काठमाडौं, दमौलीको एक कुखुरा फार्ममा बिहान सबेरैदेखि निकै व्यस्त छन् हिमाल श्रेष्ठ । कुखुराको स्याहार सुसारका लागि उनी प्रशस्त समय छुट्याउँछन् । काम गर्ने अरु तीनजना पनि राखेका छन्, तर उनलाई आफु जति खट्यो व्यवसाय उति फष्टाउँछ भन्ने लाग्छ । ‘आफु नखट्ने हो भने सयजना राख्दा पनि काम हुन्न,’ उनी भन्छन् ‘त्यसैले म बढीभन्दा बढी समय कुखुरा फार्मका लागि दिन्छु ।’
हिमालले दाजु सन्तमान श्रेष्ठसँग मिलेर २०६८ सालमा कुखुरा फार्म सुरु गरेका हुन् । १० रोपनी जग्गा १५ बर्षका लागि भाडामा लिएर व्यवसाय थालेको उनी बताउँछन् । फार्ममा ७ हजार लेयर्स जातका कुखुरा छन् । दैनिक सरदर ३ हजार अण्डा स्थानिय बजारमा नै विक्रि हुने गरेको उनले जानकारी दिए । ‘बजारको बिषयमा मैंले कुनै तनाव लिनै पर्दैन’ उनी भन्छन्, ‘मेरो फार्ममै आएर व्यापारीले अण्डा लैजान्छन् । बरु मेरो फार्मको अण्डा उठाउने बिषयमा व्यापारी–व्यापारीबीच झगडा पर्छ ।’
कुखुरा व्यवसायबाट राम्रो लाभ लिदै जान थालेपछि उनी अव व्यबसाय विस्तारमा ध्यान दिंदैछन् । यहि बर्षको अन्त्यसम्ममा १५ हजार कुखुरा पुर्याउने तयारीमा उनी जुटेका छन् । अझैपनि स्थानीय बजारभन्दा बाहिर जानु नपर्ने र थप केहिलाई रोजगारी मिल्ने उनी बताउँछन् ।
बोर्डिङ, विदेश हुँदै कुखुरा फार्मसम्म
हिमाल श्रेष्ठ आफ्नो उच्च शिक्षा अध्ययन सकेर दमौलीमा नै एक वोर्डिङ सञ्चालन गरेर बसेका थिए । उनले सञ्चालन गरेको बिद्यालय बढ्दै थियो । कक्षा ७ सम्मको पढाई हुन थालेको थियो । तर तत्कालिन माओवादी र सरकारबीच जारि सशस्त्र द्वन्द्वका बेला माओवादीले बोर्डिङ स्कूल बन्द गर्ने अभियान चलायो । यहि अभियानको शिकार भएका थिए श्रेष्ठ पनि । त्यसपछि उनी बिद्यालय बन्द गरेर रोजगारीका लागि दुबई पुगे ।
राम्रो शिक्षा र अंग्रेजी भाषामा दख्खल भएका कारण उनले दुवईमा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारी पाए । राम्रो कमाई हुने भएकाले उनी त्यहाँ १० बर्षसम्म बसेर काम गरे । तर पैसाले मात्र उनलाई आत्मसन्तुष्टि मिलेन । आफ्नै देशमा फर्केर काम गर्ने ईच्छाका कारण उनले त्यहाँको बसाई छोट्याए । त्यहाँको मरुभुमिको उत्पादनले पनि उनको ईच्छामा मलजल गरेको थियोे ।
‘बालुवानैं बालुवा भएको जमिनमा इरानबाट किनेर ल्याएको माटोमा मन लोभिने उब्जानी हुन्थ्यो’ उनी सम्झन्छन्, ‘हामिलाई त प्रकृतिले नैं सुन फल्ने जमिन दिएको छ ।’ मरुभूमिको मेहेनत देखेर उनी आफ्नै देशमा गएर काम गर्ने इच्छाका साथ बैंकको जागिर छोडेर नेपाल फर्के र कुखुरा फार्म सुरु गरे ।
सफलताको कडी
सबैभन्दा बढी उनी आफ्नै मेहेनतमा बिश्वास गर्छन् । त्यसबाहेक बिशेषज्ञहरुसँग नियमित सम्पर्कले पनि आफ्नो व्यवसायले सफलता पाएको उनको भनाई छ । उनले बिशेषज्ञसँगको सम्पर्कमा रहनका लागि प्रविधिलाई भरपुर उपयोग गरेका छन् । ईन्टरनेटका माध्यमबाट बिदेशमा गरिने कुखुरापालन र नयाँ–नयाँ प्रविधिका बारेमा उनी नियमित अपडेट भइरहन्छन् । यसका साथै अन्र्तराष्ट्रिय बिशेषज्ञहरुसँग ईन्टरनेटमार्फत आफ्नो समस्या र जिज्ञासा पनि नियमित राख्छन् । यसो गर्नाले कुखुरा पालनका क्रममा आउने समस्याहरु सजिलै समाधान हुने गरेको उनले बताए ।
उनको यहि सम्पर्कको आधारमा बिदेशी बिशेषज्ञहरु पनि फार्म घुम्न आउने गरेको उनले जानकारी दिए । केहि समय अघि फिलिपिन्स र बंगलादेशका पशु चिकित्सक आफ्नो फार्म अध्धयन गर्न आएको श्रेष्ठको भनाइ छ ।