काठमाडौं, असोज २७-
गैर आवासीय नेपाली संघ(एनआरएनए) को नवौं विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनको चटारो सुरु भएको छ । मंगलवार सुरु हुने सम्मेलनको सम्पूर्ण तयारी सकिएको आयोजकले जानकारी दिएका छन् । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सम्मेलनमा ८१ देशमा छरिएका झण्डै २३ सय गैर आवासीय नेपाली प्रतिनिधिले भाग लिनेछन् । महासचिव बद्री केसीले १ लाख सदस्यहरुबाट छानिएका २८ सय प्रतिनिधि मध्ये २२ देखि २३ सय सहभागि हुने अनुमान गरिएको बताए ।
यसैबीच निर्वाचन नजिकिएसँगै एनआरएनएमा नयाँ नेतृत्वका लागि अन्तिम कसरत सुरु भएको छ । आगामी कार्यकालका लागि यसअघि नै वर्तमान उपाध्यक्षहरु कुमार पन्त तथा कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षका प्रत्यासी दुवैले आफ्नो प्यानल नै लिएर निर्वाचनमा होमिएका छन् । आचार्य काँग्रेस पक्षको उम्मेदवारका रुपमा चिनिएका छन् भनें पन्त नेकपा पक्षका उम्मेदवारका रुपमा चिनिएका छन् ।
आचार्यले सोमवार पत्रकार सम्मेलन गरी आफ्नो प्यानको पदाधिकारीको घोषणा गरे । उनको प्यानलबाट उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापालाई अगाडी सारिएको छ । यसैगरी महासचिवमा जानकी गुरुङलाई उठाउने तय भएको छ भनें कोषाध्यक्षमा सोम सापकोटा अगाडी सरेका छन् ।
यसअघि अध्यक्षका लागि आक्रामक रुपमा चुनाव प्रचारमा उत्रिइसकेका पन्तको प्यानलबाट उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी, हिम्मत थापा र सपिलाराज भण्डारी रहने बताइएको छ । महासचिवमा डा. हेमराज शर्मालाई अगाडी सारिने अनुमान छ । कतारका व्यवसायी आरके शर्मा, बेल्जियमका शिव बरुवाल र लोेकप्रसाद दाहाल पनि उनको समुहमा नै रहेका छन् ।
