेछ । दुई छोरी छन् घरमा तिनको बिजोग भएको छ । सर, मलाई त कहिले यूएई छाडौं जस्तो भएको छ’, यूएईको फुजेरा प्रान्तस्थित डिब्बा नगरपालिकाको एक पसलमा काम गर्ने शान्ति लिम्बुले भेटमा भनिन् ।

घर पाँचथर राँके हो । १५ महिना भयोयूएई आएको । शान्ति स्थानीय स्कुले विद्यार्थीहरूको लुगा बेच्ने पसलमा काम गर्छिन् । म उक्त स्थानमा करिब एक हप्ताअघि खटिएर आएको थिएँ । मुख्य बजारभन्दा चार किलोमिटरको दुरीमा मेरो कार्यक्षेत्र थियो । नाम चलेका केही प्रपर्टीजहरूले नयाँ क्षेत्रमा भवनहरू धमाधम बनाउँदै थिए । नयाँ बस्ती बस्ने क्रममा थियो । पसलहरू फाट्टफुट्ट खुल्दै थिए । एउटा विद्यालय निर्माणकार्य सम्पन्न भएर सञ्चालनको तरखरमा थियो । खासमा त्यो एरियामा अन्य विद्यालयहरू पनि थिए । छात्राहरूको छु्ट्टै स्कुल, अशक्त र अपांगहरूको छुट्टै विद्यालयहरू छन् ।

म नवस्थापित एरियामा सब्जी पसलको खोजीमा थिएँ । सब्जीका लागि चारपाँच किमी टाढाको बजार गइरहनुभन्दा आफ्नो क्षेत्र वरिपरि कुनै भेजिटेबल मार्केट रहेको जानकारीका आधारमा म त्यता गएको थिएँ । निकै प्रयत्नपछि एक सब्जी पसल भेटें अनि सोही पसलको छेवैमा रहेकी शान्तिलाई कपडाका कार्टुनहरू तान्दै बाहिरबाट भित्र लाँदै गरेको अवस्थामा मैले पहिलो पटक देखेको थिएँ ।

बिरानो मुलुकको बिरानो ठाउँमा भेटिएकी नेपाली चेली । आत्मीयता त्यसै पलायो । सानी कदकी नेपाली चेलीले लगभग आफ्नै जिउ जत्रै लुगाका कार्टुनहरू चिल्लो भुईमा घिसार्दै भित्र लाँदै गरेको टुलुटुलु हेरिरहन सकिनँ । केही कार्टुनहरू कोठाभित्र हाल्न सहयोग गरें । उनले सीसी टीभी भएका कारण पसलको ढोकाबाट भित्र नजान सचेत गराईन् । मैले सतर्क भएर सकेको सहयोग गरें ।

केही छिनपछि स्थानीय अरबी मालिक पसलमा आयो । मलाई सामान्य अरबी बोल्न आउने हुँदा आफु यो क्षेत्रको एक सरकारी अफिसको काम गर्न आएको र तरकारी पसलको खोजीमा रहेको आफ्नो सत्यतथ्य जानकारी गराएँ । उक्त पसलले आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भ्याएकै रहेनछ । ऊ भने मेरो पुलिसको जस्तो पोसाक देखेर डराउँदै आएको रहेछ । हुन त मेरो काम पुलिसकै एक विभाग अन्तर्गत परे पनि त्यो मेरो क्षेत्र र चासोको विषय थिएन । उक्त पसलको मालिकसँग हात मिलाएर म फर्किहालेको थिएँ ।

त्यसपछि सब्जी किन्ने दिनहरूमा उनै शान्तिसँग भेट हुन्थ्यो । उनी मुख्य रूपमा खदामा रहिछन् । घरको काम गर्ने भिसामा आएकी रहिछन् । तर, पसलमा काम गर्ने मान्छे नभएका कारण उनी दिउँसोको समयमा त्यहाँ बस्दी रहिछन् । बिहान बेलुका घरको काम भने उनले गर्नुैपर्दो रहेछ । दुईतिर काम गरे पनि उनको मासिक तलब ९ सय दिरहम्समात्र रहेछ । महिनाका ३० दिनै काम गर्नुपर्ने रहेछ ।

इलाम, मंगलबारेका एक राई युवकसँग सानैमा उनले भागी विवाह गरेकी रहिछन् । माओवादी जनयुद्धमा लागेका उनका गरिब श्रीमानले माओवादी शान्ति प्रक्रियामा आएपछि आम्दानीको कुनै बाटो पाएनछन् । दुईटी छोरीका बाबु भइसक्दा पनि परिवारमा लोग्ने जिम्मेवार हुनुको सट्टा जड्याहा बन्दै गएपछि जीवन धान्न धौधौ परेछ ।

आम्दानीको दरिलो श्रोत नभएपछि अन्ततः शान्तिले नै बिदेसिने निर्णय गरिछिन् । बिदेसिँदा शान्तिको एउटै सपना रहेछ छोरीहरूलाई बोर्डिङ पढाउने । तर अहिले उनको सपना साकार हुनु त परै जाओस्, श्रीमानले अर्कै श्रीमती ल्याएर आफ्नो र छोरीहरूको पनि भविष्य बिगारेको दुःखद कहानी बोकेर बसेकी छन् ।

शान्ति अहिले घर र पसलमा गरी दिनको १८ घण्टा काम गर्छिन् । पसलमा काम गर्दा त जसोतसो रमाइलै तरिकाले दिन बिते पनि घरको काम गर्दा धेरै अप्ठ्यारो हुने उनी बताउँछिन् । घरमा काम गर्ने पाकिस्तानी ड्राइभरले एकान्तमा भेट्नै हुन्न शारीरिक सम्बन्धको प्रस्ताव राखिहाल्छ । त्यसका विरुद्धको संघर्ष । त्यसमाथि घरमालिकका १४ र १६ वर्षका दुई छोराले एकान्त भएको मौका छोपी शारीरिक सम्बन्धका लागि गरेको प्रयत्न र त्यसको पनि प्रतिकार ।

त्यतिमात्र होइन, नचिनेका मान्छेले मोबाइलमा गरेका अश्लील तथा वाक्क लाग्दा कुराहरु । शान्तिले एक भेटमा भनेकी थिइन्, ‘जताततै सर्प र बिच्छीहरू छन्, कसरी जोगिनु ? बुढोले पनि सौता हालेछ, । न त छोरीहरूलाई राम्रो बोर्डिङमा पढाउन सकें, न त पैसा भो न त परिवार नै । साँच्चै, ‘सर, मलाई कहिले यूएई छाडौं जस्तो भएको छ ।’

द नेपाली भ्वाईसबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय