काठमाडौं — आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई जना नेपाली विद्यार्थीलाई गैरआवासीय नेपाली संघ र एसियन इन्टरनेशनल युनिभर्सिटी बीचको सहकार्यमा निःशुल्क एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ।
गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पिएनो सम्मेलनको अवसरमा एनआरएनए र एआईयूबीच एमबीबीएस छात्रवृत्ति प्रदान गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही समझदारीअनुसार सहकार्यलाई कार्यान्वयन गर्दै योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति औपचारिक रूपमा घोषणा गरिएको हो।
छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगद्वारा लिइएको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूमध्ये एनआरएनए र एआईयूले संयुक्त रूपमा सञ्चालन गरेको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने दुई जनालाई पूर्ण छात्रवृत्तिमा छनोट गरिएको हो।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका–६ निवासी २१ वर्षीय सचिन कुमार प्रजापति र बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका–१८ निवासी २१ वर्षीया भावना रेग्मी रहेका छन्।
छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बीमा शुल्क, नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्राको हवाई टिकट तथा अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने एकपटकको हवाई भाडा समेत एसियन इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्नेछ। तर अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च विद्यार्थी स्वयंले व्यहोर्नुपर्ने व्यवस्था छ।
साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले उज्बेकिस्तानस्थित एसियन इन्टरनेशनल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले तोकेको वा उपलब्ध गराएको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्त समेत राखिएको छ।
यस पहललाई सफल बनाउन एनआरएनए आइसीसी सदस्य डा. किसान भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको एनआरएनएले जनाएको छ । उनको निरन्तर पहल, प्रतिबद्धता र नेतृत्वबिना यो अवसर सम्भव नहुने संघद्दारा जारी विज्ञपतीमा जनाइएको छ । साथै, विश्वविद्यालयका रेक्टर एस.एस. देखकानोय सहित एसियन इन्टरनेशनल युनिभर्सिटीप्रति पनि एनआरएनएले धन्यवाद व्यक्त गरेको छ।
“नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै एनआरएनएले शिक्षा, स्वास्थ्य, सीप विकास र सामाजिक उत्थानका क्षेत्रमा विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा उपयोग गर्ने लक्ष्यसहित निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
