एक नभएसम्म हामी हेपिन्छौंः भारतीय साँसद

काठमाडौं(देशपरदेश संवाददाता) भारतको राज्यसभाका सदस्य रामचन्द्र खुटियाले रोजगारीका गन्तव्य मुलुकहरुले कामदार पठाउने मुलुकलाई सदैव हेपाहा व्यवहार गर्ने गरेको बताएका छन् । खाडीका देश तथा मलेसिया लगायतका मुुलुकले सधैं कामदार पठाउने मुलुकलाई हेप्ने गरेको र कामदारका समस्याका बारेमा सामुहिक छलफलमा बस्न इन्कार गर्ने गरेको उनले बताए ।

वैदेशिक रोजगारीका लागि कामदार पठाउने देशका साँसदहरुको भेलामा भाग लिन काठमाडौं आएका क्रममा  खुटियाले रोजगारदाता देशहरुको त्यो व्यवहारका विरुद्धमा एक भएर अघि बढ्न आग्रह गरे ।

उनले नेपालमा आसन्न सार्क शिखर सम्मेलनका क्रममा समेत यसमा नेपाल, भारत, श्रीलंका, वंगलादेश, पाकिस्तान लगायतले साझा धारणा बनाउनु पर्ने र त्यसका लागि दवाव दिइनु पर्ने बताए ।

उनले पछिल्ला तथ्याँकले खाडी र मलेसियामा धेरै नेपाली र भारतीय कामदारको ज्यान गइरहेको र त्यसमध्ये धेरैजसो हृदयाघातका कारण हुने गरेको बताए । फरक वातावरण, अधिक श्रम र स्वस्थ्यकर बसाईको अभावमा धेरै प्रवासी कामदारको निधन भएको छ, कतिपय मृगौला विग्रिएर फर्केका छन्, त्यसैले यसमा तत्काल सुधार गर्न पहल गरिनुपर्छ खुटियाले भने ।

खाडीमा अझ विशेष गरी कतारमा मानवअधिकारको अवस्था खराव छ, ट्रेड यूनियन अधिकार छैन, त्यस्तो अवस्थामा श्रमिकले कसरी काम गरिरहेका छन् यसबारेमा कामदार पठाउने देशका सरकारहरु गम्भीर हुनैपर्छ उनले भने ।

सन् २०२२ मा फुटवलको विश्वकप आयोजना गर्न तम्सिइरहेको मुलुकले यसरी श्रमिकको शोषण गरिरहँदा यसका विरुद्धमा आवाज उठाउनु जरुरी छ खुटियाले भने ।

जसलाई कामदार आवश्यक परेको छ, तिनिहरुले श्रमिकलाई न्यूनतम सुविधा र अधिकार पनि दिनु पर्छ  खुटियाले भने तर यसका लागि कमसेकम कामदार पठाउने मुलुकहरुबीचमा एकता भनें हुन आवश्यक छ ।

विदेशमा रहेका दुतावासहरुले चनाखो भएर काम गरिदिएमा मात्र पनि धेरै समस्या हल हुने भन्दै उनले आइएलओ जस्ता निकायले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । सार्क मुलुकले वैदेशिक रोजगारीमा जाने कामदारको न्यूनतम तलवमा एकरुपता ल्याएमा र श्रमिकले पाउनु पर्ने सुविधाका बारेमा एकमुख भएर बोलेमा खाडीका मुलुक र मलेसियालाई पनि दवाव पर्ने बताए ।

यसैबीच आसन्न सार्क सम्मेलनमा नेपालले वैदेशिक रोजगारका लागि जाने कामदारको समान ज्यालाका बारेमा एजेण्डा उठाउने भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले यसका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गर्दा त्यसको तयार सुरु भइसकेको मन्त्रालयले आफुहरुलाई जानकारी गराएको बताए ।

“यसबारेमा छलफल चलिरहेको छ, सार्कको कुनै एउटा छलफलमा यसलाई उठाइनेछ” परराष्ट्र मन्त्रालयका एक अधिकारीको भनाई उध्रित गर्दै वाग्लेले भने कामदारको न्यूनतम ज्याला र अन्य सुविधाका बारेमा सार्क सम्मेलनमा छलफल हुनेमा आशावादी छौं ।

खाडीका मुलुकमा भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुकबाट धेरै कामदार जाने गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय