काठमाडौं । न्यायोचित रुपान्तरणको विषयमा अनलाइन माध्यम मार्फत अभियान सञ्चालनका लागि सामग्री निर्माण सम्वन्धी सीप विकास कार्यशाला सम्पन्न भएको छ । अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ, नेपाल आवद्ध समिति (आईटीयूसी न्याक) द्धारा आयोजित सो कार्यशाला तीन दिनसम्म सञ्चालन भएको थियो ।
कार्यशालामा नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट), नेपाल ट्रेड यूनियन कंग्रेस (एनटीयूसी) र अखिल नेपाल ट्रेड यूनियन महासंघ (अण्टुफ) का पदाधिकारीहरु तथा महासंघहरुका सदस्य यूनियनहरुका सदस्यहरु सहभागि थिए ।
कार्यशालाका सहभागिहरुलाई न्यायोचित रुपान्तरणका लागि अनलाइन माध्यम मार्फत अभियान सञ्चालनको महत्व, अभियान सञ्चालनका लागि आवश्यक सामग्रीहरुको विकास लगायतका विषयमा सैद्धान्तिक ज्ञान प्रदान गर्नुका साथै सीप सिकाईएको थियो । सहभागिहरुलाई डिजिटल सामग्रीहरु निर्माणका लागि उपलव्ध माध्यमहरु, तिनको प्रयोग लगायतका विषयमा जानकारी दिइएको आइटीयूसी न्याकका परियोजना संयोजक गोपाल घिमिरेले जानकारी दिए । सहभागिहरुले कार्यशालाका क्रममा सिकेको सीप अनुरुप छोटो भिडियो सामग्रीहरुको निर्माण, पोष्टरहरु डिजाइन गरेर प्रस्तुत गरेका थिए ।

कार्यशालामा जिफन्टका उपाध्यक्ष विदुर कार्की, नेपाल ट्रेड यूनियन कंग्रेसका उपाध्यक्ष गणेश केसी, अखिल नेपाल ट्रेड यूनियन महासंघका उपाध्यक्ष सोम बहादुर तामाङ, ड्रिम मल्टिमिडियाका सहसंस्थापक सुनिल न्यौपाने, सञ्चारकर्मी तथा उपप्राध्यापक अमरध्वज लामा, मल्टिमिडिया विज्ञ विशाल कार्की लगायतले सहजिकरण गरेका थिए ।
कार्यशालाको समापन गर्दै आइटीयूसी न्याकका संयोजक समेत रहेका नेपाल ट्रेड यूनियन कंग्रेसका अध्यक्ष योगेन्द्र बहादुर कुँवरले न्यायोचित रुपान्तरणको मुद्धा ट्रेड यूनियनहरुको महत्वपूर्ण मुद्धा भएका कारण सो विषयलाई डिजिटल माध्यम मार्फत बलियोसँग उठाउन प्रयोगात्मक कार्यशाला आयोजना गरिएको बताए । उनले यस्तो सीपले न्यायोचित रुपान्तरणको मुद्धालाई सामाजिक सञ्जालको माध्यम मार्फत धेरै व्यक्तिसम्म पुर्याउन र ट्रेड यूनियनहरुको आवाजालाई बलियो बनाउन सघाउने धारणा राखे ।
आइटीयूसी न्यायकका परियोजना संयोजक गोपाल घिमिरेका अनुसार सो कार्यशालामा तीनवटा महासंघका गरी ४५ जनाको सहभागिता रहेको थियो ।
