काठमाडौँ । नेपालीले विदेशबाट पठाउने रकम, विप्रेषणमा बृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ विप्रेषण्का रुपमा नेपाल भित्रिएको हो । यो अघिल्लो आर्थिक बर्षको सोहि महिनाको भन्दा ६५ अर्व धेरै हो । गत आर्थिक वर्षको मंसिर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ विप्रेषणका रुपमा भित्रिएको थियो । यसैगरी गत कात्तिकमा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ विप्रेषण्का रुपमा भित्रिएको थियो । मासिक रुपमा विदेशबाट भित्रिने रकमको तुलना गर्दा भने गत असोजमा २ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो जुन हालसम्मकै धेरै हो ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रकम नेपाल भित्रिएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ खर्ब ३० अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो । तसर्थ चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिने विप्रेषण केवल ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
यसैबीच चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९० हजार ३ सय ८४ र १ लाख ३५ हजार ४ सय २५ थियो । यसले पहिलो पटक वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेहरुको संख्या अघिल्लो बर्षको सोहि अवधिमा भन्दा घटेको तर पुनः श्रम स्वीकृति लिनेहरुको संख्यामा भनें वृद्धि भएको देखिन्छ ।
