रञ्जना लम्साल, कावासोती, चैत्र २१-
धेरै पैसा कमाउने रहर कसलाई हुँदैन र ? पैसा कमाएर परिवारलाई सुखसँग पाल्ने चाहना कसको हुँदैन र ? त्यही रहरले गर्दा विदेश जान भन्दै राजीनामा पास गरेर दिएपनि बैदेशिक रोजगारमा जान नपाएका एक व्यक्तिको गैंडाकोट नगरपालिकाको २ कठ्ठा जग्गा १३ बर्ष पछि फिर्ता भएको छ ।
गाउँमा एकजना एजेन्ट थिए, गैंडाकोट ५ का दशरथ गिरी । उनले युवाहरुलाई विदेश पठाउने काम गर्दथे । मनवीर पनि दशरथको सम्पर्कमा पुगे । गाउँ छिमेककै व्यक्तिले विदेश पठाइदिन्छु भनेपछि मनवीर विदेश जान तयार भए । धेरै पैसा कमाउने सपना बुन्दै घर फर्किए र बुवासँग अनुमति मागे । बुवा लक्ष्मण दर्जी लगायतका घरका अरु सदस्यहरुले पनि स्वीकृति दिए ।
घर परिवारबाट पाएको स्वीकृतिको खुसीसँगै मनवीरलाई अर्को चिन्ता आइलाग्यो, कतार जानका लागि पैसा कसरी जुटाउने ? दशरथले कतार जान ८५ हजार रुपैयाँ बुझाउनुपर्ने भनेका थिए ।
छोराले विदेश गएर कमाइहाल्छ, ८५ हजार फिर्ता गर्न कति पो गाह्रो होला र ? भन्ने सोचेर लक्ष्मण दर्जीले आफ्नो नाममा रहेको दुई कठ्ठा जग्गा दशरथका नाममा रजिष्ट्रेशन पास गरिदिने र छोरो मनवीरलाई कतार पठाउने निश्कर्षमा पुगे ।
गाउँका चारजना साक्षी बसे । कित्ता नम्बर १२६० को दुई कठ्ठा जग्गा लक्ष्मणले दशरथकी श्रीमती शुभलक्ष्मी गिरीका नाममा पास गरिदिए । तर, जग्गा हात परेपछि विदेश पठाउनु त कता हो कता दशरथ गिरी सम्पर्कमै आउन छोडे ।
गिरीको घरमा जाँदा थाहा भयो, उनीहरु सपरिवार घर जग्गा सबै सम्पत्ति बेचेर गैंडाकोटबाट अन्यत्रै गइसकेका रहेछन् । विदेश जाने रंगीन सपना बुनेका दर्जी परिवारका सदस्यहरु छाँगाबाट खसेजस्तै भए ।
दिन बिते, महिना बिते तर मनवीर दर्जीको विदेश जाने दिन आएन । जग्गा पनि गयो, विदेश पठाइदिन्छु भन्ने मान्छे पनि वेपत्ता भयो । दर्जी परिवारमा पीर थपिँदै गयो । अन्ततः छोरालाई विदेश पठाउने सपना अधुरै भयो भने भएको जग्गा पनि अर्काको नाममा रजिष्ट्रेशन पास गरिदिएपछि उनीहरु सुकुम्बासी भए । त्यसैको कारण परिवारमा कलहसमेत सुरु भयो । दिनहुँ परिवारमा झगडा हुने स्थितिको सिर्जना भयो । सुखी जीवन जीउने र खुशी र सम्पन्न परिवारको रुपमा समुदायमा स्थापित हुने आशा निराशामा परिणत भएपछि लक्ष्मण दर्जीले घरभित्रै आत्महत्या गरे ।
विदेश जान तयारी अवस्थामा बसेका मनवीर दर्जी र उनका दाजु भाईले एजेन्ट खोज्न हरसम्भव प्रयास गरे । एजेन्टको खबर कतै पाएनन् । ज्याला मजदुरीमा पालिएको परिवारले उनलाई खोजीरहने समय पनि थिएन । परिवार पाल्न भन्दै मनवीर भारतमा काम गर्न लागे र समय मिलाएर दाजु भक्त बहादुर दर्जी एजेन्टको खोजी गर्न र आफ्नो जग्गा फिर्ता गर्नका लागि चारैतिर धाउन थाले । न्यायका लागि इलाका प्रहरी, तत्कालिन गा.वि.स. कार्यालयसम्म पटक पटक पुगे । तर उनले न्याय पाउन सकेनन् ।
यसै क्रममा उनी २०७२ सालमा सूचना तथा परामर्श केन्द्र, कावासोतीको सम्पर्कमा आए । गैंडाकोटमा सञ्चालन भएको वित्तीय साक्षरता कक्षा मार्फत सामी परियोजनाको बारेमा जानकारी पाएका दर्जी परिवार न्यायको ठूलो आशा लिएर सूचना केन्द्रमा पुगेका थिए ।
सुचना केन्द्रले २०७२ सालमा कावासोतीमा पत्रकार सम्मेलन मार्फत दर्जी परिवारको समस्या सार्वजनिक गर्यो । एजेन्टको खोजीको लागि तत्कालीन ईलाका प्रशासन कार्यालय मार्फत प्रहरी कार्यलयमा निवेदन दियो । प्रहरी कार्यलयमा निवदेन दिएपनि त्यसबाट केहि सफलता हासील हुन सकेन ।
लामो समय पछि सुचना केन्द्रमा एजेन्टको हालको ठेगाना पत्ता लाग्यो र यहि विषय गैडाकोट नगरपालिकाको समन्वयात्मक बैठकमा पनि उठाईयो । उपमेयरको संयोजकत्वमा बनेको समितिमा घटना दर्ताको प्रक्रिया शुरु भयो । यता सुचना केन्द्रले प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको सल्लाहामा घटना अगाडी बढाईरहेको थियो ।
सोहि समयमा एजेन्ट दशरथ गिरी फेसबुक मार्फत सूचना केन्द्रको सम्पर्कमा आए । उनीहरुको जग्गा फर्काउन आफुले ढिलो गरेको भएपनि नदिने नियत आफुहरुको नभएको बताउँदै घटना अगाडी नबढाउन गिरीले सूचना केन्द्रमा अनुरोध गरे ।
साथै गैडाकोट नगरपालिकाका उपमेयर बिष्णु कुमारी कंडेलले पनि एजेन्ट र उनका परिवारसँग कुराकानी गरि जग्गा फिर्ताको लागि थप सहयोग गरिन् । एजेन्ट गिरी जग्गा पास गर्न तयार भए ।
अन्ततः १३ बर्ष पछि दर्जी परिवार जग्गा फिर्ता लिन सफल भयो । जग्गा फिर्ता पाएपछि भक्त बहादुर दर्जीले भने अव जग्गा आफ्नो नाममा आउँछ भनेर विश्वास हराईसकेको थियो, तर फिर्ता हुँदा खुशीको सिमा छैन ।
एजेन्ट गिरीले १३ बर्ष अघि पास गरेको लक्ष्मण दर्जीको नाममा रहेको जग्गा अन्ततः लक्ष्मण दर्जीकी श्रीमती उजेली दर्जीको नाममा फिर्ता भएको हो ।
यो पनि पढ्नुहोस् नेपाली नागरिकको सुरक्षा र संरक्षण राज्यको दायित्व होः पूर्व राजदूत पाण्डे
