काठमाडौं । कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् । कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् ।
कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ । भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने दूतावासले जनाएको छ ।
साउदी भिसाका लागि अनलाइन मार्फत आवेदन दिन अनुरोध गरिएको छ। मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपालीका लागि उक्त व्यवस्था मिलाइएको हो ।
