
अर्घाखाँची, २१ असोज– मनग्गे आम्दानी हुन थालेपछि गाउँका महिला ढाका उद्योगतिर लागेका छन् । गाउँमा चुलोचौको र घाँसपात गरेर दिन गुजारा गर्ने महिलाहरु यतिखेर ढाकाको तानमा व्यस्त हुने गरेका छन् । किमडाँडाकी मिना केसी गृहणी हुन् । घरमा नुन, चिनि किन्न पनि श्रीमानको कमाई कुर्नुपथ्र्यो । अहिले उनको दिनचर्या फेरिएको छ । घरखर्चमात्र हैन छोराछोरीको पढाईखर्च पनि आँफै व्यहोर्छिन् । घरमा घाँस दाउराको दिनचर्या फेरिएको हो । अहिले उनलाई ढाका बुनाईमा भ्याईनभ्याई छ । ‘जीवन यसरि फेरिँदो रहेछ,’ उनले भनिन् ‘घरमा भैंसी पालेर बसेको दिनचर्यामा हातमा एक पैसा देख्नपाईदैनथ्यो । अहिले ढाका बुनाईको सीपले जीवनमैं परिवर्तन आएको महशुस भएको छ ।’ उनीसहित थुप्रै महिला ढाका बुनाईमा ब्यस्त छन् । यो सीपले महिला आत्मनिर्भर बनेका छन् । महिला बिकास कार्यालय र किमडाँडाको लाली गुराँस महिला तथा बिकास बचत समुहको संयुक्त सहयोगमा महिलाहरु ढाका बुनाईमा लागेका छन् । ढाकाको कपडा किन्न घरमैं ग्राहक आउँछन् । ‘तीन महिने तालिमबाट १२ जनाले ढाका बुनेका छन्,’ बचत समुहकी अध्यक्ष जानका बञ्जाडेले भनिन् ‘ढाकाको टोपी, सल, मायाँको चिनो, स्टकोट, सुट, चोलो घरेलु मेसिनमा बुन्ने गर्छन् ।’ यो कपडा लामो समय टिक्ने भएकाले किन्नेको भीडभाडनैं हुन्छ । बचत समुह मार्फत पसल सञ्चालन गर्ने तयारीमा लागेको उनले बताईन् । समुहमा आबद्ध अरु महिलालाई पनि तालिम गराएर ठुलै उद्योगको रुपमा बिकास गर्ने लक्ष्य रहेको बञ्जाडेले बताईन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।