
काठमाडौं, २५ असोज– उद्योगप्रतिष्ठानमा कामदार नियुक्त भएका दिनदेखि नै स्थायी कर्मचारीसहर सबै किसिमका सेवासुविधा पाउने गरी नयाँ श्रम ऐन बनाउन रोजगारदाता र ट्रेड युनियनहरुबीच सहमति भएको छ । रोजगारदाता र ट्रेड युनियनबीच शुक्रबार भएको अन्तिम सहमित अनुसार नयाँ श्रम ऐनमा कुनै पनि उद्योग प्रतिष्ठानले नयाँ कर्मचारी वा कामदार नियुक्त गर्ने वित्तिकै स्थायी कर्मचारीले पाउने गरेका सबै सेवा सुविधा दिनुपर्ने व्यवस्था गरिने भएको छ । हालको श्रम ऐनमा स्थायी कर्मचारीले पाउने गरेको सञ्चय कोष, उपदान, बोनस, बिदालगायतका सुविधा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई दिनुपर्ने अनिवार्य व्यवस्था छैन । रोजगारदाता पक्ष र प्रमुख ट्रेड युनियनहरुबीच भएको सहमतिले कानुनी मान्यता प्राप्त गरेपछि भने सबै किसिमका कामदार तथा कर्मचारीलाई स्थायीलाई सरह सेवा सुविधा उपलब्ध गराउनु पर्ने बाध्यता रोजगारदातालाई हुनेछ । यसअघि सरकार, निजी क्षेत्र र मजदुरका प्रतिनिधि गरी तीनै पक्ष सम्मिलित अध्ययन समिति बनेको थियो । अहिलेको श्रम ऐनमा १० जना भन्दा कम कर्मचारी भएका साना उद्योगमा श्रम ऐन कार्यान्वयन गर्नुनपर्ने रहेकोमा अबदेखि भने जतिजना कामदार भएपनि ऐन अनुसार सेवा सुविधा दिनुपर्ने सहमति पनि भएका आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार लेखेको छ ।