
बागलुङ, २२ असोज–लामो समयसम्म विदेशमा काम गरेको अनुभवले यहाँका युवाले व्यबसायीक तरकारी तथा जडिबुटी खेती सुरु गरेका छन् । बागलुङको दगातुम्डाँडा गाविस ९ का युवाले मिलीजुली कृषि समुह गठन गरी व्यबसायीक खेती थालेका हुन् । गाविसको गिरिंदोखोला नजिकै १० रोपनी जग्गा पाँच बर्षका लागि भाडामा लिएर व्यबसायीक खेती सुरु गरेका समुहका अध्यक्ष धनबहादुर पुनले बताए । उनले खेती सुरु गरेको एक बर्षमा १५ वटा टनेल निर्माण गरी गोलभेडा र खुर्सानी खेती गरेको जानकारी दिए । ‘कृषिलाई व्यबसायीक रुपमा अगाडी बढाउने योजना अनुसार कृषि समुहमा आबद्ध सात जना किसानले लगानी गरी खेती सुरु गरेका हौं,’ अध्यक्ष पुनले भने, ‘व्यबसायीक खेतीका लागी १५ लाख लगानी भएको छ ।’ उनका अनुसार समुहले लगानी बढाउने योजना बनाएको छ । समुहले सोही क्षेत्रमा जिल्लामानैं पहिलोपटक व्यबसायीक रुपमा घ्युकुमारी पनि खेती गरेका छन् । एक लाख ८० हजारमा भारतबाट बीउ ल्याएर घ्युकुमारी खेती गरेका हुन् । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।