काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेरिङ कमिटीले संघको १२औँ महाधिवेशनको मिति पुनःनिर्धारणदेखि सदस्यता व्यवस्थापन, स्थल तथा इभेन्ट म्यानेजमेन्ट छनोटलगायत महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले यसअघि फेब्रुअरी २३–२५ का लागि तय गरिएको १२औँ महाधिवेशनको मिति परिवर्तन गर्दै आगामी मार्च १४, १५ र १६ लाई नयाँ तथा अन्तिम मितिका रूपमा तोकेको छ।

बैठकले नयाँ तथा छुटेका सदस्यता आवेदनको समयावधि नेपालको समय अनुसार जनवरी २५, २०२६ राती १२ बजेसम्म विस्तार गर्ने निर्णय गरेको छ। समानान्तर रूपमा गठन भएका राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) ले अन्य पोर्टलमार्फत तयार पारेका सदस्यहरूको विवरण पनि सोही मितिभित्र बुझाइसक्नुपर्ने बैठकको निर्णय छ। सो मितिपछि प्राप्त सदस्यता मर्ज तथा नवीकरण नहुने स्पष्ट गरिएको छ।

उक्त सदस्यता विवरण संकलनको समन्वय महासचिव बीआर लामा र अध्यक्ष महेश कुमार श्रेष्ठले गर्नेछन्। साथै, प्राप्त सदस्यता र गत मे ३–५, २०२५ मा सम्पन्न एकताको महाधिवेशनबाट दर्ता भएका एनसीसी सदस्यहरूको तथ्याँक एकिकृत गरी आवश्यक कागजात पुष्टि प्रक्रिया पूरा गरेर जनवरी ३१, २०२६ राती १२ बजेसम्म अन्तिम सदस्यता विवरण सार्वजनिक गर्ने निर्णय गरिएको छ।

बैठकले १२औँ महाधिवेशनका लागि यसअघि टेन्डर प्रक्रियाबाट छनोट भएका होटल तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई नै निरन्तरता दिने निर्णय गरेको छ। सो अनुसार महाधिवेशन काठमाडौंस्थित होटल सोल्टीमा आयोजना हुनेछ भने इभेन्ट म्यानेजमेन्टका लागि भोग एड एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी छनोट गरिएको छ।
बैठकले समानान्तर एनसीसीहरूसँग स्टेरिङ कमिटीको बैठक आयोजना गरी १२औँ महाधिवेशनमा सहभागिता सुनिश्चित गर्न तथा एनसीसी एकताको वातावरण निर्माण गर्ने निर्णय पनि गरेको छ। साथै, निर्वाचन प्रक्रियासम्बन्धी विषयमा दुवै पक्षका कानूनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरी अगाडि बढ्ने संघको सचिवालयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।

स्टेरिङ कमिटीका यी निर्णयहरूले एनआरएनएभित्रको एकता सुदृढ गर्दै समयमै महाधिवेशन सम्पन्न गर्ने आधार तयार गरेको संघको विश्वास छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय