आम्दानीको गतिलोे श्रोत बन्दै डोजर तालिम

विनोद चौलागाईं, काठमाडौं – ज्यानमा बल थियो । दिएको काम फत्ते गर्न कसो गाह्रो पर्ला भन्ने लाग्थ्यो । त्यसैले आँटकै भरमा तनहुँका पविन गुरुङ बहराईन पुगे । तर हातमा कुनै सीप थिएन । जस्तो काम पाईन्छ त्यस्तै गर्छु भनेर बिदेशीएका पविनले पाए हेल्परको काम । निर्माण क्षेत्रको काममा धेरैजसो खटिनुपथ्र्यो । ज्याला पनि थोरै पाइन्थ्यो । सीप विनाको काममा विदेशमा केहि वर्ष पसिना बगाएपछि लाग्यो यहि तालले धेरै कमाईन्न । त्यसैले फर्किए नेपाल ।  केहि रकमको जोहो त भएको थियो विदेशमा तर नेपाल फर्केपछि त्यसलाई लगानी गर्ने मेलोमेसो पनि मिलेन । फेरी उहि चक्र चलिरह्यो । पालैपाले दुबई, कतार र साउदी समेत पुगे उनी । घुम्दैफिर्दै सात महिना अघि फेरी उनी नेपाल आइपुगे । अव विदेश नै गएपनि केहि सीप त सिकेरै जानुपर्छ नत्र यतै केहि गर्छु भन्ने लागेको छ उनलाई । त्यसैले उनी अहिले हेभि इक्वीपमेन्ट चलाउने तालिम लिँदै छन् । बाटो खन्न, सडक सम्याउन चाहिने हेभी ईक्वीपमेण्ट भनिने लोडर, रोलर, डोजर, एक्साभेटर चलाउनु कमाईका हिसावले पनि आकर्षक काम हो । सडक, हाइड्रोपावर, सिंचाई परियोजना, ठूला–ठूला घर जस्ता पुर्वाधार बन्ने क्रम बढेपछि यस्तो काम गर्नेको माग बढेको छ । पविन भन्नुहुन्छ–‘सकेसम्म स्वदेशकै यहि मौका समात्ने कोशिस गर्दैछु ।’ SAM_8845 यस्तै मौका खोज्न हेवि इक्वीपमेण्ट चलाउने तालिम लिनेहरु हिजोआज बढेका छन् । सिन्धुपाल्चोक हेलम्बुका रिन्कु लामाको सपना पनि उस्तै छ सीप सिकेर स्वदेशमैं काम गर्ने । बाल्यकालमैं भारत पसेर उतै चालक भएर काम गरेका रिन्कुले डोजर चलाउँदा सजिलै गुजारा चलाउन सक्ने संभावना देखेका छन् ।  तालिम सकिएपछि उनी नेपालमा चलिरहेका परियोजनाहरुमा काम खोज्न जाने सुरमा छन् । ‘काम पाएँ भने यतै बसेर काम गर्छु’ उनी भन्छन्–‘नेपालमा काम पाईएन भने बिदेशमा त हामीले गर्ने कामको राम्रो दाम पाईहालिन्छ ।’ SAM_8855 पविन र रिन्कु जस्तै केहि युवा उन्नतीको सपना बोकेर सानोठिमि प्राविधिक बिद्यालयमा एक महिने हेभि ईक्वीपमेण्टको तालिम लिईरहेका छन् । यस्ता तालिम लिएका युवाहरुले खाली हात बस्नुनपर्ने जेसीबी अप्रेटर तालिम केन्द्रका ईञ्चार्ज प्रमोद सत्याल बताउँछन् । तालिम सकिएपछि सुरुमा अप्रेटरले महिनामा ६ हजारदेखि १० हजारसम्म तलव र प्रतिघण्टा एक सयदेखि डेढ सय रुपैंयासम्म भत्ता पाउने उनको भनाई छ । हेवी ईक्वीपमेण्ट चलाउने तालिम लिनेहरुको संख्या बढ्दै गएपनि कामको अभाव भनें छैन । नेपालमा हाल बर्षमा चार हजार जति एक्साभेटर भित्रिने गरेका छन् । त्यसैले अहिले पनि हेवी इक्वीपमेण्ट चलाउनेको माग उच्च छ । त्यसैले दक्ष प्राविधिक उत्पादन गर्ने उद्देश्यले तीन बर्ष अघिदेखि मोरङ अटो वक्र्स र सानोठिमी प्राविधिक बिद्यालयको सहकार्यमा तालिम सञ्चालन भइरहेको छ । हाल बर्षमा ४ सय २० जनालाई तालिम दिने गरिएको सत्याल बताउँछन् । SAM_8864 आठ कक्षा उत्तिर्ण गरेका, १८ बर्ष पुगेकाले २० हजार तिरेपछि यस्तो तालिम लिन पाउँछन् । तालिम सकिएपछि राष्ट्रिय सीप परिक्षण समितिबाट लेभल एक प्रमाणपत्र र जेसीबी डिलरको प्रमाणपत्र पाईन्छ । यि प्रमाणपत्रले दक्षिण एसिया र खाडी मुलुकमा राम्रो मान्यता पाएको छ । त्यसैले कुनै सीप विना लेवरको काम गर्न खाडीका देश जानेहरुका लागि मात्र नभइ स्वदेशमै अवशर खोज्नेहरुका लागि पनि हेवी इक्वीपमेण्ट चलाउने तालिम रोजगारी र आम्दानीको राम्रोे विकल्प बन्न सक्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय