
कुवेत, श्रम राज्यमन्त्री टेकबहादुुर गुरुङले नेपालको प्रतिवन्धका वावजुद नेपाली महिला तेश्रो मुलुक भएर खाडीको देशमा पुगिरहेको बताएका छन् । अवुधावी डायलगमा भाग लिन कुवेत पुगेका राज्यमन्त्री गुरुङले नेपालीसँगको अन्तरक्रियाका क्रममा नेपाली महिलाको तस्करी रोक्न नसकिएको बताएका हुन् ।
कामदार पठाउने ११ देशसँगै, कामदार लिने ९ वटा देशका मन्त्री तथा उच्च अधिकारी अवुधावी डायलगमा सहभागि थिए । अबुधावी डायलगमा साइडलाइन कुराकानीका क्रममा आफुले कुवेतका श्रम मन्त्रीसँग घरेलु कामदारका बारेमा छलफल गरेको राज्यमन्त्री गुरुङले बताए ।
महिलाकोे मानवअधिकारको सम्मान गरिनु पर्ने भन्दै राज्यमन्त्री गुरुङले बोलेपछि भनें कार्यक्रमका सहभागिहरुले होहल्ला सुरु गरेका थिए । उनीहरुले म्यानपावर व्यवसायी समेत रहेका राज्यमन्त्रीले घरेलु कामदार पठाउन खोेजेको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले घरेलु कामदारको पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म नेपालबाट महिलालाई घरेलु काम गर्न नपठाइनेमा आश्वास्त पारेका थिए । सचिव सिवाकोटीले भने ‘तपाईहरु ढुक्क हुनुस् बलियो व्यवस्था नभएसम्म महिलालाई घरेलु काममा पठाउने काम एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन ।’
यसैगरी दुतावासमा स्थानीय कर्मचारी नहुँदा परेको समस्या, आवश्यक सामान नहुँदा परेको समस्या तत्काल सम्वोधन हुने आश्वासन राज्यमन्त्री गुरुङ र सचिव सिवाकोटीले दिएका थिए ।
अवुधावी डायलगमा भाग लिन नेपालबाट श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटी र सह(सचिव बुद्धि बहादुर खड्का कुवेत आएका थिए ।
नेपाल कुवेत डटकमबाट