
गोरखा, २१ असोज–पुर्वप्रधानमन्त्रि तथा एकीकृत माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफु जन्मेको गाउँमा बाख्रापालन व्यबसाय थालेका छन् । यसमा उनले खोपलाङ–४ बेल्बासका स्थानीयलाई साथ लिएका छन् । उनले स्थानीयलाई साथ लिएर दोलेको दिपेश–राजु स्मृती कोष सहकारीमार्फत बाख्रापालनको काम थालेका छन् । सहकारीमा भट्टराईपुत्री मानुषी यमी भट्टराई अध्यक्ष छिन् । बाबुराम सल्लाहकार सदस्य छन् । बाख्रापालनका लागि अहिले ३८ रोपनी पाखोबारी भाडामा लिएर घाँस रोप्ने काम भइरहेको छ । ‘गाउँतिरको जमिन बाँझो रहने, युवाहरु बिदेसिने, भएका स्रोतसाधन खेर गइरहेकोले सदुपयोग गर्न बाख्रापालन सुरु गरिएको हो ।,’ अध्यक्ष मानुषीले भनिन्, ‘स्थानीयलाई रोजगारी दिन र युवालाई व्यबसायीक खेतीमा लगाउन युवाकै सक्रियतामा सुरु गरेका हौं ।’ ‘गोरखा जस्तो पहाडी जिल्ला बाख्रापालनका लागि उपयुक्त रहेकाले हावापानी सुहाउँदो कृषिलाई व्यबसायीक बनाउने उद्देश्यले पहिले बाख्राबाट व्यबसाय सुरु गरेका हौं,’ मानुषीले भनिन्, ‘घाँस हुर्कदै छ, एक महिनाभित्र पहिलो चरणमा ५० वटा बाख्रा ल्याउँछौं ।’ पुर्वप्रधानमन्त्रि भट्टराईले गुजारा चलाउने खेतीले माथी उठ्न नसक्ने हुँदा व्यबसायीक खेतीमा लाग्नुपर्ने बताए । ‘कृषि क्षेत्रमा लगानी र कृषि व्यबसाय गर्ने युवालाई ऋणमा सहुलियतको व्यबस्था हुने हो भने व्यबसाय गर्नेहरुपनि बढ्छन्,’ भट्टराईले भने । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।