महिनामैं लाख कामदार माग

काठमाडौं, २४ असोज– म्यानपावर एजेन्सिहरुले भदौमा मलेसीया र खाडीलगायतका मुलुकबाट १ लाखभन्दा बढी नेपाली कामदारको माग ल्याएका छन् । यो संख्या गत बर्षको सोही अबधिको भन्दा २ सय ३१ प्रतिशतले बढी हो । गत बर्ष भदौमा म्यानपावरहरुले ३० हजार ३ सय ३० कामदारको माग ल्याएका थिए । बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार म्यानपावर एजेन्सिहरुले भदौमा विभिन्न मुलुकबाट १ लाख ४ सय ६६ कामदारको माग ल्याएका हुन् । कुल मागको ५१ प्रतिशत अर्थात ५१ हजार ५ सय ५१ कामदार विदेश गइसकेका छन् । खाडी मुलुकमा पुर्वाधार निर्माण तिव्र हुनु र मलेसियाले बंगलादेशी नागरिकलाई बन्द गरेर अदक्ष नेपाली कामदार लिएकाले माग ह्वात्तै बढेको विभागले जनाएको छ । भदौमा सबैभन्दा बढी माग कतारबाट आएको छ । कतारबाट ४७ हजार ९५ कामदारको माग आएको छ । कतारको माग र जाने कामदारको अन्तर धेरै छ । निर्माण क्षेत्र(कडा काम) मा बढी माग आउने भएकाले माग बमोजिम कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यबसायी बताउँछन् । कतारमा मागको ४१ प्रतिशत अर्थात १९ हजार ६ सय ६५ नेपाली गएका छन् । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागी आबश्यक रंगशाला र पूर्वाधार निर्माणको काम कतारमा तिव्र छ । कतारले विश्वकपका लागि भनेरै ५ लाख नेपाली कामदार लिने घोषणा गरिसकेको छ । मलेसियाबाट २८ हजार १ सय ९१ माग आएकोमा २३ हजार ३ सय ४६ र साउदी अरबबाट ९ हजार ६ सय २९ माग आएकोमा ८ हजार ८ सय २८ कामदार गइसकेका छन् । मलेसिया र साउदी अरबमा माग र जाने कामदारवीच खासै अन्तर छैन । मलेसियामा हावापानी राम्रो र कम्पनीभित्र काम हुने भएकाले माग अनुसार कामदार जान्छन् भने साउदी अरबमा कामदारको भिषा चाँडो आउँछ । संयुक्त अरब इमिरेट्स(युएई)बाट १२ हजार ८ सय ५४ माग आएकोमा ५ हजार ९१, कुवेतबाट १ हजार ८ सय ५० माग भएकोमा ७ सय २७ र बहराइनबाट ७ सय ३६ माग भएकोमा ४ सय ३२ कामदार गएका छन् । चालु आवको दुई महिनामा १ लाख ७२ हजार ३ सय २७ माग भएकोमा ९३ हजार ८ सय ६० कामदार बिदेसिइसकेका छन् भने गत आवको सोही अवधिमा ७९ हजार ७ सय ७८ माग आएकोमा ७० हजार १ सय ५१ कामदार बिदेसिएका थिए । हालसम्ममा ३५ लाख ४० हजार ९ सय १६ कामदार विदेश पुगेका छन् । त्यसमध्ये ३.३३ प्रतिशत अर्थात १ लाख १८ हजार ४९ महिला छन् । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: