काठमाडौ । आकर्षक तलबमा युरोप लगायतका विभन्न मुलुकहरुमा पठाइदिने प्रलोभन देखाईरकम ठगेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१ का ४४ वर्षीय दिल बहादुर सारू मगर, ललितपुर महानगरपालिका–५ बस्ने चितवन कालिका नगरपालिका–८ घर भएका ४० वर्षीय श्याम चन्द्र अधिकारी तथा ललितपुरकै महालक्ष्मी नगरपालिका–५ बस्ने सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ घर भएका ३५ वर्षीय चन्द्र भुषण प्रसाद हुन् । उनीहरुलाई प्रहरीले मंगलवार र बुधवार पक्राउ गरेको हो ।
यसरी पक्राउ परेका मध्ये दिल बहादुर सारु मगरले सर्विया पठाइदिने भनेर ६ जना व्यक्तिबाट ४ लाख ५० हजार रूपैयाँ, श्याम चन्द्रले अल्बानिया, अजरबैजान, मेसोडोनिया, सर्विया लगायतका विभिन्न देशहरू पठाइदिन्छु भन्दै ६ जनाबाट १ करोड २५ लाख ७८ हजार ८ सय रूपैयाँ तथा चन्द्र भुषणले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना व्यक्तिबाट ३ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले श्याम चन्द्रलाई ललितपुर महानगरपालिका ५ बाट मंगलबार तथा दिल बहादुरलाई काठमाडौं महानगरपालिका २६ बाट र चन्द्र भुषणलाई ललितपुर महानगरपालिका–५ बाट बुधबार पक्राउ गरेको हो।
पक्राउ मध्ये दिल बहादुर र चन्द्र भुषणलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ भने श्याम चन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
