आत्मनिर्भर बनायो सीपले

छतिवन ४ हात्तीखोलाकी सुस्मा खत्री अहिले टेलर्स चलाउँछिन् । १० जनाको संयुक्त परिवारलाई उनले कमाएको पैसाले मज्जाले चलाएको छ । कहिं दौडिनु परेको छैन न कसैको खप्की नै खानुपर्छ ।

स्थानीय शान्ति समिति मकवानपुरमार्फत सिलाइकटाईको तालिम पाएकी द्धन्दपीडित खत्री त्यसपछि भनें आफ्नै बलबुतामा व्यवसायमा लागेकी हुन् । अरु कसैले यसमा सरसहयोग गरेको छैन ।

हुन त सुरुमा तीन महिनाको तालिम दिएपछि थप तालिम दिने भनिएको थियो । तर दिइएन । उनी भन्छिन् तालिम पनि दिने र सिलाइ मेसिन पनि दिने भनिएको थियो त्यो चाहिं कता हरायो थाहा पाइएन । तर पनि त्यहि तालिम नै जीवनयापनका लागि उनलाई पर्याप्त भएको छ ।

यसरी नै सीप सिकेर आत्म निर्भर भएका मकवानपुरमा अरु धेरै छन् । पदमपोखरी ४ की ललिता पाख्रिन कुनै बेला बन्दुक बोकेर क्रान्तिको सपनामा होमिएकी थिइन् । माओवादी जनसेनामा काम गरेकी उनी अहिले हेटौंडाको संगमचोकमा कस्मेटिक पसल सञ्चालन गर्छिन् । आम्दानी पनि राम्रै छ ।

शान्ति समितिले नै दिएको तालिममार्फत एक वर्षअघि कस्मेटिक पसल खोलेको उनी पार्लरको तालिम लिएपछि धेरै फाइदा भएको बताउँछिन् । उनले भनिन्, सामानको नाम चिनेको थिएन, तालिमबाट नै धेरै कुराहरु सिकेपछि पसल राख्न सकें, आम्दानी पनि राम्रै भइरहेछ ।

द्वन्द्वपडितहरुकै क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्थाका प्रतिनिधि भने शान्ति तथा पुननिर्माण मन्त्रालयमार्फत पीडित प्रभावितका लागि भइरहेका काम उति धेरै सन्तोष मान्नुपर्ने खालको नभएको बताउँछन् ।

न्यायका लागि द्वन्द्वपीडित समाज मकवानपुरका अध्यक्ष तेजप्रसाद चौलागाईंले पीडित प्रभावितहरुलाई सक्षम बनाउनको लागि सरकारी तथा गैरसरकारी निकाय समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनी भन्छन्– ‘शान्ति समितिमार्फत दिएको तालिम छोटो समयको रहेछ, सीप दिएको छ, अनि रोजगारको प्रावधान राखिएको छैन जसले गर्दा केही निराशा भने छ ।

स्थानीय शान्ति समिति मकवानपुरले द्वन्द्वपीडित तथा प्रभावितको हक अधिकारको लागि समन्वय गर्दै आएको छ । पीडित प्रभावितलाई रोजगार दिन र विद्यालयका बालबालिकाहरुलाई सकभर निःशुल्क शिक्षा दिन विद्यालयहरुसँग समन्वय गर्दै आएको शान्ति समितिमा रहेका पदाधिकारीहरु बताउँछन् ।

शान्ति समितिले द्वन्द्व पीडित÷प्रभावितलाई विभिन्न समयमा सिलाईकटाई, हातेकडाई, व्युटीसियन, ईलेक्ट्रिसियन (हाउस वायरिङ), बेमौसमी तरकारी खेती तालिममा सहभागी गराएको थियो । द्वन्द्वका क्रममा मकवानपुरमा दुई सय आठ जनाको मृत्यु भएको थियो ।

त्यस्तै चार जना अपहरणमा परेका थिए भनें १५ जना बेपत्ता पारिएका छन् । अपाङ्ग तथा घाइते हुनेहरु ९६ जना गरी ३ सय २३ व्यक्ति द्वन्द्वपीडित÷प्रभावित रहेको स्थानीय शान्ति समितिले जनाएको छ ।

शान्ति समिति मकवानपुरका संयोजक भीमसेन महत द्वन्द्वपीडित प्रभावितको लागि प्रभावकारी कार्यक्रम ल्याउनको लागि स्थानीय स्तरबाटै कार्यक्रम तय गर्न शान्ति मन्त्रालयले ध्यान दिनुपर्ने बताउँछन् ।

स्थानीय शान्ति समितिलगायत द्वन्द्वपीडित प्रभावितहरुलाई नै छलफल गरेर कार्यक्रम ल्याएको भए अझै प्रभावकारी हुन्थ्यो उनले भने । तर, त्यस्तो नभइकन टप टु बटमको कार्यक्रम ल्याइएको छ, यसले द्वन्द्वपीडितलाई जति मद्धत गर्नुपर्ने हो, त्यति भएको छैन उनको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय