गुल्मी । रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्तको दैनिकी अचेल फेरिएको छ । देशमा लगानीको वातावरण नभएको भन्दै धेरैजसो युवा विदेश पलायन भइरहँदा रवि भने बिहान–बेलुका दूध सङ्कलन र दिउँसो परिकार बनाउनमै व्यस्त हुन्छन् । ६ वर्ष दक्षिण कोरियामा पसिना बगाएर फर्किएका उनी अहिले आफ्नै गाउँको दुग्ध व्यवसायमा रमाइरहेका छन् ।

रिडीमा ‘गौरव दूध डेरी’ सञ्चालन गरेका रविले दूधबाट छुर्पी, पनिर, दही, कुराउनी र घ्यूलगायतका परिकार बनाएर बेच्छन् । उनको डेरीमा दैनिक औसत एक हजार १०० लिटर दूध जम्मा हुन्छ । यसमध्ये ८० प्रतिशत दूध छत्रकोट गाउँपालिकाबाट आउँछ भने बाँकी सत्यवती र तानसेनबाट सङ्कलन गरिन्छ । दूध खरिद गरेबापत उनले किसानलाई दैनिक ७५ देखि ८० हजार रुपैयाँ भुक्तानी दिन्छन् । यस हिसाबले उनले मासिक करिब २१ लाख रुपैयाँ गाउँका किसानको हातमा पुर्‍याउँछन् ।

रविले सङ्कलन गरेको दूध र दुग्धजन्य उत्पादन स्थानीय बजारमा मात्र सीमित छैन । यहाँका उत्पादन पाल्पा, बागलुङ, स्याङ्जा, बुटवलदेखि काठमाडौँसम्म पुग्छन् । गत वर्ष मात्र उनले बुटवलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दूध बिक्री गरेका थिए । रिडी धार्मिक क्षेत्र र घाटसमेत भएकाले यहाँ दहीको खपत उच्च छ । गर्मीयाममा दैनिक २५० लिटरसम्म दही बिक्री हुने गरेको उनले बताए । साथै, उनले वार्षिक चार हजार लिटर घ्यू उत्पादन गरी प्रतिलिटर १ हजार ३०० रुपैयाँमा बेच्दै आएका छन् ।

पछिल्लो दुई वर्षयता उनले छुर्पी उत्पादनलाई पनि प्राथमिकता दिएका छन् । यो वर्ष १५ क्विन्टल छुर्पी उत्पादन गर्ने लक्ष्य राखेका रविले थोकमा प्रतिकिलो १ हजार र फुटकरमा १ हजार ३०० रुपैयाँमा बिक्री गर्छन् । चाडपर्वमा कुराउनीको माग पनि उच्च हुने गरेको छ ।

सन् २००९ देखि २०१४ सम्म कोरियामा बस्दा रविले समुद्रमा माछा मार्ने काम गरे । त्यतिबेला मासिक ३ लाख रुपैयाँ कमाइ हुन्थ्यो । कोरियामा छँदा मिर्मिको जलविद्युत् ड्याममा माछा पाल्ने योजना बुनेका उनले नेपाल आएपछि भने बाटो मोडे । रिडीमा धार्मिक पर्यटकको आउजाउ बाक्लो हुने देखेर उनले डेरी खोलेका हुन् ।

कोरिया जानुअघि काठमाडौँमा ९ वर्ष होटल चलाएको अनुभव संगालेका रवि अहिलेको पेसाबाट पूर्ण सन्तुष्ट छन् । ‘विदेशमा जति नै पैसा कमाए पनि आफ्नो स्वाभिमान हुँदैन,’ रवि भन्छन्, ‘स्वदेशमा थोरै कमाए पनि आत्मसम्मान र सन्तुष्टि मिल्छ ।’ कोरियामा कमाएको पुँजी सही ठाउँमा सदुपयोग भएकोमा उनी खुसी छन् । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय