
लक्ष्मण खनाल, युएई- रोजगारीको शिलशिलामा युएई आएर बेपत्ता भएका फुलमान घर्ती भेटिएका छन् । बुढा गाउँ ८ तलबाङ्ग रोल्पा स्थानिय घर भएका भिमे घर्तीका छोरा १८ बर्षिय फुलमान बेपत्ता भएका थिए । गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद् मध्यपुर्व संयोजक चन्द्र रोकाहाको विषेश पहलमा उनको खोजी कार्य भइरहेको थियो । युएईको स्थानीय प्रशासनले उनलाई फेला पारेर उनी कार्यरत कम्पनीलाई हिजो बुझाएको छ ।
उनी कार्यरत एक्सेस मेड सेफ स्काफोल्डिङ कम्पनीका पिआरओ अनुसार उनी बेपत्ता भएपछि कम्पनीले स्थानीय प्रशासनमा अवैधानिक भएको भनि उजुरी दिएको थियो । पछि प्रशासनले उनलाई मानसिक अवस्था असन्तुलन भएको अवस्थामा भेटी हस्पिटलमा भर्ना गरेको र होशमा आरपछि कम्पनीलाई बुझाएको रहेछ । हाल उनी सामान्य अवस्थामा रहेका छन ।
उनलाई भेट्न कम्पनी आवासमा पुग्दा उनी होशमा थिए । कुराकानीको क्रममा उनले भने – “२५ अगस्त २०१४ मा युएई आएको र कम्पनीमा १३ दिन सम्म काम गरेको स्मरण मा छ त्यसपछि म कहाँ गए, के गरे केही जानकारी छैन हिजो मात्र होशमा आए ।” अहिले आफु पुर्ण रुपमा स्वस्थ रहेको र कम्पनीमा काम गर्ने मनशायमा रहेको जानकारी दिए । एनआरएनए आइसिसि मध्यपुर्व संयोजक चन्द्र रोकाहाले उनलाई नेपाल फिर्ता पठाउन आवश्यक प्रक्रिया अगाडी बढाएको कुरा जानकारी दिए । उनलाई युएई पठाउने म्यानपावर कम्पनीसंग पनि सम्पर्क भैरहेको र आवश्यक प्रशासनिक प्रक्रिया गरी नेपाल पठाइने पनि जानकारी दिए । यता कम्पनी पिआरओले पनि उनलाई प्रक्रिया मिलाएर केही दिन भित्रै नेपाल पठाउने कुरा जानकारी दिएका छन ।